s

वैदेशिक रोजगारीबाट फर्कनेका लागि बजेटमा विशेष प्याकेज ल्याउन सरकारलाई निर्देशन

जयसिंह महरा

काठमाडौँ — संसद्को विकास तथा प्रविधि समितिले कोरोना भाइरसको महामारीका कारण वैदेशिक रोजगारीबाट ठूलो संख्यामा नेपाली स्वदेश फर्कने सम्भावना रहेको उल्लेख गर्दै सरकारलाई आगामी बजेटमा विशेष प्याकेज ल्याउन निर्देशन दिएको छ ।

बुधबार बसेको बैठकमा समितिकी सभापति कल्याणीकुमारी खड्काले विदेशबाट फर्कने नेपालीहरुलाई मध्यनजर गर्दै स्वदेशमै रोजगारी सिर्जना गर्नका आगामी नीति तथा कार्यक्रम र बजेटमा विशेष प्याकेज ल्याउन सरकारलाई निर्देशन दिएकी हुन् ।

त्यस्तै समितिले लकडाउनका कारण प्रभावितहरुलाई व्यवस्थित र दीर्घकालीन राहत प्याकेज ल्याउन पनि सरकारलाई निर्देशन दिएको छ । त्यस्तै सरकारलाई ठूला परियोजनाका विकास निर्माणका काम नरोक्न र कामदारहरुको स्वास्थ्य सुरक्षाको उचित व्यवस्था गर्न पनि समितिले निर्देशन दिएको छ ।

समितिले तीनै तहका सरकारबीच समन्वय गरेर मात्रै योजना छनोट गरी विकास निर्माणका परियोजनामा बजेट छुट्याउन पनि सरकारलाई निर्देशन दिएको छ ।

त्यस्तै बैठकमा सहभागी सांसदहरुले आगामी बजेटमा कृषि, साना उद्योग, र स्वास्थ्य क्षेत्रमा विशेष ध्यान दिन सरकारलाई सुझाव दिएका थिए । सांसद केदार सिग्देलले पूर्वाधार विकास परियोजनाको काम नरोक्न सरकारलाई सुझाव दिएका थिए । 

सांसद रंगमती शाहीले विकासका परियोजना छुट्याउँदा सांसदको सहभागिता गराउन सरकारलाई सुझाव दिइन् । सांसद अनिल झाले स्वास्थ्य सावधानी अपनाएर कामदारलाई काम गराउनुपर्ने बताए । सांसद जिपछिरिङ लामाले यतिबेला ठूला परियोजनामा कामदारको अभाव भएकाले सरकारले विशेष योजनाहरु ल्याउनुपर्ने बताए । त्यस्तै सांसद गणेश पहाडीले कृषि, स्वास्थ्य क्षेत्रका साथै वैदेशिक रोजगारीबाट फर्कनेलाई स्वदेशमै रोजगारी सिर्जना हुने गरी बजेटको व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन् । 

यसैबीच सरकारले बजेट (वर्षे) अधिवेशनको तयारीलाई तीव्र बनाएको छ । बुधबार बिहान सभामुख अग्नि सापकोटासँगको छलफलपछि प्रधानमन्त्री केपी शर्मा ओली संसद् भवन पुगेर बैठक कक्षको अवलोकन गरेका छन् । कोभिड–१९को संक्रमणको जोखिम रहेको र यो अवस्थामा बैठक आह्वान गर्न सम्भव छ या छैन र कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक कक्षको अवलोकन गरेका हुन् ।

Published on: 29 April 2020 | Kantipur

Link

Back to list

;