s

वैदेशिक रोजगारमा रहेका श्रमिक पनि सामाजिक सुरक्षा कोषमा

मुना कुँवर

वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक वा विदेशमा स्वरोजगारीमा रहेका व्यक्तिले सामाजिक सुरक्षा कोषमा नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको २१.३३ प्रतिशत रकम योगदान गर्नुपर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७९ पारित गर्दै यस्तो व्यवस्था गरेको हो । यो योजना वैशाखदेखि पूर्ण रूपमा लागू हुनेछ ।

सरकारले औद्योगिक क्षेत्रको कामदारको न्यूनतम आधारभूत पारिश्रमिक १५ हजार रुपैयाँ तोकेको छ । यसर्थ, कोषमा जोडिन चाहने वैदेशिक रोजगारीमा रहेका श्रमिकले १५ हजारको २१.३३ प्रतिशतबराबर हुन आउने रकम मासिक रूपमा योगदान गर्नुपर्ने हुन्छ ।

मन्त्रालयले पारित गरेको कार्यविधिअनुसार श्रमिकले गर्ने योगदान रकममध्ये दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनाका लागि ७.४८ प्रतिशत रकम विनियोजन गरिनेछ । वृद्ध अवस्था सुरक्षा योजनामा १३.२५ प्रतिशत रकम विनियोजन गरिएको छ । कोषमा आबद्ध हुने योगदानकर्ताले दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धवस्था सुरक्षा योजना सुविधा प्राप्त गर्नेछन् ।

अनलाइनमार्फत आबद्ध हुन सकिने

वैदेशिक रोजगारीमा रहेका श्रमिक वा स्वरोजगारमा रहेका व्यक्तिले सामाजिक सुरक्षा कोषमा आबद्ध हुन अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । अनलाइनमार्फत आवेदन दिँदा श्रमिकको नेपाली नागरिकता वा राहदानी र श्रम स्वीकृतिको प्रतिलिपिलगायत तोकिएका विवरण पेस गर्नुपर्नेछ । तर, श्रम स्वीकृति आवश्यक नपर्ने मुलुकमा रोजगारीमा रहेको वा रोजगारीका लागि जाने श्रमिकले आफूले विदेशको कुन स्थान र कम्पनीमा श्रम गर्ने हो सोको विवरण, स्वघोषणा र कम्पनीको नियुक्तिपत्रको प्रतिलिपि पनि पेस गर्नुपर्ने हुन्छ ।

विदेशमा स्वरोजगारमा रहेका व्यक्तिले भने नेपाली नागरिकता वा राहदानी र भिसाको प्रमाणित प्रतिलिपि पेस गर्नुपर्नेछ । भिसा आवश्यक नपर्ने मुलुकमा स्वरोजगारमा रहेको भए नेपाली नागरिकता वा राहदानीको प्रमाणित प्रतिलिपि पेस गरे पुग्नेछ । साथै, स्वरोजगारसम्बन्धी पेसा वा व्यवसाय दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपिलगायत तोकिएका विवरण राख्नुपर्नेछ । निवेदन स्वीकृत भएपछि कोषले अनलाइनमार्फत नै परिचयपत्र उपलब्ध गराउनेछ । अब वैदेशिक रोजगारीमा जाने श्रमिकले भने श्रम स्वीकृति लिँदाका बखत नै कोषमा सूचीकृत हुनुपर्नेछ ।

अग्रिम भुक्तानी गरे १० प्रतिशत छुट

सामाजिक सुरक्षा कोषमा आबद्ध हुँदा कोषले छुटको समेत व्यवस्था गरेको छ । मन्त्रालयले पारित गरेको कार्यविधिअनुसार कोषमा योगदान गर्नुपर्ने ६ महिनाभन्दा बढी अवधिको रकम अग्रिम रूपमा कोषमा जम्मा गर्ने योगदानकर्तालाई सञ्चालक समितिले निर्णय गरी जम्मा गर्नुपर्ने रकमको १० प्रतिशतसम्म छुट दिन सक्ने कार्यविधिमा उल्लेख गरिएको छ ।

त्यस्तै, कोषका सुविधाहरू लगातार तीन वर्षसम्म प्रयोग नगर्ने योगदानकर्ताले निवृत्तभरण योजनामा सहभागी हुने गरी निवेदन दिएमा सञ्चालक समितिले निर्णय गरी उक्त योजनामा जम्मा भएको रकमको २० प्रतिशतसम्म वृद्धावस्था सुरक्षा योजनामा जम्मा गरिनेसमेत व्यवस्था गरेको छ । साथै, सम्बन्धित देशमा बसोवासका लागि लाग्ने खर्च कटाई वार्षिक आम्दानीको कम्तीमा ७० प्रतिशत रकम बैँकिङ माध्यमबाट नेपाल पठाएको प्रमाण पेस गरेमा सञ्चालक समितिले निर्णय गरी वृद्धावस्था सुरक्षाबाहेकका योजनाहरूमा जम्मा गर्नुपर्ने रकममा २० प्रतिशतसम्म छुट दिन सकिने कार्यविधिमा उल्लेख छ ।

कोषमा जोडिन चाहने अनौपचारिक क्षेत्रका श्रमिकले न्यूनतम आधारभूत पारिश्रमिकको २०.३७ प्रतिशतबराबर रकम योगदान गर्नुपर्नेछ । यसमा श्रमिकले ११ प्रतिशत रकम र सरकारले ९.३७ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्ने कार्यविधिले व्यवस्था गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार रहेका व्यक्तिको सामाजिक सुरक्षा सञ्चालन कार्यविधि, २०७९ पारित गर्दै यस्तो व्यवस्था गरेको हो । स्वरोजगार व्यक्तिले भने कोषमा ३१ प्रतिशत रकम योगदान गर्नुपर्ने हुन्छ ।

कामदारको सुरक्षा हाम्रो प्राथमिकता हो : शेरबहादुर कुँवर, मन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षा

वैदेशिक रोजगारीमा गएका कामदारलाई मैले प्राथमिकतामा राखेको छु । एउटा कामदार विदेशबाट खाली हात आउँदा उसको परिवार पनि आर्थिक संकटमा पर्छ । त्यसैले विदेशमा जाने कामदारलाई सुरक्षाको अति आवश्यक छ । भोलिका दिनमा हाम्रा कामदारलाई हामी गन्तव्य मुलुकमा नै सुरक्षा दिन सक्ने वातावरण सिर्जना गर्नेछाँै । अहिलेका लागि हामीले नै सञ्चालन गरेको कोषमा जोड्नेछौ ।

एनआरएनएका लागि गतिलो उपलब्धि हो : डिबी क्षेत्री, उपाध्यक्ष, गैरआवासीय नेपाली संघ

मध्यपूर्व र मलेसियालगायतका मुलुकमा रोजगारीमा रहेका नेपाली श्रमिक अत्यन्तै जोखिममा छन् । यस्तो जोखिममा पूर्ण रोजगारीमा पनि रहनु नेपालीका लागि बाध्यता हो । एउटा कामदार जोखिममा पर्दा ऊ मात्रै होइन, उसको सिंगो परिवार पनि जोखिममा पर्छ । त्यसैले हामीले कामदारलाई आर्थिक सुरक्षा प्रदान गर्न सामाजिक सुरक्षा कोषमा जोड्नका लागि धेरैअघिदेखि प्रयास गरेका थियौँ । ढिलै भए पनि यो काम सफल भएको छ ।

Published on : 20 December 2022 | Naya Patrika

Link

Back to list

;