s

वैदेशिक रोजगारमा म्यानपावरकै डरलाग्दो ठगी

वाध्यताले वैदेशिक रोजगारमा जाने युवालाई मद्दत गर्ने नाममा खुलेका म्यानपावर कम्पनी नै सबैभन्दा बढी ठग देखिएका छन्। म्यानपावरको ठगीमा परेका युवा यतिबेला आफ्नै खर्चमा संयुक्त अरब इमिरेट्सबाट स्वदेश फर्किएका छन्।

गत असार २७ मा लाखौं खर्चेर युएई पुगेका उनीहरू काम पाउने भनिएको कम्पनीको नाम र ठेगाना नै नपाएपछि अलपत्र परेका थिए। तीमध्ये चारजना आफ्नै हवाई खर्चमा बिहीबार स्वदेश फर्किएका छन् भने बाँकी तीनजना अझै भिसा अवधि सकिएका कारण ‘ओभर स्टे’ मा छन्। काठमाडौं आइपुगेकाहरू भने आफू म्यानपावरकै कारण ठगीमा परेको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी दिन पुगेका छन्।

काठमाडौं सामाखुसीस्थित फिस्टेल ओभरसिज प्रालिका सञ्चालक रेशमराज लामिछानेले युएईमा ‘हेभीट्रक ड्राइभर’ को माग आएको भन्दै २५ जना युवालाई घर न घाट बनाएका हुन्। सञ्चालक लामिछानेले ती युवाबाट प्रतिव्यक्ति ६ लाखदेखि सात लाखभन्दा माथि रकम उठाएको विभागमा उजुरी दिन आएका पीडितको दावी छ।

लामिछानेले युएईमा कामसँगै तलब पनि तीन हजार दिरहम हुने र खाना खर्च छुट्टै हजार दिरहम पाइने भनी आफूहरूलाई विदेश पठाएको पीडितहरूको दाबी छ, तर उनीहरू जुन कम्पनीमा भनेर गएका थिए, त्यो कम्पनी नै नरहेको पीडितहरू बताउँछन्।

म्यानपावरका सञ्चालक लामिछानेले युएईमा पाँच महिनादेखि अलपत्र अवस्थामा पारेका सिन्धुपाल्चोकका सरोज श्रेष्ठ, ताराबहादुर श्रेष्ठ, अनिश परियार र काभ्रेका सञ्जीव कार्की रहेका छन्। उनीहरू चारैजना स्वदेश फर्किएको शनिबार तीन दिन मात्र भएको छ। त्यस्तै दोलखाका बमबहादुर लोहार, हर्कबहादर बस्नेत र धादिङका सुरेश भुजेल भने ‘ओभर स्ट्य’ मा युएईमै छन्।

यसरी विदेश गएर परिवारलाई सुख दिने सपना बोकी लाखौंलाख ऋण काढेर युएई पुगेका युवाहरूको दुर्गतिको अवस्था छ। पैसा कमाउन विदेश पुगेका युवा उल्टै परिवारसँग हवाई टिकेट काट्ने पैसा मगाएर नेपाल फर्किएका छन्।

घरको आर्थिक भार सम्हाल्न विदेश जाँदा नराम्रोसँग फसेको सिन्धुपाल्चोकका अनिश परियारले गुनासो गरे। ‘पैसा कमाउनका लागि विदेश गएको थिएँ, तर कमाएर ल्याएको भन्दा बढी सकियो’, उनले भने, ‘म्यानपावर सञ्चालक लामिछानेको मिठो कुराले यसरी भुट्यो कि हामीले आफूहरू फसेको एक प्रतिशत पनि सुइँको पाएनौं। अहिले उसकै ठुला कुरा छन्। कसरी नेपाल जान्छौ जाओ, मेरो मतलबको कुरा होइन भनेपछि हामी नेपाल फर्किन बाध्य भएका हौं।’

‘युएईस्थित नेपाली दूतावासमा पनि खबर गर्‍यौं। त्यहाँको दूतावासले लामिछानेलाई बोलाएर केरकार गरेका पनि थियो। फिस्टेल म्यानपावरका सञ्चालक लामिछाने दूतावास आउनै चाहेका थिएनन्। घरी कहाँ छु, घरी बिरामी भएर आलसतालस भएको छु भनेर पटकपटक नाटक गर्दै आएको थियो’, पीडितले भने।

युएईस्थित नेपाली दूतावासमा लामिछानेले प्रत्येक व्यक्तिसँग ६ लाखभन्दा बढी लिएको स्वीकारेको र सो रकम फर्काउने वचनका साथ दूतावासलाई पत्र पनि लेखेको विभागमा उजुरी दिन आएका युवाले बताए। ‘दूतावासले लामिछानेलाई हामीसँगको सम्पर्कपछि काम पनि लगाइदिने र पैसा पनि फिर्ता गर्ने भनेको थियो, तर उसले सबै कुरा झुट बोलेको रहेछ। १० दिनपछि त फेरि सम्पर्कविहीन हुँदा हामी स्वदेश फर्किएका हौंं’, सिन्धुपाल्चोकका सरोज श्रेष्ठले भने।

लामिछानेमार्फत विदेश पुर्‍याइएका युवा मात्र ठगीमा परेका होइनन्, स्वदेशमै रहेका थुप्रै युवा पनि विदेश उडाउने विभिन्न सपना देखाउँदै लाखौंलाख पैसा असुल्दै आएको विदेश जान बाँकी पीडितको गुनासो छ।

ठगीको सिकारमा परेका नारायण श्रेष्ठ, लोकबहादुर श्रेष्ठ, बुद्ध लामा, सागर श्रेष्ठ, सुमन केसी, नरहरि तिमल्सिना, दीपेन्द्रबहादुर राउत, दीर्घबहादुर मगर, मुक्तबहादुर पाख्रिन र राजेश कार्कीलाई वैदेशिक रोजगारीमा पठाइदिने भनी पीडक लामिछानेले रकम असुलेको पीडित श्रेष्ठले बताए।
वैदेशिक रोजगार ऐन र नियमावलीअनुसार वैदेशिक रोजगारीका नाममा हुने ठगी घटनाका उजुरी लिने र मिलापत्र गराउने, उजुरीको अनुसन्धान गर्ने, मुद्दा दायर गर्ने, जरिवाना गर्ने अधिकार वैदेशिक रोजगार विभागलाई मात्रै छ। वेरोजगारी समस्याले पिरोलिएका सर्वसाधारण युवा सचेत नहुँदा वैदेशिक रोजगारीको बहानामा ठगीको सिकार बन्ने क्रम बढ्दो रहेको वैदेशिक रोजगार विभागका निर्देशक लोकनाथ भुसालले बताए।

युएई पठाउने भन्दै युवामाथि ठगी गर्दै आएको फिस्टेल म्यानपावर कम्पनीलाई प्रतिक्रियासहित पत्राचार गरेका छौं। युएईबाट फर्किएका भाइहरूको मागसहितको निवेदन लिने छौं। त्यसपछि कानुनी प्रक्रिया अगाडि बढाउने छौं’, भुसालले भने।

‘फिस्टेलका सञ्चालक लामिछानेले यो विषयलाई मध्यनजर गर्दै विभागमा आएर छलफल गरे भने समस्या टुगिंइहाल्यो। त्यसो भएन भने फिस्टेलमा रहेको धरौटीबाट पीडितलाई क्षतिपूर्ति रकम भर्पाइ गर्छौं। साथै वैदेशिक रोजगार ऐनबमोजिम सञ्चालक लामिछानेलाई कानुनी दायरामा ल्याउने छौं’, भुसालले भने।

‘फिस्टेलमार्फत ठगीमा परेका युवाका लागि मर्का नपर्ने गरी कानुनी उपचारका लागि लड्छौं। ठगीमा परेका भाइहरूले राहत पाउनुपर्छ भन्ने हो, तर काननी प्रक्रियामा ढिलाचाँडो त भइ नै हाल्छ’, निर्देशक भुसालले भने। वैदेशिक रोजगारीका क्रममा ठगीमा परे भनेर आउने उजुरी सबैभन्दा बढी संस्थागततर्फका भए पनि ठगीको रकम तुलना गर्दा व्यक्तिगतकै बढी हुने गरेको उनले बताए।

चालु आर्थिक वर्ष २०८०/८१ को चार महिना (साउनदेखि कात्तिक मसान्तसम्म) मा वैदेशिक रोजगार विभागमा एक हजार आठ सय ८२ वटा उजुरी परेका छन्। विभागका विभिन्न शाखामा दर्ता भएका उजुरीमध्ये ६ सय ३९ वटा फछ्र्यौट भइसकेको छ।

यो चार महिनामा विभागको उद्धार, राहत तथा समन्वय अनुगमन शाखामा दुई सय ६९ वटा उजुरी परेका छन्, जसमध्ये ९६ वटा मिलापत्रबाट टुंगिएको छ। सो शाखामा अझै एक सय ७३ वटा उजुरी टुंग्याउन बाँकी छ।

Published on: 11 December 2023 | Nagarik

Link

Back to list

;