s

वैदेशिक रोजगारमा फेरि फाइल गायव

वैदेशिक रोजगार विभागका कर्मचारीहरु म्यानपावर कम्पनीसँग मिलेर गैरकानुनी लाभ लिन विभागबाट श्रम स्वीकृतिको फाइलै गायब बनाएका छन् ।

विभागको अन्तिम श्रम स्वीकृत शाखाका प्रमुख (निर्देशक) सहित कर्मचारीको सेटले कतार र संयुक्त अरब इमिरेट्स (युएई) जाने कामदारको श्रम स्वीकृतको फाइल गायव पारेका हुन् । फाइल गायव बनाउने कामको लागि प्रति कामदार ५० हजार रुपैयाँ भन्दा बढीका दरले कर्मचारी र म्यानपावर कम्पनीका व्यवसायी वीच लेनदेन श्रोतबाट थाहा भएको छ ।

दुई म्यानपावर कम्पनी आलमदेवी एसोसिएट्स प्रालि बानेश्वर र किट्स इम्प्वाइमेण्ट सर्भिसले कामदार पठाउन स्वीकृत लिएका १ सय ७२ कामदारको फाइल कर्मचारीले गायव पारेका हुन् । ती कम्पनीले पूर्व श्रम स्वीकृत लिएको आधारमा व्यक्तिगत भिषालाई कम्पनी र पेशा फरक पारी कर्मचारीले स्वीकृत दिएका छन् ।

यस अघि भदौ पहिलो साता पनि ३ वटा म्यानपावर कम्पनीका ७७ कामदारको फाइल तत्कालिन निर्देशकसहित टोलीले गायव बनाएको थियो । तत्कालिन घटनामा अख्तियारले विभाग, श्रम डेष्क, अध्यागमनका कर्मचारी र म्यानपावर व्यवसायी गरी ६४ लाई पक्राउ मुद्धा चलाएको थियो ।

पहिला घटना भइसकेकोले फेरी अख्तियार आउँदैन भन्दै कर्मचारीहरु म्यानपावर व्यवसायीसँग मिलेर फाइल गायव बनाएको श्रोतको भनाइ छ । कर्मचारी र व्यवसायी मिलेर गैरकानूनी काम गरेको अख्तियारमा उजुरी परेपछि अहिलेको घटना थाह हुन पुगेको हो ।

उजुरीकर्ताले निर्देशक चिरन्जीवी अधिकारी, शाखा अधिकृत कुमारप्रसाद पोखरेल, लबराज जोशी, नासु लक्ष्मीप्रसाद ढुंगाना, कम्प्युटर अपरेटर सुशिल शाक्य, संजिव नेपाल, प्रेम शर्मा, राजेन्द्र पौडेल संलग्न रहेको आरोप लगाएका छन् । अर्का एक निर्देशक, दुई शाखा अधिकृत, नासु, कम्प्युटर अपरेटर पनि संलग्न रहेको श्रोतको भनाई छ ।

अख्तियारमा उजुरी परेर अनुसन्धान टोली विभाग पुगेर छानवीन गर्दा फाईल नभेटिएपछि 'फाईल नभेटिएको' मुचुल्का गरेर आईतवार फर्किएको छ ।

अख्तियार श्रोतले यो घटनालाई भदौकै पुनरावृत्ति भनेको छ । 'कर्मचारी र मेनपावर फरक छन्, घटना भदौकै जस्तै हो' अख्तियार श्रोतको भनाई छ । अख्तियारले कसैलाई पक्राउ नगरेपछि घटनामा सम्लग्न कर्मचारीहरु शक्ति केन्द्रलाई प्रभाव पार्न रकमको मूठो लिएर लागी परेको उजुरीश्रोतको दावी छ ।

कान्तिपुरले श्रम स्वीकृतिको फाईल गायवबारे बिभागका महानिर्देशक रवीन्द्रमोहन भट्टराईसंग संपर्क गर्दा उनले विभागमा ती फाईल नभेटिएको स्वीकार्दै कर्मचारीलाई स्पष्टीकरण र म्यानपावर कम्पनीमा छापा मार्न लगाएको बताए । आरोपित कर्मचारीहरु विभागमै काम गरीरहेका छन् ।

'अहिले नै हामीले को को संलग्न छन् भन्न सक्दैनौं, निर्देशक सहित १८ कर्मचारीलाई स्पष्टीकरण सोधेका छौं' महानिर्देशक भट्टराईले भने,'म्यानपावर कम्पनीमा छापा मार्न र स्वीकृत दिएका कामदारको एयरपोर्ट ब्लक ढरोक्न) गर्न भनेका छौं ।' स्वीकृत दिएका लगभग सबै कामदारलाई म्यानपावर कम्पनीले उठाईसकेको समेत विभागको आशंका छ ।

विभागका अनुसार आलमदेवीले कतारको अल खोर्बी प्रोजेक्ट्स र किट्स इम्प्वाईमेण्टले युएईको अबुधावीस्थित युनाईटेड सर्भिसेज ग्रुपको लागि कामदार पठाउने भनेर पुर्वस्वीकृत निकालेका थिए । आलमदेवीले अशोज १८ गते १ सय ८० कामदार र किड्सले भदौ ४ गते ७५ कामदारको पूर्वी स्वीकृत निकालेर त्यसै मध्ये कर्मचारीलाई घूस खुवाएर व्यक्तिगत रुपमा कामदार पठाउन अन्तिम स्वीकृत मिलाएका हुन् । आलमदेवीले पुष २८ र किस्ट्सले माघ ३ मा अन्तिम स्वीकृत लिएका थिए ।

सरकारले व्यक्तिगत रुपमा जाने कामदार बढी पीडित भनेको भन्दै  परिवारका सदस्य बाहेकले भीसा पठाउन नपाईने भनेर कडाई गर्दै आएको छ । परिवारका सदस्य बाहेक व्यक्तिगत रुपमा आएका भीसालाई व्यवसायीले कर्मचारीसँग मिलेर संस्थागत नाम पारेर पठाउने गरेका छन् ।

वैदेशिक रोजगार व्यवसायी संघले घटनाको बारे आफुहरुलाई पनि खवर आएको छ भन्दै गलत गर्नेलाई बचाउन नलाग्ने बताएको छ । 'गलत गर्नेलाई जोगाउँदैनौं, कारवाही गरेहुन्छ, सबैलाई मुछ्नु हुन्न' संघका अध्यक्ष बलबहादुर तामाङले भने । केही व्यवसायीले विभागका घुस दिएर जे जस्तो फाईल पनि तत्कालै सदर हुने र नदिए हप्तौं झुलाई दिने गरेको आरोप लगाएका छन् ।

म्यानपावरको धन्दामा ट्राभल एजेन्सी

वैदेशिक रोजगार विभाग आसपास ट्राभल एजेन्सीको नाममा म्यानपावर व्यवसाय गर्ने पनौती- १ काभे्र निवासी पर्वत श्रेष्ठ पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले परी एक्सप्रेस ट्राभल एण्ड टुर्सका प्रबन्ध निर्देशक ३३ वर्षीय श्रेष्ठलाई विभिन्न म्यानपावर कम्पनीले लिएका पुर्व र अन्तिम स्वीकृतिका फाईल, १ सय ७५ थान राहदानी, कुवेत र युउईको भीसा, श्रम स्टीकर सहित पक्रेर आईतवार विभागमा बुझाएको छ । हाल बाल्कोट- ३, भक्तपुरमा बसाई रहेका ३३ वषर्ीय श्रेष्ठ बाणिज्यमा स्तातकोत्तर भएको प्रहरीले जनाएको छ ।

विभाग सुधार कार्यदल गठन

वैदेशिक रोजगार विभाग र अन्तर्गतको कार्यलाई चुस्त, स्वच्छ र गुनासो रहित बनाउने भन्दै श्रम तथा रोजगार मन्त्रालयले श्रम विभागका महानिर्देशक कृष्णहरी पुष्करको संयोजकत्वमा ६ सदस्यीले कार्यदल गठन गरेको छ । सात दिने म्याद दिएर शुक्रवार गठित कार्यदलमा सदस्य सचिव विभागका अधिकृत ज्ञाननाथ ढकाल, उपसचिव कमल भण्डारी, श्रम मन्त्रालयका उपसचिवहरु मधु विलास पण्डीत, पवनकुमार तिम्सिना र नारायण रिसाल छन् । कार्यदललाई विभाग सुधारको लागि ठोस सुझाव सहितको प्रतिवेदन पेश गर्ने जिम्मा दिईएको छ।

 

Published on: 29 January 2014 | Kantipur

Back to list

;