s

वैदेशिक रोजगारमा रहेकाको सुरक्षा र फिर्तीका लागि आग्रह

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ १५ गते । सुरक्षित वैदेशिक रोजगारको क्षेत्रमा कार्यरत सङ्घसंस्थाले विभिन्न गन्तव्य मुलुकमा रहेका र स्वदेश फर्किन चाहने नेपालीलाई स्वदेश फर्काउन र तत्कालीन व्यवस्थापनको प्रबन्ध गर्न सरकारसँग माग गरेका छन् । कोभिड–१९ को दोस्रो लहरबीच विदेशबाट फर्किनेको तत्कालीन व्यवस्थापन कहाँ गर्ने, खर्चको व्यवस्थापन, कानुनी परामर्श, परिवारमा सहज पुनस्र्थापना, गोपनीयता र आर्थिक तथा सामाजिक पुनः एकीकरणमा कसरी जोड्ने भन्ने विषयमा आवश्यक कदम चाल्न सरकारी निकायलाई सरोकारवाला संस्थाहरूले आग्रह गरेका हुन् ।

श्रम रोजगार पत्रकार समूह, सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल, महिला तथा बालबालिका बेचबिखनविरुद्ध सहकर्मी समूह नेपाल (एटविन), वैदेशिक रोजगार पत्रकार समाज, नेसनल नेटवर्क अगेन्स्ट गल्र्स ट्राफिकिङ तथा इन्टर जेनेरेसनल फेमिनिस्ट फोरमले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै सरकारसँग सो आग्रह गरेका हुन् ।

संयुक्त विज्ञप्तिमा वैदेशिक रोजगारीमा रहेका आप्रवासी श्रमिकले आर्जन गरी पठाएको विप्रेषण (रेमिटेन्स ले स्वदेशमा रहेका उनीहरूको घरपरिवारका साथै सिङ्गो नेपालको अर्थतन्त्रमा समेत योगदान पु¥याएको स्मरण गर्दै श्रमिकलाई भैपरी आउने महामारीको अवस्थामा पनि द्रुत उद्धार गर्नुपर्नेमा सरकारले कम चासो दिएको विगतको अनुभवले पनि देखाएको उल्लेख छ ।

सरकारले गत वैशाख २३ गते मध्यरातदेखि अन्तर्राष्ट्रिय उडान रोकेपछि त्यसको प्रभाव खाडी तथा मलेसियामा कार्यरत र नेपाल फर्किने तयारीमा रहेका श्रमिकमा परेको पनि विज्ञप्तिमा उल्लेख छ ।

कतिपय श्रमिकको भिसाको अवधि सकिएर टिकट लिएर स्वदेश फर्किने तयारीमा रहे पनि उडान रोकिँदा कम्पनीको होस्टेलमा समेत बस्न नपाएर होटेलमा महँगो भाडा तिरेर बस्नुपर्ने अवस्था आइपरेको भन्दै सो समस्या सम्बोधन गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

साथै विज्ञप्तिमार्फत स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण आप्रवासी श्रमिक तथा परिवारका सदस्यलाई विपत्को घडीमा महामारी रोकथामका लागि उच्च मनोबलका साथ स्वास्थ्य मापदण्ड पालना गरी सहयोग गर्न पनि अनुरोध गरिएको छ ।

Published on: 29 May 2021 | Gorkhapatra

Link

Back to list

;