s

वैदेशिक रोजगारीमा रहेका एक लाख २७ हजार नेपाली तत्काल उद्धार गर्नुपर्ने अवस्थामा

जयसिंह महरा

काठमाडौँ — वैदेशिक रोजगारीमा रहेका करिब एक लाख २७ हजार नेपाली नागरिक तत्काल उद्धार गर्नुपर्ने अवस्थामा रहेको सरकारले बताएको छ ।

बुधबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले विभिन्न मुलुकमा रहेका करिब एक लाख २७ हजार नेपाली तत्काल उद्धार गर्नुपर्ने अवस्थामा रहेको र सरकारले आवश्यक तयारी थालेको बताएका हुन् । मलेसिया, कतार, साउदी अरब, बहरान, ओमान, कुवेतलगायतमा अप्ठेरो अवस्थामा रहेका नेपाली नागरिकलाई नेपाल ल्याउनका लागि पूर्वतयारी भइरहेको पनि निर्देशक श्रेष्ठले जानकारी दिए ।

लकडाउन खुलेलगत्तै कुन देशबाट पहिले उद्धार गर्ने भन्ने विषयमा आन्तरिक गृहकार्य भइरहेको पनि निर्देशक श्रेष्ठले जानकारी दिए । कतिपय मुलुकले प्लेन चार्टर गरेर पठाइदिन्छौं भनेको जानकारी दिँदै प्राथमिकताका आधारमा विदेशमा अलपत्र नेपाली नागरिकको उद्धार गरिने उनले बताए ।

त्यस्तै लकडाउन खुल्ने तथा अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आउने हो भने तत्काल करिब ४ लाख ७ हजारको हाराहारीमा नेपाली स्वदेश फर्कने तयारीमा रहेको आकलन गरिएको पनि उनले बताए । 'कोभिड भाइरसको कारणले विभिन्न मुलुकमा रोजगारी गुमाएर फर्किने नेपालीको संख्या चार लाख ७ हजारको हाराहारीमा रहेको आँकलन गरेका छौं,' उनले भने ।

परराष्ट्र मन्त्रालय र कूटनीतिक नियोगहरुको सहयोगमा गरिएको आकलनमा भिजिट भिसामा गएकाहरू, रोजगारी गुमाएर बसेका, विभिन्न देशमा गैरकानुनी कामदारको हैसियतमा बसेका र आममाफी पाएका नेपाली नागरिकलाई तत्काल स्वदेश फर्काउनुपर्ने अवस्था देखिएको हो । 

हवाई टिकट काटिसकेका र भिसा सकिएका कारण खाडी मुलुकमा अलपत्रलाई पनि स्वदेश फर्काउनुपर्ने अवस्था रहेको निर्देशक श्रेष्ठले जानकारी दिए । स्वदेश फर्कने श्रमिकहरूको व्यवस्थापन कसरी गर्ने भन्ने ठूलो चुनौती सरकारसामु रहेको पनि उनले बताए । 

भारत बाहेकका मुलुकमा करिब १५ लाख नेपाली वैदेशिक रोजगारीमा रहेको पनि उनले जानकारी दिए ।

Published on: 6 May 2020 | Kantipur

Link

Back to list

;