s

वैदेशिक रोजगारमा सिन्डिकेट : खाडी जाने कामदारबाट साढे ५ अर्ब ठगी

गोपाल साउद

वैदेशिक रोजगारका लागि खाडी मुलुक जाने कामदारबाट सिन्डिकेटका नाममा दुई दशकको अवधिमा करिब साढे ५ अर्ब रुपैयाँ ठगी भएको पाइएको छ । साउदी अरेबिया, ओमन र बहराइन गएका १२ लाख १८ हजार ४ सय ४२ जना कामदारबाट गाम्का नेपाल नामक सिन्डिकेटआबद्ध मेडिकल संस्थाहरूले सो रकम ठगी गरेका हुन् । यी तीन मुलुकमा जाने कामदारको स्वास्थ्य परीक्षणमा सिन्डिकेट खडा गरी गाम्का नेपालआबद्ध १२ मेडिकल संस्थाले कामदारबाट ठगी गर्दै आएका छन् ।

साउदीको सिन्डिकेट ओमन र बहराइनसम्म फैलियो
 
०७१ अघिसम्म गाम्का नेपालले साउदी अरेबिया जाने कामदारको स्वास्थ्य परीक्षणमा एकाधिकार कायम गरेको थियो । त्यसयता भने गाम्कामा आबद्ध मेडिकलले बहराइन र ओमन जाने कामदारको स्वास्थ्य परीक्षणमा समेत सिन्डिकेट विस्तार गरेका छन् । ‘गल्फ को–अपरेसन काउन्सिल’ (जिसिसी) अन्तर्गतको सम्बन्धित देशका स्वास्थ्यमन्त्री सदस्य रहेको समितिबाट स्वीकृति लिएर गाम्काले नेपालमा सिन्डिकेट खडा गरेको छ । वैदेशिक रोजगारका लागि साउदी, ओमन र बहराइन जाने कामदारबाट गाम्कामा आबद्ध मेडिकलले सरकारी नियमभन्दा बढी शुल्क लिँदै आएका छन् ।
 
सरकारले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षणका लागि २ सय ३५ वटा स्वास्थ्य संस्थालाई सूचीकृत गरेको छ । तर, रोजगारका लागि गल्फ मुलुकहरू साउदी अरब, बहराइन र ओमन जाने कामदारको स्वास्थ्य परीक्षणमा गाम्का नेपालका नाममा १२ वटा संस्थाको सिन्डिकेटको एकाधिकार छ ।
 
खारेज भनिएका संस्थाबाटै स्वास्थ्य परीक्षण
 
गल्फ कोअपरेसन काउन्सिल (जिसिसी) ले १७ फागुन ०७४ बाट साउदी, ओमन र बहराइन जाने श्रमिकको स्वास्थ्य परीक्षणका लागि लागू गरिएको मेडिकल सेन्टरको एसोसिएसन (गाम्का) खारेजीको घोषणा गरेको थियो । तर, खाडी राष्ट्रका लागि गराइने ‘पूर्वमेडिकल परीक्षण’का लागि गाम्काकै वेबसाइटमा अनलाइन बुकिङ गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यसमार्फत गाम्कामा आबद्ध मेडिकलबाट मात्रै स्वास्थ्य परीक्षण गर्नुपर्ने बाध्यात्मक अवस्था अहिले पनि कायम छ ।
 
साउदी जाने कामदारको स्वास्थ्य परीक्षणमा गाम्का नेपालका नाममा कायम सिन्डिकेटको खारेजीको माग राख्दै नेपाल स्वास्थ्य व्यवसायी महासंघले समेत लामो समयसम्म आन्दोलन गरेको थियो । तर, त्यही महासंघका तत्कालीन पदाधिकारी प्रवीण तिवारी, कैलाश खड्कालगायतले माइग्राम्स र बायोमेट्रिक नाममा सिन्डिकेट खडा गरी मलेसिया जाने कामदारलाई ठगी गर्न लागेपछि त्यो आन्दोलन पनि सकियो ।
 
यी हुन् गाम्काको नाममा ठगी गर्ने स्वास्थ्य संस्था
 
अल खालिज मेडिकल सेन्टर, चाबहिल– महेन्द्र ढंगाना
 
अलमसुर डायग्नोसिस सेन्टर, नयाँ बानेश्वर – डा. सानुकृष्ण श्रेष्ठ, डा. भागरथी कायस्थ र डा. जहाङगिर आलम
 
अक्वा डायग्नोसिस सेन्टर, बत्तीसपुतली – डा अर्जुनसिंह चन्द, डा. मनोरदिन साइयद, डा जुबिर अहमद
 
हेल्थ केयर क्लिनिक, त्रिपुरेश्वर – डा. एस. राना
 
कान्तिपुर डायग्नोसिस सेन्टर, कान्तिपथ– डा आरडी जोशी
 
लाइफ केयर प्रिन्स डायग्नोसिस सेन्टर, त्रिपुरेश्वर – डा. आर. रौनियार
 
लाइफ ट्रस्ट मेडी डायग्नोसिस प्रालि, धुम्बाराही – डा. विजयराज झा, डा. शर्मिला पराजुली
 
मेडिएसिया डायग्नोसिस सेन्टर, बाँसबारी – डा. अरविन्दप्रसाद साह, डा आभूषणसिद्धि तुलाधर, डा. रमिला श्रेष्ठ
 
राजाम मेडिकल सेन्टर, चाबहिल – डा. राजेशकुमार, डा. मुक्तचन्द
 
साइबा मेडिकल सेन्टर, पुलचोक, ललितपुर–अब्दुल सुनार
 
साउदी नेपाल मेडिकल सेन्टर – महेन्द्र शेरचन
 
सिद्धि पोलिक्लिनिक हेल्थ सर्भिस, डिल्लीबजार – डा. इश्वरलाल श्रेष्ठ
 
अनलाइन दर्ताका नाममा ५ करोड ७० लाख ठगी
 
फागुन ०७४ देखि त्यसअघि नभएको मेडिकल जाँच गर्नुपूर्व अनलाइन गर्नुपर्ने नयाँ व्यवस्था लागू गरियो । त्यसबापत १० अमेरिकी डलर ठगी गर्ने गरिएको छ । त्यसयता असारसम्म मात्रै साउदी, ओमन र बहराइन गएका ५१ हजार ५ सय ७१ जना नेपाली श्रमिकबाट ५ करोड ७० लाख ठगी भएको छ ।
 
०७१/७२ यता ३ अर्ब ७ करोड ४३ लाख रुपैयाँ ठगी
 
आर्थिक वर्ष ०७१/७२ देखि गएको असारसम्म ५ लाख ५८ हजार ९ सय ५३ जना कामदार साउदी, ओमन र बहराइन गएका छन् । उनीहरूबाट प्रतिव्यक्ति ५ हजार ५ सय रुपैयाँका दरले गाम्काआबद्ध १२ मेडिकलले ३ अर्ब ७ करोड ४२ लाख ४१ हजार ५ सय रुपैयाँ ठगी गरेका हुन् ।
 
आव ०५६/५७ देखि आव ०७०/७१ को अवधिमा २ अर्ब २४ करोड ठगी
 
त्यस अवधिमा ६ लाख ३९ हजार ५ सय १६ जना कामदार रोजगारीका लागि साउदीअरब गएका थिए । उनीहरूबाट प्रतिव्यक्ति ३ हजार ५ सय रुपैयाँका दरले २ अर्ब २३ करोड ८३ लाख ठगी ठगी गरिएको हो ।
 
आव ०५४/५५ र ०५५/५६ मा ४ करोड ९४ लाख ठगी : ०५४ मा गाम्का स्थापना भएपछिको ०५५/५६ सम्ममा १९ हजार ७ सय ७३ जना कामदार साउदी गएका थिए । उनीहरूबाट प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँ गरी करिब ५ करोड उठाइएको थियो । जबकि तत्कालीन समयमा गाम्कामा आबद्ध नभएका मेडिकलले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणबापत हजार रुपैयाँ लिने गरेका थिए ।
 
अन्त्य होला त खाडी जाने कामदारमाथि लादिएको सिन्डिकेट ?
 
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारको क्षेत्रमा कायम सबै किसिमका सिन्डिकेट अन्त्य गर्ने घोषणा गरिसकेका छन् । त्यसअनुसार वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारमाथि शोषण गर्दै आएका संस्था खारेजीको निर्णयसमेत गरिसकेका छन् । उक्त मुद्दा अहिले अदालतमा विचाराधीन छ । यद्यपि, भिएलएन तथा ओएससी सञ्चालकबाहेकका अन्य ठगी आरोपी अझै पक्राउ पर्न सकेका छैनन् । खाडी मुलुक साउदी, ओमन र बहराइन जाने कामदारमाथिको सिन्डिकेट अन्त्यको विषयमा भने अहिलेसम्म कुनै कदम चालिएको छैन ।
 
वैदेशिक रोजगारका सबै सिन्डिकेट खारेज हुन्छन्
कृष्ण ज्ञवाली
सहसचिव, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
 
सरकारबाट स्वीकृति पाएका सबै मेडिकलले गरेको स्वास्थ्य परीक्षण मान्य हुनुपर्छ भन्नेमा मन्त्रालय स्पष्ट छ । तर, खाडी जाने कामदारको स्वास्थ्य परीक्षणको क्षेत्रमा केही सीमित स्वास्थ्य संस्थाको सिन्डिकेट कायम छ । यसमा खाडी राष्ट्रहरूकै संलग्नता रहेको भन्ने सुन्नमा आएको छ । त्यस विषयमा मन्त्रालयले अध्ययन तथा छलफल अगाडि बढाइसकेको छ । सबै किसिमका निर्णय एकैपटक गर्नेभन्दा पनि क्रमशः अगाडि बढ्ने पक्षमा मन्त्रालय छ ।
 
तोकेभन्दा दोब्बर शुल्क
 
गाम्काआबद्ध मेडिकल सेन्टरले कामदारसँग तोकिएभन्दा ३ हजार ६ सय ६० रुपैयाँ बढी शुल्क असुल्दै आएका छन् । सरकारले महिला कामदारको स्वास्थ्य परीक्षणका लागि ३ हजार १ सय रुपैयाँ र पुरुष कामदारका लागि २ हजार ९ सय ४० रुपैयाँ निर्धारण गरेको छ ।
 
साउदी, बहराइन र ओमन जाने कामदारले ११ सय रुपैयाँ (१० अमेरिकी डलर) तथा मेडिकल शुल्कबापत ५५ सय रुपैयाँ गरी ६ हजार ६ सय रुपैयाँ बुझाउँदै आएका छन् ।
 
Published on: 12 August 2018 | Naya Patrika

Back to list

;