s

वैदेशिक रोजगारमा जानेकाे संचय कोष स्थापना गर्ने तयारी

वैदेशिक रोजगारीका लागि विदेशमा रहेकाहरुलाई श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयले सञ्चयकोष तथा सामाजिक सुरक्षा योजनामा सहभागी गराउन सकिने भएको छ । वैदेशिक रोजगारीमा रहेकालाई सञ्चयकोष तथा सामाजिक सुरक्षामा सहभागी गराउन अध्ययनका लागि गठित कार्यदलले आगामी साउन १ गतेदेखि लागु गर्न सरकारलाई सुझाव दिएको हो ।

श्रम सचिव महेशप्रसाद दाहालको संयोजकत्वमा गठित कार्यदलले श्रम मन्त्री गोकर्ण विष्टलाई बुझाएको प्रतिवेदनमा विदेशमा रहेका नेपालीसँग सामाजिक सुरक्षाको प्रबन्ध मिलाए आन्तरिक पुँजी निर्माणमा सहयोग हुने उल्लेख छ । प्रतिवेदनले सञ्चयकोष तथा सामाजिक सुरक्षा योजनामा समेटिने पहिलो चरणमा श्रम स्वीकृति लिएर रोजगारको लागि खुला गरेको देशमा काम गरिरहेका श्रमिक, दोश्रो चरणमा विदेशमा व्यापार व्यावसाय गरिरहेका नेपाली नागरिक र तेश्रो चरणमा  गैर आवाशीय नेपाली रहेका छन् ।  प्रतिवेदनमा योजना लागु भएपछि वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुलाई तत्काल नै योजनामा सूचिकृत गरिने र योजना लागु हुनु पूर्व वैदेशिक रोजगारीमा गएकाले श्रम स्वीकृति नविकरण गर्दा सहभागी हुन सक्ने गरी व्यवस्था मिलाउन सकिने सुझाव दिएको छ । मन्त्रालयमा प्रतिवेदन बुझ्दै श्रम तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले सबै कानुनी प्रक्रिया मिलाएर आगामी साउन १ गतेबाट कार्यक्रम लागु गर्न सकिने प्रतिबद्धता व्यक्त गरे ।

योजनामा आबद्ध हुन नागरिकले वार्षिक न्युनतम २४ हजारदेखि अधिकतम ३ लाखसम्म राख्न सक्ने छन् । यसरी सहभागी हुनेले मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक रुपमा रकम जम्मा गर्न सक्छन् ।

प्रतिवेदनले वैदेशिक रोजगारीमा रहेका नेपालीका परिवारले नेपालमा व्यावसाय गर्न वा घरायसी कामका लागि सापटी लिएर जान सक्ने योजना बनाउन सुझाव गरेको छ । कार्यदलले संचयकोषको कार्यक्रम संचालन गर्न कर्मचारी संचयकोषलाई व्यवस्थापन दिन सकिने सुझाव दिएको छ ।

Published On: 29 January 2019 | Naya patrika

Back to list

;