s

‘वैदेशिक रोजगारीमा भ्रम धेरै’

कान्तिपुर संवाददाता 

इलाम — वैदेशिक रोजगारीका कारण समाजमा चल्ने हल्ला वास्तविकताभन्दा फरक रहने गरेको सरोकारवालाहरूले बताएका छन् । इलाम नगरपालिका क्षेत्रमा वैदेशिक रोजगारीसम्बन्धीमा गरिएको अध्ययनअनुसार रोजगारीमा गएका विवाहित महिलाका श्रीमान्ले अर्को विवाह गर्ने क्रम धेरै देखिएको छ ।

सुरक्षित आप्रवासन परियोजनाले गरेको अध्ययनअनुसार विदेश गएका १ सय ३६ जना महिलामध्ये २६ जना अर्थात् १३ प्रतिशतका यहाँ रहेका पुरुषले अर्को विवाह गरेका छन् । तर विदेश गएका ८ सय ७९ जना विवाहित पुरुषमध्ये यहाँ रहेका २२ जना महिलाले मात्र अर्को विवाह गरेका छन् ।

‘यस्ता विभिन्न अध्ययनले समाजमा वास्तविकताभन्दा फरक प्रकृतिको हल्ला हुँदा सबैभन्दा धेरै वैदेशिक रोजगारीमा गएका व्यक्तिका श्रीमती समस्या पर्ने गरेका छन्,’ परियोजनाका कार्यक्रम अधिकृति रामुकमार कर्णले भने, ‘यस्तो भ्रम चिर्नको निम्ति सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ ।’ उनले सूचना प्रभाव गर्दा सञ्चारकर्मीले अरू बढी संवेदनशीलता अपनाउनुपर्नेमा जोड दिए ।

गलत प्रचारकै कारण वैदेशिक रोजगारीमा गएका श्रीमान्का श्रीमतीहरूले गम्भीर प्रकृतिको मानसिक समस्या भोग्नुदेखि आत्महत्यासम्म रोज्न बाध्य भएको सरोकारवालाको भनाइ थियो । श्रीमान् साथमा नहुँदा कामको बोझ बढ्ने त छँदै छ त्यसमाथि परिवार र समाजको अनर्गल शंकाको घेरामा महिलाहरू बस्नुपर्ने बाध्यता रहेको उनीहरूको तर्क छ । आप्रवासी कामदारको सकारात्मक फाइदा धेरै भए पनि नकारात्मक कुराहरू बाहिर आउने भएकाले सामाजिक समस्या आउने गरेको परियोजना संयोजक ईश्वरी तामाङले बताए ।

परियोजनाको अर्को अध्ययनअनुसार खाडी मुलुक जानकै लागि २ लाखभन्दा बढी रकम तिर्ने २ सय ४३ जना छन् । फ्री भिसा फ्री टिकटमा २१ जना मात्र गएको अध्ययनले देखाउँछ । ‘बिनाप्रमाण धेरै रकम दिएर विदेश जानको संख्या अहिलेसम्म घट्न सकेको छैन, ‘इलाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कालीबहादुर भुजेलले भने, ‘यसका लागि वैदेशिक रोजगारीमा जान चाहनेले नै बढी सजगता अपनाउनुपर्छ ।’ रोजगारीमा जानेले बढी रकम दिएर कम मूल्यको बिल लिने, प्रमाण नै नष्ट गर्नेजस्ता गतिविधि गर्नाले अन्याय पर्दा क्षतिपूर्ति लिनसमेत कठिन हुने गरेको पाइएको छ ।

इलाम, सूर्योदय, देउमाई नगरपालिका र माङसेबुड. गाउँपालिकामा सञ्चालित परियोजनाले वैदेशिक रोजगारीमा जानपूर्व लिनुपर्ने आवश्यक सूचना प्रदान गर्ने, सिप सिकेर मात्र विदेश जान सुझाउने, भरसक स्वदेशमा नै आयआर्जनको बाटो खोज्न प्रोत्साहित गर्नेसहित मनोसामाजिक परामर्श सेवासमेत दिँदै आएको छ ।

Published on: 1 February 2022 | Kantipur

Link

Back to list

;