s

बैदेशिक रोजगारबाट फर्केका ६० जना अध्यागमनको हिरासतमा

शम्भु कट्टेल

वैदेशिक रोजगारीका लागि चार वर्षअघि कतार गएका जनकपुरका सुरज महतलाई स्वदेश फर्किने क्रममा गत शुक्रबार अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले पक्राउ गर्‍यो। अध्यागमनका कर्मचारीले फोटो परिवर्तन गरी अर्काको पासपोर्टमा गएको भन्दै उनलाई पक्राउ गरेका हुन्।

चार वर्षअघि अध्यागमनका कर्मचारीले नै महतको पासपोर्ट, श्रमस्वीकृतिलगायतका कागजपत्र सक्‍कली भएको भन्दै कतार जाने अनुमति दिएका थिए। तर दसैं मान्न स्वदेश फर्कने क्रममा अध्यागमनका कर्मचारीले पासपोर्ट नक्‍कली भन्दै उनलाई पक्राउ गरे। विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीका अनुसार महतलाई अर्काको पासपोर्टमा फोटो टाँसी किर्ते गरेको आरोपमा पक्राउ गरिएको हो।

महतले भने आफूले तस्बिर परिवर्तन गरेको विषयमा अनभिज्ञता प्रकट गरे। ‘म्यानपावर कम्पनीलाई मेरै पार्सपोर्ट दिएको हुँ’, उनले भने, ‘म कसरी अर्काको पासपोर्टमा उडें थाहा छैन। मलाई म्यानपावर कम्पनीले फसाएको हुनसक्छ। मैले केही गरेको छैन।’ आफू कुन म्यानपावर कम्पनीबाट गएको भन्ने पनि महत बताउन सक्दैनन्। उनलाई एउटै चिन्ता छ, ‘परिवारसँग बसेर दसैं मनाउन पाइन्छ कि पाइँदैन?’ उनी अहिले अध्यागमन हिरासतमा छन्।

कामदारलाई दोषी भन्दै धमाधम पक्राउ गरे पनि किर्ते गरी उनीहरूलाई पठाउने म्यानपावर कम्पनीबारे भने अध्यागमन मौन छ। कुन म्यानपावर कम्पनीले किर्ते गरी कति कामदार पठाए भन्नेबारे अध्यामगनले अनुसन्धान गरेको छैन। अध्यागमन अधिकृत रामेश्वर खत्रीले महतका आफन्तलाई सतही जबाफ दिँदै भने, ‘उनीहरूमाथि अनुसन्धान भइरहेको छ, अहिले छाड्न मिल्दैन, दसैंपछि आउनू।’

महतजस्तै चार वर्षअघि साउदी अरेबिया गएका चितवनका यादवकुमार पाण्डेलाई जन्ममिति बढाएको अभियोगमा अध्यागमनले पक्राउ गरेको छ। बिदामा डेढ वर्षअघि नेपाल आउँदा र लगत्तै फर्कंदा पाण्डेलाई अध्यागमनका कर्मचारीले पठाए। तर त्यही पासपोर्ट लिएर दसैं मनाउन केही दिनअघि स्वदेश फर्कंदा भने किर्ते गरी जन्ममिति बनाएको आरोपमा उनी पक्राउ परे।

पाण्डेले म्यानपावरको सहयोगमा हस्तलिखत पासपोर्टमा भएको जन्ममिति खुर्केर नयाँ जन्ममिति बनाएका थिए। चार वर्षअघि वैदेशिक रोजगारी व्यवसायीले किर्ते गरिएका कामदार पठाउन अध्यागमनका कर्मचारीलाई प्रतिव्यक्ति १० हजार घूस खुवाएको स्रोतले बताएको छ।

यही भएर पनि वैदेशिक रोजगार व्यवयासीहरू पक्राउ पर्ने सम्भावना न्यून रहेको हो। वैदेशिक रोजगारी पूरा गरी दसैं मान्न फर्किएका ६० जना राजधानीको कालिकास्थानस्थित अध्यागमनको हिरासतमा छन्। यो संख्या दैनिक बढ्दो छ। अध्यामगनको हिरासत कोठा साँघुरो छ। अध्यागमन स्रोतले भन्यो, ‘यहाँ अटेनन् भने उनीहरूलाई कारागार पठाइनेछ।’ सबैमाथि किर्ते गरी वैदेशिक रोजगारीमा गएको आरोप छ। ‘अध्यागमनका कर्मचारी, किर्ते गर्ने म्यानपावर व्यवसायी र त्यसमा संलग्‍न भएका कामदार, तीनै पक्षमाथि कारबाही गर्नुपर्छ’, अध्यागमनका एक उच्‍च अधिकारीले भने, ‘दसैं मान्न आएका कामदारलाई थुन्न मिल्दैन। उनीहरूलाई सामान्य तारेखमा छाड्नुपर्छ। उनीहरूलाई पठाउने व्यवसायी र अध्यमगनका कर्मचारीलाई समेत थुन्नुपर्छ।’

अध्यागमन विभाग नक्‍कली कागजात मिलाई वैदेशिक रोजगारीमा पठाउने कर्मचारी र म्यानपावर कम्पनीबारे भने मौन छ। विभागले यसबारे कुनै अनुसन्धान नगरेको स्रोतले बतायो। विभागका निर्देशक शम्भुप्रसाद घिमिरेले फोटो परिवर्तन र उमेर घटबढ गरेर किर्ते काम गरेकालाई पक्राउ गरिएको बताए। उनले भने, ‘उनीहरूबारे अनुसन्धान भइरहेको छ, मुद्दाको प्रकृति हेरी रिहा गर्छौं।’

Published on: 7 October 2013 | Annapurna Post

Back to list

;