s

वैदेशिक रोजगारमा 'अपरेसन डे पोगो’

वैदेशिक रोजगार विभागको काम चुस्त बनाई सेवाग्राहीलाई छिटोछरितो सेवा उपलब्ध गराउन बुधबारदेखि 'अपरेसन डे पोगो' सुरु गरिएको छ । 

विभागका नवनियुक्त महानिर्देशक कृष्णहरि पुष्करले उक्त अपरेसन सुरु गरेका हुन् । १५ दिनभित्र सुधार ल्याउने उदेश्यले सुरु गरेको उक्त अपरेसनबाट ७ दिनभित्र परिवर्तनको अनुभूति दिलाउन नसके सहसचिव पदबाटै राजीनामा दिने घोषणा पनि पुष्करले गरेका छन् ।

'विभागमा भएजति कमीकमजोरी न्यूनीकरण गर्न आज -बुधबार) देखि अपरेसन डे पोगो सुरु गरेको हुँ,' पुष्करले भने, 'एक साताभित्र सुधार नआए निजामती सेवामै बस्दिनँ, सहसचिव पदबाट राजीनामा दिन्छु ।' उनले अपरेसन डे पोगोअन्तर्गत बिहान ७ बजेदेखि ८ बजेसम्म कार्यालय खोलेर व्यक्तिगत स्वीकृति, लिगलाइजेसन र रि-इन्ट्री सेवा दिने बताए । 'विभागको मलेसिया, साउदी, कतार र काठमाडौं शाखाबाटै पूर्वस्वीकृति र अन्तिम स्वीकृति दिने व्यवस्था गरेको छु,' उनले भने, 'अब सेवाग्राही पूर्वस्वीकृति र अन्तिम स्वीकृतिका लागि कोठाकोठा चहार्नु पर्दैन । यसअघि पूर्वस्वीकृति र अन्तिम स्वीकृतिका लागि २२ ठाउँसम्म चहार्नुपर्ने गुनासो थियो । अन्तिम स्वीकृति विभागका महानिर्देशकले नै दिने गरेका थिए । 'अब एक ठाउँबाट शाखा अधिकृतबाटै काम हुन्छ,' उनले भने ।

त्यस्तै पुष्करले सेवाग्राहीको गुनासो २४ सै घन्टा सुन्ने व्यवस्था पनि गरेको बताए । 'विभागको काम कारबाहीबारे सेवाग्राहीको गुनासो र उजुरी २४ सै घन्टा सुन्ने व्यवस्था गरको छु,' उनले भने । उनले उजुरी विभागको महानिर्देशक, सूचना अधिकारी, प्रवक्तालाई फेसबुक, इमेल र एसएमसएमार्फत गर्न सकिने बताए । 'उजुरी गर्न सजिलोका लागि मैले फेसबुकमा प्रवक्ता बद्री कार्कीजीको मोबाइल नम्बरसमेत राखिदिएको छु,' उनले भने । उनले त्यसका लागि 'र्‍यापिड एक्सन टास्क फोर्स' गठन गरेको जानकारी पनि दिए । यो टास्क फोर्सले विभागमा हुने गरेको चलखेल, ठगि र अन्य अवैधानिक गतिविधि छानबिन गर्न सुरु गरेको पनि बताए ।

 उनले सेवा छिटो प्रवाह गर्न 'वान म्यान सेट क्लियरेन्स' र 'सेटिङ ब्रेकर' को व्यवस्था मिलाएको जानकारी पनि दिए । 'वान म्यान सेट क्लियरेन्स अन्तर्गत सेवाग्राहीले सम्पूर्ण सेवा एउटै डेस्कबाट प्राप्त गर्नेछन्,' उनले भने, 'सेटिङ बे्रकर भनेको कर्मचारीको खटनपटन र परिचालन आकस्मिक रूपमा गर्ने व्यवस्था हो । कार्यालय आएपछि नै कर्मचारीले कुन दिन कुन शाखामा काम गर्ने भन्ने जानकारी पाउनेछन् ।' यसबाट सेटिङ मिलाएर सेवाग्राही ठग्ने काम निरुत्साहित हुने अपेक्षासमेत गरिएको छ । टास्क फोर्सका संयोजक महानिर्देशक पुष्कर आफैं छन् । उनले आफैं छानबिन गरी दोषीलाई ठाउँका ठाउँ कारबाही गर्ने बताए । 

उनले विभागको काम कारबाही चुस्त राख्न सरोकारवाला संघसंस्था र अधिकारकर्मीहरूको ५० जनाको टोली निरीक्षणमा राख्ने निर्णय गरेको पनि बताए । उनीहरूको उजुरी र सुझावका आधारमा विभागको काम चुस्त राख्ने पुष्करको भनाइ छ । उनले बुधबार मुख्य सचिव लीलामणि पौडेलको अध्यक्षतामा बसेको सरकारको केन्द्रीय अनुगमन समितिको बैठकमा विभागले सुरु गरेको सुधारका कामबारे बि्रफिङ पनि गरिसकेका छन् ।

 Published on: 13 February 2014 | Kantipur

Back to list

;