s

वैदेशिक रोजगारमा लर्को

 मुलुकभित्रै रोजगारीको पर्याप्त अवसर र अनुकूल वातावरण सिर्जना हुन नसक्दा नेपाली युवा कामका लागि विदेश जाने क्रम बर्सेनि बढिरहेको छ । १० वर्षे सशस्त्र द्वन्द्व अन्त्य भएर शान्ति प्रक्रिया सुरु भएयता मात्र ३३ लाख ७६ हजार युवा वैदेशिक रोजगारमा गएका छन् । 
पछिल्लो आठ वर्षमै काम गर्न विदेश जाने युवाको संख्या दोब्बर भएको छ । २०६४ सालमा २ लाख १४ हजार युवा बिदेसिएका थिए भने गत वर्ष ५ लाख १२ हजार बाहिरिए । बन्द, हडताल र अस्थिरताको क्रम जारी रहेकाले युवा बाहिरिने क्रम अझै बढ्न सक्छ । सरकारले पनि वैदेशिक रोजगारलाई प्रवद्र्धन गर्नेखालका कार्यक्रम चलाइरहेको छ ।
मुलुकमा भित्रिएको विप्रेषण (रेमिट्यान्स) लाई मात्र हेर्दा वैदेशिक रोजगारमा धेरै युवा जानु राम्रो देखिए पनि समग्रमा मुलुकका लागि हितकर छैन । युवा जनशक्ति काम गर्न बाहिरी देश जाने प्रवृत्तिले मुलुकको उत्पादकत्वमा प्रभाव पार्छ, परनिर्भरता बढाउँछ । वैदेशिक रोजगारीले सामाजिक र मनोवैज्ञानिक समस्या पनि सिर्जना गर्छ । त्यसैले ऊर्जाशील उमेरमा श्रम बेच्न विदेश जाने क्रम बढ्नु चिन्ताको विषय हो । 
 
शान्ति प्रक्रिया सुरु भएपछि नेपालमा लामो समयसम्म राजनीतिक र नीतिगत स्थायित्व हुन सकेन, बन्दहडतालको क्रम चुलियो । उद्योगधन्दा, व्यापार–व्यवसाय प्रभावित भएका छन् । रोजगारीका अवसर पर्याप्त मात्रामा सिर्जना हुन सकेनन् । भ्रष्टाचार र राजनीतिक हस्तक्षेपले व्यापकता पाएको छ । कृषि क्षेत्र व्यावसायिक बन्न सकेन । त्यही कारण नेपाली युवाका लागि वैदेशिक रोजगार आम्दानीको वैकल्पिक माध्यम बन्दै आएको छ ।
युवाजति विदेश गएपछि उद्योगधन्दा, निर्माणसम्बन्धी लगायतका काममा श्रमिकको अभाव छ । भारतीय नागरिकले हाम्रै मुलुकमा काम गरेर विप्रेषण लगिरहेका छन् । नेपाली परिवारहरू भने खेतबारी बाँझै राखेर परनिर्भर बन्दै गएका छन् । कतिपय युवामा आफ्नो मुलुकभित्र मेहनत नगर्ने तथा ‘सानोतिनो’ काममा आँखा नलगाउने, तर खाडी मुलुकमा भने ऋण काढेर भए पनि जान मरिहत्ते गर्ने प्रवृत्ति छ भने कतिपय बाध्य भएर बिदेसिएका हुन्छन् । युवाले विदेशमा सिकेको सीप नेपाल फर्केर उपयोग गर्ने उपयुक्त वातावरण पनि बन्न सकेको छैन ।
 
वैदेशिक रोजगार जति लोकप्रियजस्तो देखिएको छ, त्यसभन्दा बढ्ता जोखिमपूर्ण छ । गएका सबैले राम्रो कमाइ गर्न सक्दैनन्, धेरै ठगिएका छन्, कतिपय युवाको ज्यान नै गइरहेको छ । आफ्नै देशभित्र काम गर्ने राम्रो अवसर पाए धेरै युवा यहीँ थामिन सक्छन् । त्यसका लागि मुलुकमा राजनीतिक स्थिरता चाहिन्छ, भ्रष्टाचार–घूसखोरी न्यूनीकरण हुनुपर्छ, अनावश्यक राजनीतिक हस्तक्षेप अन्त्य गरिनुपर्छ । उद्योगधन्दा, व्यापार–व्यवसायलाई प्रवद्र्धन र प्रोत्साहन गर्नुपर्छ । अनावश्यक रूपमा बन्दहडताल गर्ने प्रवृत्ति निरुत्साहित गर्नुपर्छ । 
 
नेपाल राष्ट्रबैंकका अनुसार २०६५ देखि २०७० सम्म मात्र ४ हजार ४ सय ५१ वटा बन्दहडतालका घटना भए । एक दिनको बन्दबाट १ अर्ब ८० करोडको क्षति हुन्छ । युवालाई पलायनबाट जोगाउन शिक्षा प्रणाली पनि सुधार गरेर सीपमूलक बनाउन जरुरी छ । सरकारले कृषि र अन्य व्यवसाय प्रवद्र्धनका लागि कार्यक्रम ल्याउने गरेको त छ, तर प्रभावकारी बन्न सकेको छैन ।
सहुलियतपूर्ण ऋण र अनुदान खासै सदुपयोग नभएकाले यसतर्फ ध्यान दिन जरुरी छ । बजार सुरक्षित र भरपर्दो बनाउन आवश्यक छ । उद्योगधन्दाका लागि लगानीको वातावरण तयार गर्नुपर्छ । पर्याप्त उद्योगधन्दा नभएको र कृषिजन्य उत्पादन आयात गर्नुपर्ने अवस्था रहेकाले युवा जनशक्तिलाई व्यावसायिक कृषिमा आकर्षित गराउन सकिन्छ ।
अहिले मल र बिउ बेलैमा पाउन पनि किसानले संघर्ष गर्नुपर्ने अवस्था छ, उत्पादनलाई बजारमा पुर्‍याउन गाह्रो छ ।  वैदेशिक रोजगारमा गएका युवाले वैध बाटोबाट मात्रै वार्षिक करिब ६ खर्ब विप्रेषण नेपाल पठाउँछन् । तर, यो मुलुकको आर्थिक समृद्धिका लागि भरपर्दो स्रोत र समाधान होइन । त्यसैले ऊर्जाशील युवा जनशक्ति बाहिरिने क्रम न्यूनीकरण गर्न सरकारले तत्काल ठोस नीति र कार्ययोजना बनाउन आवश्यक छ ।
 
Published on: 11 January 2016 | Kantipur

Back to list

;