s

वैदेशिक रोजगारमा ठगी रोक्न वैशाखदेखि नयाँ व्यवस्था

बलराम बानियाँ

श्रम मन्त्रालयले वैदेशिक रोजगारीमा जाने क्रममा म्यानपावर एजेन्सीले नेपाली कामदारलाई झुक्याएर गर्ने ठगीलाई नियन्त्रण गर्न वैसाखदेखि नयाँ व्यवस्था लागू गर्ने भएको छ । 

वैदेशिक रोजगार विभागले म्यानपावर एजेन्सीको ठगी नियन्त्रण गर्न नयाँ वर्षदेखि संस्थागत र व्यक्तिगत स्वीकृतिमा विदेश जाने कामदारको पासपोर्टमा आधारभूत सबै विवरण उल्लेख भएको छुट्टाछुट्टै रङको स्टिकर टाँस्ने व्यवस्था लागू गर्ने भएको छ ।

विदेशमा अलपत्र परेपछि या एउटा काम गर्ने भनेर गएकामा अर्को काम गर्न बाध्य भएपछि मात्र सोझा नेपाली कामदारले आफू ठगिएको या झुक्याएर व्यक्तिगत स्वीकृतिमा आफूलाई पठाइएको थाहा पाउनुपर्ने प्रवृत्तिको अन्त्य गर्न श्रम मन्त्रालयले कामदारको पासपोर्टमा छुट्टाछुट्टै रङको स्टिकर टाँस्ने व्यवस्था लागू गर्न लागेको हो । 

नयाँ व्यवस्था लागू भएपछि स्टिकरको रङबाटै व्यक्तिगत र संस्थागत कुन स्वीकृत हो भन्ने सजिलै थाहा हुने भएकाले म्यानपावर एजेन्सीले कामदारलाई झुक्याएर व्यक्तिगत स्वीकृतिमा विदेश पठाउने व्यवस्थाको अन्त्य हुने विश्वास वैदेशिक रोजगार विभागका अधिकारीले व्यक्त गरे । आफूले पठाएका कामदार अलपत्र परेमा कुनै दायित्व बेहोर्नुनपरोस् भनेर म्यानपावर एजेन्सीहरूले कामदारलाई झुक्याएर व्यक्तिगत स्वीकृतिमा विदेश पठाउने प्रवृत्ति पछिल्लो समयमा बढ्दै गएको छ ।

म्यानपावर एजेन्सीले वैदेशिक रोजगारीमा जाने गरिब नेपालीलाई संस्थागत रूपमा पठाए पनि व्यक्तिगत स्वीकृतिका नाममा झुक्याएर ठग्ने प्रवृत्तिलाई रोक्न वैदेशिक रोजगार विभागको प्रस्तावमा श्रम मन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णय गरी संस्थागत र व्यक्तिगत स्वीकृतिमा विदेश जाने व्यक्तिको पासपोर्टमा छुट्टाछुट्टै रङको स्टिकर टाँस्ने व्यवस्था लागू गर्ने निर्णय गरेको जानकारी एक अधिकारीले दिए ।

निर्णय अनुसार वैदेशिक रोजगार विभागले व्यक्तिगत स्वीकृतिमा विदेश जाने कामदारको पासपोर्टमा हरियो र हल्का पहेंलो रङको र म्यान पावर एजेन्सीमार्फत (संस्थागत रूपमा) जाने कामदारको पासपोर्टमा रातो र र हल्का नीला रङको पुष्ठभूमि भएको स्टिकर टाँस्नेछ । स्टिकरमा सेक्युरिटी कोडसमेत राखिनेछ ।

स्टिकरमा सिरियल नं, पासपोर्ट नं, रोजगारदाता कम्पनी, देश, भ्यालिडिटी डेट (कहिलेदेखि कहिलेसम्म), गर्नुपर्ने काम (प्रोफेसन), सम्बन्धित मुलुकमा रहेको नेपाली दूतावासले गरेको प्रमाणीकरण, पठाउने म्यानपावर एजेन्सीको नाम समेत उल्लेख गरिने छ । व्यक्तिगत स्वीकृतिको स्टिकरमा पठाउने म्यानपावर एजेन्सीको नामबाहेक अरू सबै विवरण उल्लेख हुने छ ।

Published on: 2 April 2012 | Kantipur

Back to list

;