s

वैदेशिक रोजगारीमा ठगि : चार महिनामा हजार उजुरी

प्रकटकुमार शिशिर
 
वैदेशिक रोजगार विभागमा दिनहुँ कामदार ठगिएको गुनासो र उजुरी आउने गर्छ। विभागकै तथ्यांकले पनि महिनामा करोडौं ठगी भएको देखाउँछ। तर नियमन निकाय विभागले चार महिनामा एउटै म्यानपावर कम्पनीको अनुगमन गरेको छैन। 
 
विभागले प्रभावकारी अनुगमन नगर्दा वैदेशिक रोजगारीमा ठगिने रकम र संख्या बढ्दै गएको छ। विभागले सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो चार महिना (साउन–कात्तिक) मा एउटा पनि म्यानपावर कम्पनीको अनुगमन भएको छैन। सो अवधिमा कुनै पनि म्यानपावर कम्पनीलाई स्पष्टीकरण समेत सोधिएको छैन। 
 
चार महिनामा विभागमा नौ सय ९८ ठगीका उजुरी परेका छन्। कात्तिकमा मात्र एक सय ९८ जनाको उजुरी परेको छ। चार महिनामा ६ सय १५ जनाबाट संस्थागत गठीको र तीन सय ८३ जनाबाट व्यक्तिगत ठगीका उजुरी विभागमा परेको हो। ती उजुरीमा २२ करोड २७ लाख ४८ हजार पाँच सय ५१ रुपैयाँ ठगी भएको दाबी गरिएको छ। सोही अवधिमा चार करोड ७९ लाख ६५ हजार रुपैयाँ विभागले भराएको छ। त्यस्तै एक सय ८४ जनाको जाहेरी फरफारक गरिएको विभागले उल्लेख गरेको छ। ४६ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरिएको छ। त्यसमा ६ करोड १६ लाख ७५ हजार रुपैयाँ बिगो दाबी गरिएको छ। विभागको निर्णयबाट एकजनालाई लाख रुपैयाँ जरिवाना गरिएको छ। 
 
विभागले चार महिनामा ठूलो संख्या र रकमको उजुरी लिए पनि एउटा म्यानपावरलाई अनुगमन गरेको छैन। विभागमा आएको उजुरीलाई मात्र कारबाही गर्ने तर अनुगमन नगर्ने परिपाटीले कामदार ठगिने क्रम नरोकिएको बताइन्छ। विभागअन्तर्गतको काठमाडौं कार्यालयका प्रमुख मधुविलास पण्डितले तथ्यांकमा नभए पनि विभागले अनुगमन गरेको बताए। 'हामीले म्यानपावर कम्पनीको अनुगमन निरन्तर गरेका छौं,' उनले भने। विभागले अद्यावधिक गर्दै आएको प्रगति विवरणमा सबै तथ्यांक परिवर्तन भए पनि अनुगमन र स्पष्टीकरणमा शून्य राख्दै आएको छ। विभागले यो चार महिनामा ७० वटा अभिमुखीकरण तालिम दिने संस्थाको अनुगमन गरेको छ। सो अवधिमा १० वटा संस्थालाई विभागले निलम्बन समेत गरेको छ। 
 
विभागले अनुगमन नगर्दा मलेसियालगायत खाडी मुलुकमा जाने कामदार तोकिएभन्दा बढी रकम तिर्न बाध्य छन्। ८० हजार रुपैयाँ लाग्ने मलेसिया पठाउँदा म्यानपावर कम्पनीले डेढ लाखदेखि दुई लाख रुपैयाँसम्म लिन्छन्। गोर्खा एसोसियटबाट गत महिना मलेसिया गएर फर्केका राजीव सापकोटा भन्छन्, 'डेढ लाख तिरेर गएको हो तर म्यानपावर कम्पनीले ८० हजारको मात्र रसिद दिन्छ, बाँकी ठगिएको रकमको विषयमा उजुरी गर्ने आधार हुँदैन। 'विभागले अनुगमन गर्ने हो भने म्यानपावरको मनपरी रोकिन सक्छ,' उनले भने, 'मलेसिया पुगेपछि 'अनफिट' भनेर फर्काइएका व्यक्तिलाई यता आएपछि क्षतिपूर्ति ४० हजार रुपैयाँमात्रै दिन्छन्। कामदार सबै ठाउँमा ठगिन्छ।'
 
Published on: 30 November 2014 | Nagarik

Back to list

;