s

वैदेशिक रोजगारमा रहेका नेपालीले बुधबारदेखि निःशुल्क ‘टेलिमेडिसिन’ सेवा पाउने

काठमाडौँ — विदेशमा रहेका नेपाली श्रमिकले बुधबारदेखि निःशुल्क ‘टेलिमेडिसिन’ सेवा पाउने भएका छन् । वैदेशिक रोजगार बोर्डले विदेशमा रहेका नेपालीको स्वास्थ्यसम्बन्धी समस्या समाधानका लागि यो सेवा सुरु गर्न लागेको हो । यो सेवामार्फत विदेशी भूमिमा रहेका श्रमिकले टेलिफोनमार्फत आफ्नो स्वास्थ्यको समस्या तथा समाधानको उपायबारे चिकित्सकहरुमार्फत जानकारी पाउने छन् ।

बोर्डका सूचना अधिकृत राजन पौडेलका अनुसार वैदेशिक रोजगारमा रहेकाले मोबाइल नम्बर ९८५१३४५७०१ र ९८५१३४५७०२ को भाइबर, हृवाट्सएप र इमेल वा सामाजिक सञ्जालबाट फोन गरी टेलिमेडिसिन सेवा लिन सक्नेछन् । टेलिमेडिसिन सेवा बुधबार (चैत १५ गते) बिहान १० बजेदेखि सुरु हुनेछ । सार्वजनिक बिदाका दिनबाहेक नेपाली कार्यालय समयमा सेवा प्रवाह गरिने पौडेलले जानकारी दिए ।

बिरामी परेका श्रमिकलाई विशेषज्ञ सेवा नै आवश्यक परेमा आइतबार र शुक्रबार विशेषज्ञ सेवा उपलब्ध गराइने बोर्डले जनाएको छ । सेवा प्रवाहका लागि बोर्डले वीर अस्पतालसँग सम्झौता गरेको छ । सेवा लिने श्रमिकका लागि ‘प्रेस्कृप्सन’ अनलाइनमार्फत उपलब्ध गराइनेछ । यसको सम्पूर्ण खर्च बोर्डले व्यहोर्ने जनाएको ।

Published on: 29 March 2023 | Kantipur

Link

Back to list

;