s

वैदेशिक रोजगारसम्बन्धी अभिमुखीकरण प्रभावकारी बनाइँदै, अनलाइनबाट पनि लिन सकिने

वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा जानेहरूलाई दिने अभिमुखीकरण प्रभावकारी बनाउने भएको छ।

वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारमा जानेहरूले अभिमुखीकरण तालिम लिन अति आवश्यक रहेको भन्दै प्रभावकारी बनाउने गरी काम थालेको हो।

वैदेशिक रोजगारमा जानेहरूलाई राज्यले दिने सेवा, सुविधा र रोजगारीका लागि जाने देशका विषयमा जानकारी लिनका लागि विभिन्न अभिमुखीकरण तालिम दिने गरिएको छ। बोर्डले पछिल्लो समय अभिमुखीकरण दिने संस्थाहरूले प्रभावकारी रूपमा तालिम दिनुपर्ने जोड दिएको छ।

बोर्डले तालिम केन्द्रहरूको अनुगमनसमेत सुरु गरेको छ। बोर्डले विशेष गरी वैदेशिक रोजगारीमा जानेहरूले मानसिक तयारी, पासपाेर्ट सुरक्षा, बिमा, श्रम स्वीकृति, स्वास्थ्य परीक्षण, सम्झौतापत्र, वैदेशिक रोजगार बोर्डअन्तर्गतको कल्याणकारी कोष र वैदेशिक रोजगार बोर्डसँगको सहकार्यको विषयमा तालिम दिने गरेको छ।

त्यसका लागि बोर्डले नै शुल्क दिने गरेको छ। वैदेशिक रोजगारीमा जानेहरूले मानसिक तयारी, पासपोर्ट सुरक्षा, बिमा, श्रम स्वीकृति, स्वास्थ्य परीक्षण, सम्झौतापत्र, वैदेशिक रोजगार बोर्डअन्तर्गतको कल्याणकारी कोष र वैदेशिक रोजगार बोर्डसँगको सहकार्यको विषयमा तालिम प्रभावकारी बनाएर वैदेशिक रोजगारीमा देखिने समस्या कम गर्ने उद्देश्य बोर्डको छ।

बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले काठमाडौंका केही अभिमुखीकरण तालिम केन्द्रहरूले तालिममा सहभागिता नभएकालाई तालिम लिएको प्रमाणपत्र दिएको गुनासो आएको बताए।

उनले तालिम केन्द्रहरूले अभिमुखीकरण तालिम नलिनेहरूलाई अवैधानिक रूपमा प्रमाणपत्र दिएको भन्ने कुरा आएकाले यसलाई अनुगमन गरी थप व्यवस्थित बनाउन लागिएको बताए। उनले तालिममा सहभागी नभएकाहरूलाई समेत प्रमाणपत्र दिने संस्थाहरूलाई अनुगमन गरी कारबाही गरिने जानकारी दिए।

बोर्डले विगतमा बनाएका मेट्रियलहरू बिक्रीयोग्य नभएको भन्दै कोष परिवर्तन गर्न लागेको पनि उनले बताए। उनले नेपालमा लिएर गएको तालिमभन्दा फरक तालिम विदेशमा हुने भएकाले नयाँ कोष मन्त्रालयमा बनेको बताए।

विभागका अनुसार वैदेशिक रोजगारीमा जानेहरूले लिने अभिमुखिकरण तालिमलाई अनलाइन र भौतिक रूपमा उपस्थित दुवै माध्यमबाट बनाउने गरी कार्यविधि परिवर्तन गर्न लागिएको छ।

वैदेशिक रोजगारमा जानेलाई बिमा गरेर जाने विषयमा समेत थाहा नहुने अवस्था छ। महिला श्रमिकका लागि अभिमुखीकरण तालिमका लागि सरकारले सात सय रुपैयाँ दिन्छ भन्ने कुरासमेत थाहा नभएको अवस्था छ।

बोर्डले यी र यस्ता विभिन्न विषयमा प्रभावकारी तालिम बनाउने कार्यविधि नै परिवर्तन गरेर जान लागेको छ। वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले मेनपावरमार्फत वैदेशिक रोजगारसम्बन्धी अभिमुखीकरण तालिमका लागि सात सय रुपैयाँ तिर्ने गरेका छन्।

Published on: 21 August 2023 | Naya Patrika

Link

Back to list

;