s

वैदेशिक रोजगारीमा गएका ३० प्रतिशतसम्मले रोजगारी गुमाउन सक्ने

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वैदेशिक रोजगारीबाट फर्कने श्रमिकहरूको व्यवस्थापनका लागि सरकार गम्भीर रहेको बताएका छन् ।

संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबारको बैठकमा मन्त्री ज्ञवालीले कोरोनाका कारण देशभित्रै उत्पन्न हुने बेरोजगारी र बाहिरबाट फर्कनेहरूको व्यवस्थापनका लागि सरकारले योजनाबद्ध रूपमा काम गर्ने तयारी गरिरहेको बताएका हुन् ।

वैदेशिक रोजगारीमा गएकामध्ये ३० प्रतिशतसम्मले रोजगारी गुमाउन सक्ने भन्दै त्यसबाट उत्पन्न हुने चुनौती व्यवस्थापन गर्न सरकारले योजना बनाइरहेको मन्त्री ज्ञवालीले बताए । उनले भने, ‘वैदेशिक रोजगारीमा गएकाे ठूलो संख्या स्वदेश फर्किंदा उत्पन्न हुने बेरोजगारीको व्यवस्थापन आउँदा दिनहरूमा ठूलो चुनौतीका रूपमा रहने देखिएको छ ।’

ज्ञवालीले खाडी देशहरूमा बढ्दै गएको कोरोना संक्रमणबाट नेपालीलाई परेको समस्या समाधान गर्न दूतावासमा निरन्तर सम्पर्क गरी आर्थिक समस्यामा पर्नेहरूका लागि राहतको व्यवस्था गर्ने काम पनि भइरहेको बताए । यस्तै, सबै मुलुकमा प्रधानमन्त्रीस्तरबाट र मन्त्रालयस्तरबाट समेत छलफल र उद्धारका लागि पहल भइराखेको उनको भनाइ छ । 

विभिन्न देशले कामदार कटौती गरिरहेको भए पनि अधिकांश देशले भिसाको अवधि तीन महिना थपेकाले भने कुनै समस्या नहुने भन्दै मन्त्री ज्ञवालीले सरकारले पनि  समस्या आउन नदिन पहल गर्ने बताए ।

Published on: 5 May 2020 | Nayapatrika

Link

Back to list

;