s

वैदेशिक रोजगारीसम्बन्धी सम्पूर्ण विवरण अनलाइनबाटै

गोपाल साउद 

वैदेशिक रोजगारीमा जान चाहनेहरूले अनलाइनबाटै उपलब्ध रोजगारीको विषयमा जानकारी लिन सक्ने भएका छन् । विभिन्न मुलुकका लागि म्यानपावर कम्पनीले प्रमाणीकरण गराएका मागपत्रको विषयमा घर बसेरै खोज्न सकिने भएको हो ।

वैदेशिक रोजगारीलाई विश्वसनीय र व्यवस्थित बनाउन भन्दै सरकारले गत वर्षदेखि सम्बन्धित मुलुक हेर्ने कूटनीतिक नियोगबाट अनिवार्य रूपमा मागपत्र प्रमाणीकरण गराउन थालेको छ । त्यसै आधारमा वैदेशिक रोजगार विभागबाट म्यानपावर कम्पनीको नाममा जारी गरिएका पूर्वस्वीकृतिका सम्पूर्ण विवरण अनलाइनमा राखिएका छन् । म्यानपावर कम्पनीहरूले लिएका पूर्वस्वीकृति नै वैदेशिक रोजगारीमा जान चाहनेका लागि उपलब्ध कामको अवसरका रूपमा रहेका हुन्छन् । यस्ता सम्पूर्ण वैदेशिक रोजगारका अवसरको जानकारी वैदेशिक रोजगार विभागको वेबसाइटबाटै लिन सकिन्छ ।

श्रम स्वीकृति निस्कियो ? यसरी जाँच्न सकिन्छ

यसैगरी कुनै म्यानपावर कम्पनीले वैदेशिक रोजगारीका लागि भिसा लागिसकेको बताइरहेको छ भने घरमै बसेर त्यसको वास्तविकतासमेत पत्ता लगाउन सकिन्छ । त्यसका लागि विभागकै वेबसाइटबाट श्रम स्टिकर नम्बर र पासपोर्ट नम्बर राखेर खोज्नुपर्ने हुन्छ ।

व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृति अनलाइनबाटै

वैदेशिक रोजगारीमा जान चाहनेले व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृति अनलाइनबाटै लिन सक्छन् । त्यसका लागि विभागको वेबसाइटमा रहेको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआइएमएस) को लिंकबाट अगाडि बढ्नुपर्ने हुन्छ । त्यसबाहेक इन्टरनेट ब्राउजरबाट सोझै एफइआइएमएस डट डोफे डट जिओभी डट एनपीमा जानसमेत सकिन्छ । जसको तल्लो भागमा रहेको व्यक्तिगत श्रम स्वकृति तथा पुनः श्रम स्वीकृतिमध्ये एउटा छनोट गरेर पासपोर्ट नम्बर र इमेल आइडी राख्नुपर्ने हुन्छ । एफइआइएमएसबाट स्वचालित रूपमा इमेलमा युजर आइडी र पासवर्ड प्राप्त हुन्छ ।

सोही आधारमा पुनः सूचना व्यवस्थापन प्रणालीको वेबसाइटमा गएर लगइन गरी आवश्यक विवरण भरेर श्रम स्वीकृतिको प्रक्रिया अगाडि बढाउनुपर्ने हुन्छ । तर, वैदेशिक रोजगार कल्याणकारी कोषबापतको रकम जम्मा गरेको बैंक भौचर र बिमाको भौचर भरेपछि मात्रै अनलाइन फाराम अपलोड हुने वैदेशिक रोजगार ताहाचल कार्यालयका निर्देशक सुरेश जोशीले बताए । ‘आवेदन बुझाइसकेपछि तत्कालै कार्यालयमा सम्पर्क गर्नुपर्ने समय प्राप्त हुन्छ,’ उनले भने, ‘आजको आजै पनि समय मिल्न सक्छ । निर्धारित समयमा सक्कल कागजातसहित सम्बन्धि कार्यालयमा सम्पर्क गर्नुपर्ने हुन्छ । यसरी प्रक्रियाले मिल्ने अवस्थामा श्रम स्वीकृति जारी गर्छौँ ।’ राहदानी विभागको तथ्यांकलाई वैदेशिक रोजगार सूचना व्यवस्था प्रणालीमा जोडिएको छ ।

कसरी खोज्ने ?

इन्टरनेट ब्राउजरमा (ओपेरा, क्रोम, फायरफक्स आदि) अंग्रेजीमा एफओआरइआइजिएनजेओबी डट डोफे डट जिओभी डट एनपी खोल्ने । वेबसाइटमा कामको खोजीसम्बन्धी वेबपेज देखा पर्छ । जसमा सुरुमा महिला–पुरुषमध्ये एक छान्नुपर्ने हुन्छ । त्यसपछि जान चाहेको मुलुक छनोट गरिसकेपछि प्रोफेसनल (व्यावसायिक), स्किल्ड (दक्ष), अनस्किल्ड (अदक्ष), हाई स्किल्ड (उच्च दक्ष) र सेमी–स्किल्ड (अर्धदक्ष) कुन किसिमको काम हो, एउटामा क्लिक गर्नुपर्ने हुन्छ । यसमा सम्बन्धित मुलुकको सहर, रोजगारदाता र खोजीको पदसमेत राख्न सकिन्छ ।

नेपाली रुपैयाँमा तलब कतिदेखि कतिसम्मको चाहेको हो उल्लेख गरिसकेपछि वेबपेजको अन्तिममा रहेको खोजी लेखिएको ठाउँमा थिच्ने । खोजेका तथा उपलब्ध वैदेशिक रोजगारीका सम्बन्धित सबै अवसरको सूची रहेको तालिका फेला पार्छ । सूचीमा लट नम्बर, काम, रोजगारदाता, मुलुक, तलब, मागपत्रको अवधि उल्लेख गरिएको हुन्छ । सूचीमा उपलब्ध रोजगारीको विषयमा विस्तृतमा जानकारी लिन सूचीमा दिइएको विवरणको दायाँछेउतिरको आँखाको चिह्न राखिएको भ्यु डिटेल (विस्तृतमा हेर्नुहोस्) मा थिच्नुपर्ने हुन्छ ।

यति गरिसकेपछि आफूले चाहेको रोजगारीको विस्तृत खोजी परिणाम फेला पर्छ । जसमा लट नम्बर, स्वीकृत मिति, रोजगारदाता, म्यानपावर कम्पनी, कम्पनीको वेबसाइट, सञ्चालकको नाम, ठेगाना, मोबाइल नम्बर, वैदेशिक रोजगार विभागबाट म्यानपावर कम्पनीले प्राप्त गरेको लाइसेन्स नम्बर देख्न सकिन्छ । यसरी स्वीकृत कामदारको संख्या, योग्यता, करार अवधि, दैनिक तथा साप्ताहिक काम गर्नुपर्ने समय, खान तथा बस्ने सुविधा, जान लाग्ने लागत, अन्तर्वार्ताको स्थान र मितिलगायत जानकारी पनि वेबसाइटबाटै प्राप्त गर्न सकिन्छ । वैदेशिक रोजगार विभागको वेबसाइटमा गएर म्यानपावर कम्पनी तथा पूर्वस्वीकृतिको लट नम्बरअनुसार मागपत्रको आधिकारिकता जाँच्नसमेत सकिन्छ ।

बैंक भौचर र बिमा पनि अनलाइनबाटै गराउँछौँ : सुरेश जोशी, निर्देशक
वैदेशिक रोजगार विभाग

अहिले श्रम स्वीकृतिका लागि अनलाइनबाटै फाराम भर्न सकिने भए पनि बैंकको भौचर र बिमाका लागि सम्बन्धित ठाउँमा पुग्नैपर्ने बाध्यता छ । त्यस किसिमको बाध्यता हटाउने गरी अनलाइनबाटै रकम भुक्तानी गर्न सकिने गरी आवश्यक व्यवस्था गर्ने तयारी भइरहेको छ ।

Published on: 6 June 2019 | Nayapatrika

Back to list

;