s

वैदेशिक रोजगार २५ प्रतिशत गुम्‍ने

तुलसी सुवेदी 

काठमाडौं : कोरोना भाइरस महाव्याधि (कोभिड १९) ले २५ प्रतिशत वैदेशिक रोजगारी गुम्ने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सोमबार प्रतिवेदन सार्वजनिक गरेको छ। संघले कोरोना भाइरस महामारीको कारणले रोजगारदाता कम्पनी बन्द भई श्रमिकको उद्दार गरी नेपाल फर्काउनु पर्ने श्रमिकको संख्या करिब २० देखि २५ प्रतिशत रहेको संघले जनाएको छ। भिसाको समयावधि समाप्त भएका र रोजगारी गुमाउने करिब ६ लाख नेपाली श्रमिक नेपाल फर्काउनुपर्ने जनाएको छ।

दुई वर्षे करार अवधि वा भिसाको समयावधि समाप्त भई स्वदेश फर्कने श्रमिकको संख्या करिब ६० प्रतिशत छ। कोरोनाका कारण संयुक्त अरब इमिरेट्स (यूएई) र मलेसियामा धेरै कामदारले रोजगारी गुमाएका छन्। संघको प्रतिवेदन अनुसार ती देशमा ३०/३० प्रतिशतले रोजगारी गुमाउन वाध्य भएका छन्। यूएईमा चार लाख र मलेसियामा पाँच लाख श्रमिक कार्यरत छन्। 

कतार र साउदीमा २०/२० प्रतिशतले रोजगारी गुमाउने संघले प्रतिवेदन सार्वजनिक गरेको छ। कतारमा चार लाख २५ हजार साउदीमा तीन लाख ८० हजार श्रमिक कार्यरत छन्।

संघका अनुसार कुवेतमा १५, बहराइनमा १२, ओमनमा १० प्रतिशतले रोजगारी गुमाउन वाध्य भएको प्रतिवेदनमा उल्लेख छ। कुवेतमा ८० हजार, बहराइनमा ३५ हजार र ओमनमा १७ हजार पाँच सय जना कामदार कार्यरत छन्।

वैदेशिक रोजगारीमा गएकामध्ये झण्डै ७५ प्रतिशत नेपाली अदक्ष कामदारको रूपमा छन्। कोभिड १९ ले कम्पनी, उद्योग, कल कारखाना, व्यापारिक प्रतिष्ठान, हाटेल–रेस्टुरेन्ट बन्द हुँदा यिनै कामदार सबैभन्दा बढी प्रभावित हुने प्रतिवेदनमा जनाइएको छ। त्यस्तै भिसा अवधि समाप्त भए पनि विदेशमा बसी काम गरिरहेका, गैरकानुनी रूपमा विदेश गएका वा कागजातविहीन थुप्रै नेपाली कामदारलाई नेपाल फर्काउनु पर्नेछ।

कोभिड १९ ले पर्यटन क्षेत्रमा परेको परेको असरले मौरिसस्, माल्दिभ्स, युरोपलगायत विश्वका विभिन्न देशका होटल रेस्टुरेन्ट लगायत आतिथ्य सेवामा कार्यरत नेपालीको रोजगारी गुम्ने जोखिम बढेको छ। मुख्य श्रम गन्तव्य मुलुकमा मात्रै रोजगारी गुमाउनेको संख्या लाखौंमा पुग्ने संघको प्रारम्भिक आँकलन छ।

रोजगारदाताले भिसा दिई विदेश अनुमति प्राप्त गरि गरेका एक लाख १५ हजार कामदार कोरोना महामारीको कारणल विदेश जान पाएका छैनन्। त्यस्तै पूर्व स्वीकृति प्राप्त गरेका तीन लाख २८ हजार ६ सय ८१ जना कामदारको प्रक्रिया पनि रोकिएको प्रतिवेदनमा उल्लेख छ।

कोभिड १९ ले वैदेशिक रोजगारीको जोखिम उच्च भएको भन्दै संघले म्यानपावर व्यवसायको विकल्प खोज्नुपर्नेे निचोड निकालेको छ। विदेश पठाउन इजाजत पाएका व्यवसायीलाई आन्तरिक श्रम बजारमा व्यवस्थापन गर्नेगरी इजाजत दिइनुपर्ने प्रतिवेदनमा उल्लेख छ।

आठ सय ५३ वटा म्यानपावर कम्पनी सञ्चालनमा छन्। वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न न्यूनतम नगद ५० लाख धरौटी र न्यूनतम १ करोड ५० लाख बैंक ग्यारेन्टी राख्नु पर्ने कानुनी व्यवस्था छ। उक्त व्यवस्थाअनुसार ती कम्पनीको धरौटी चार अर्ब ३१ करोड नगद वैदेशिक रोजगार विभागको नाममा जम्मा छ भने १२ अर्ब ८६ करोड रुपैयाँको बैंक ग्यारेन्टी पेस गरेका छन्। त्यस्तै व्यवसाय सञ्चालन गर्न करिब २० लाखको दरले १ अर्ब ७१ करोड लगानी भएको महासचिव सुजिकुमार श्रेष्ठले बताए। उनका अनुसार एउटा म्यानपावरको कर्मचारीको तलब भत्ताा, अफिस भाडा, बिजुली बत्ति, कार्यालय सञ्चालन खर्च, कर राजस्व र अन्य सातलाखदेखि १५ लाख मासिक खर्च हुन्छ।

वैदेशिक रोजगार विभागका अनुसार गत फागुनसम्म ४४ लाख ६५ हजार ८ सय ६५ जनाले श्रम स्वीकृति पाएर वैदेशिक रोजगारीमा गएका छन्। हाल वैदेशिक रोजगारीमा करिब २५ देखि ३० लाख नेपाली कार्यरत रहेको संघले अनुमान गरेको छ। सरकारी श्रम स्वीकृतीबाहेक अध्ययन गर्न र भ्रमणमा गएका नेपालीले समेत विदेशमा काम गर्नेको संख्या ठूलो छ। पछिल्लो एक दशकमा वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्सले कुल गार्हस्थ उत्पादनमा २५ प्रतिशत बराबर हिस्सा ओगटेको छ।

Published on: 19 May 2020 | Annapurna Post

Link

Back to list

;