s

वैदेशिक रोजगार व्यवसाय आजबाट पूर्ण सञ्चालनमा

भूकम्पपछि ठप्प वैदेशिक रोजगार व्यवसाय आइतबारबाट पूर्णरुपमा सञ्चालनमा आउने भएको छ। दुई साताअघिको महाभूकम्पले अन्य क्षेत्रसँगै वैदेशिक रोजगार व्यवसाय पनि ठप्प भएको थियो।

भूकम्पपछि ७० हजार कामदार विदेश नगई हवाई टिकट रद्द गरेर घर फर्केका थिए। शनिवारदेखि नै कामदार विदेश उड्न थालेको वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ। संघका अध्यक्ष हंशराज वाग्लेले भूकम्पबाट वैदेशिक रोजगार क्षेत्रमा पनि ठूलो क्षति पुगेको र व्यवसाय ठप्प रहेको बताए। 

‘अग्रिम टिकट लिएका कामदार विदेश उड्न थालेका छन्,' वाग्लेले शनिबार नागरिकसँग भने, ‘आइतबारबाट सबै म्यानपावर कम्पनी खुला हुनेछन् र व्यवसाय तथा कारोबार सामान्य अवस्थामा फर्किने छ।' 

भूकम्प जानुअघि नै श्रम स्वीकृति, भिसा र टिकट निश्चित भएका ७० हजार कामदार एक सातासम्म विदेश नउडेको र नयाँ बनाएर जाने कामदार पनि त्यसबीचमा नगएपछि व्यवसाय ठप्प भएको उनको भनाइ छ। त्यसबाहेक दैनिक १ हजार २ सय कामदार जानुपर्नेमा दुई सातासम्म कुनै पनि कारोबार नभएर कम्पनी बन्द भएपछि नउडेको उनले जानकारी दिए। ‘यसबाट लगभग एक लाख कामदार प्रत्यक्ष प्रभावित हुन पुगे,' उनले भने । 

म्यानपावर कम्पनी रहेका घरहरुमा पनि क्षति पुगेकाले केही कम्पनी खुल्न समय लाग्ने संघले जनाएको छ। वाग्लेका अनुसार आठवटा म्यानपावर कम्पनी रहेका घर पूर्णरुपमा क्षति भएको र ६ व्यवसायी घाइते भएका थिए। आइतबारबाट  म्यानपावर कम्पनी खुल्ने हुनाले यस क्षेत्रको क्षतिको विवरण क्रमशः आउने छ। ‘गोंगबु क्षेत्रमा विदेश जान लागेका र विदेशबाट आएका कामदारको मृत्यु भएको पनि सुनिएको छ, यसबारे पुष्टि गर्छौं,' उनले भने। 

नयाँ कामदार विदेश नगए पनि दुई साताबीचमा विदेशबाट बिदामा आएर पुनः कामदार वैदेशिक रोजगारीमा गइरहेको वैदेशिक रोजगार विभागले जनाएको छ। लामो समय बिदा बसेर नियमित काममा फर्कनुपर्ने वाध्यताका कारण कामदारहरु फर्केका हुन्। 


संघद्वारा १ करोड १० लाख संकलन

वैदेशिक रोजगार व्यवसायी संघले भूकम्पपीडितका लागि १ करोड १० लाख रुपैयाँ संकलन गरेको छ। संघको पहलमा प्रगतिशील वैदेशिक रोजगार मञ्च, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार फोरमलगायतमा आबद्ध व्यवसायीले सहयोग गरिरहेको संघले जनाएको छ। 

संघका अध्यक्ष वाग्लेले अहिले १ सय १० व्यवसायीबाट १ करोड १० लाख जम्मा भएको जानकारी दिए। ‘साथीहरु स्वइच्छाले ५ हजारदेखि ५ लाखसम्म सहयोग गरिरहेका छन्,' उनले भने, ‘दुई करोडजति संकलन गरेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गर्छांै। राहत सहयोगका लागि हामीले कामदार पठाउने विदेशमा रहेका कम्पनीलाई पनि आग्रह गर्दैछौ।' 

संस्थागत रुपमा म्यानपावर कम्पनीले सहयोग गरेर तथा व्यक्तिगत रुपमा व्यवसायीहरुले राहत बाँडिरहेका उनले बताए। प्रभावित १० जिल्लामा व्यवसायी पुगेर राहत वितरण गरेको उनले बताए।

Published on: 9 May 2015 | Nagarik

 

Back to list

;