s

वैदेशिक रोजगार लक्षित बचतपत्र जारी

वैदेशिक रोजगारीमा रहेका नेपाली लक्षित बचतपत्र राष्ट्र बैंकबाट जारी भएको छ । यही असार ६ गतेदेखि उक्त बचतपत्र बिक्री खुला भएको हो । उक्त बचतपत्रमार्फत बैंकले सरकारका लागि रकम संकलन गर्ने हो ।

भूकम्पपछिको पुनर्निर्माणका लागि ठूलो रकम आवश्यक भएकाले सरकारले यस वर्ष आन्तरिक ऋण उठाएर आएको रकम पनि आगामी वर्षदेखि खर्च गर्ने योजना बनाएको छ । यो बचतपत्र पनि आन्तरिक ऋण उठाउने एक साधन हो । यसअघि ऋणपत्र जारी गरिएका थिए ।

वैदेशिक रोजगार बचतपत्रमा ब्याज भने ९ प्रतिशत पाइने केन्द्रीय बैंकको सूचनामा उल्लेख छ । बचतपत्र बिक्रीका लागि रेमिट्यान्स कम्पनी र यससम्बन्धी काम गर्ने बैंकलाई एजेन्ट तोकिएको छ ।

बचतपत्र दिने एजेन्टका रूपमा इन्टरनेसनल मनी एक्सप्रेस, प्रभु मनी ट्रान्सफर, प्रभु बैंक, सिटी एक्सप्रेस, सनराइज बैंक, सेन्चुरी बैंक र सेवा एक्सप्रेसलाई नियुक्त गरिएको छ । यी कम्पनीका विदेशस्थित शाखा वा नेपालमा पनि आवेदन प्राप्त हुने राष्ट्र बैंकले जनाएको छ । विदेशमा काम गरिरहेका र स्वदेश फर्केको ४ महिना ननाघेकाहरूले यो बचतपत्र खरिद गर्न सक्नेछन् । ५ वर्षे अवधिको उक्त बचतपत्रमा ६/६ महिनामा ब्याज पाउने व्यवस्था गरिएको छ । केन्द्रीय बैंकका अनुसार बचतपत्रलाई धितो राखेर ऋणसमेत लिन सकिनेछ । यो बचतपत्र कम्तीमा ५ हजार रुपैयाँ बराबरको खरिद गर्नुपर्नेछ । यसको अवधि ५ वर्ष हुनेछ ।

भारतलगायत अन्य मुलुकमा रोजगारीमा रहेकाहरूले उक्त बचतपत्र खरिद गर्न सक्नेछन् । यसका लागि पासपोर्ट, भिसा, कम्पनीले दिएको परिचयपत्र, दुई प्रति फोटो र विदेशी मुद्रा नेपाल पठाइरहेको प्रमाण पेस गर्नुपर्ने राष्ट्र बैंकको वेबसाइटमा उल्लेख छ ।


Published on: 23 June 2015 | Kantipur
 

Back to list

;