s

वैदेशिक रोजगारको सामाजिक लागत

सिर्जना तिवारी

विश्वका धेरैजसो युवाको पहिलो रोजाइ नै वैदेशिक रोजगार हुनपुगेको छ । केही रहर-रहरैमा त केही बाध्यतावश रोजगारका लागि विदेशिएका छन् । नेपालको अर्थतन्त्र विगतको आन्तरिक द्वन्द्वका कारण जर्जर बनेको अवस्थामा न नयाँ उद्योगहरू स्थापना हुनसकेका छन्, नत स्थापित उद्योगको आधुनिकीकरण नै हुनसकेको छ । भएका पुराना उद्योगहरू पनि विस्तारै विस्थापित हुँदै गइरहेका छन् । प्रतिवर्ष बजारमा आउने ४ लाख श्रमशक्तिलाई सरकारले रोजगारी दिन नसकेको अवस्थामा रोजगारीको एकमात्र विकल्पको रूपमा वैदेशिक रोजगार अगाडि आएको छ ।

वैदेशिक रोजगारबाट राष्ट्रलाई फाइदा र बेफाइदा दुवै भएको छ । हालको नेपालको अर्थतन्त्र विप्रेषणमा आधारित अर्थतन्त्र हो भन्दा कुनै फरक नपर्ला । राष्ट्रिय जनगणना २०६८ अनुसार ५६ लाख ५९ हजार परिवार रहेको छ । तीमध्ये ५६ प्रतिशत परिवारले विप्ा्रेषण पाउने गरेका छन् । यसबाट यो थाहा हुन्छ कि प्रत्येक दोस्रो घरका कुनै न कुनै सदस्य रोजगारीको सिलसिलामा विदेशिएको देखिन्छ । अर्थशास्त्रीहरूका अनुसार हाल नेपालीहरूको आम्दानी र खर्च गर्ने प्रवृत्ति दुवै बढ्दै गइरहेको छ । विप्रेषणबाट आउने रकममा कमी हुने वित्तिकै समस्या आउने देखिन्छ । अझ भनौ भने विप्रेषण आप्रवाहको धारा कारणवश बन्द भएमा सिङ्गो नेपालको अर्थतन्त्र तत्कालै डामाडोल हुनसक्छ ।

मनपरेको खाना खान रेष्टुरेन्ट जाने, मनपरेको पहिरन लगाउने, परिवारसहित घुम्न जाने, ब्रान्डेड सामग्रीहरू किन्न्ो प्रवृत्ति बढिरहेको छ । त्यसैगरी छोराछोरी पढाउने बहानामा पहाडबाट तराई र तराईको पनि गाउँबाट सहरमा कोठा भाडामा लिएर बस्ने प्रचलन बढ्दैछ । विप्रेषणबाट प्राप्त रकममध्ये धेरैजसो रकम उपभोगमा खर्च भएको तथ्य विभिन्न्ा पत्रपत्रिकामार्फत सार्वजनिक भइरहेको छ । गाउँघर एवं समाजमा अरुको देखासिकी गर्ने प्रवृत्ति बढिरहेको छ । तँभन्दा म के कम भन्ने होडबाजी नै चलेको छ । चुलोचौकामा मात्र सीमित नेपाली महिला आज आर्थिक योगदानकर्ताका रूपमा घरको चार दिवारलाई नाघेर वैदेशिक रोजगारका लागि खाडी मुलुक लगायत अन्य मुलुकमा जाने क्रम बढिरहेको छ । हिजो एक्लै छोरी-बुहारीलाई घरबाहिर नपठाउने घरमूली आज छोरी र बुहारी विदेश छन् भन्न कत्ति पनि हिच्किचाउँदैनन् । गाउँघरमा पनि मकै, भटमास, रोटी खाजाको रूपमा खाने प्रचलन हराइसकेको छ । यसको बदलामा मम, चाउचाउ, पाउरोटी, बिस्कुट, बर्गरजस्ता तयारी खाना खाने प्रचलन बढिरहेको छ । यसले गर्दा केही समयपछि सरकारले स्वास्थ्य क्षेत्रमा ठूलै रकम लगानी गर्नुपर्ने देखिन्छ ।

अहिलेको तथ्यांकअनुसार वर्षेनि श्रम बजारमा आउने लगभग पुरै जनशक्ति वैदेशिक रोजगारका लागि बाहिरिने गरेको देखिन्छ । मुलुकभित्र आएको पैसाले मात्र देशको विकास सम्भव छ ? यसतर्फ सोच्नुपर्ने समय आइसकेको छ । गाउँघरमा मान्छे मर्दा मलामी जाने मानिससमेत नभेटिने अवस्था सिर्जना भएको छ । गाउँघरमा केटाकेटी र बूढाबूढीमात्रै देखिन्छन् । सक्रिय श्रमशक्तिको पलायन भइरहेको छ । कसैका श्रीमान विदेशिएका छन् त कसैका श्रीमती विदेशिएका छन् र कतिपय घरका श्रीमान र श्रीमती नै विदेशिएका छन् । धेरैजसो घरमा अशक्त वृद्घ बाबुआमा र केटाकेटीमात्र भेटिन्छन् । स्वदेशमा बस्नेले पनि विदेशबाट दुःख गरी कमाएर पठाएको पैसा दुरुपयोग गरी मोजमस्तीमा उडाएका छन् । विवाहजस्तो पवित्र बन्धनको मान्यतामा परिवर्तन हुँदै गइरहेको छ । हाम्रा हजुरआमाले जस्तो बर्षौ श्रीमानलाई कुरेर बस्ने प्रचलन हराउँदै गइरहेको छ । श्रीमान-श्रीमती बीचको सानो कुराबाट भएको झगडाले उग्ररूप लिई सम्बन्धविच्छेद भई पारिवारिक विखण्डनसमेत भइरहेको छ ।

एकपटक विदेशबाट फर्किएपछि फेरि विदेशै जाने र नेपाल बस्न नचाहने प्रवृत्ति बढिरहेको छ,चाहे ती विवाहित हुन् वा अविवाहित हुन् । बाबु र आमा दुवै विदेशिएका बच्चाहरू गलत संगतमा परी लागूपदार्थको कुलतमा फसेका छन् । बाबु र आमाको न्यानो काख एवं मायाको अभावमा कलिला बच्चाहरू रुखो र उद्दण्ड बन्दै गएका छन् । बच्चाहरूले घरबाट प्राप्त गर्ने नैतिक शिक्षासमेत पाउन सकिरहेका छैनन् । यस्ता भविष्यका कर्णधारहरू बारेमा समयमै सोचिएन भने राष्ट्रले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ । तसर्थ वैदेशिक रोजगारले ल्याएको सामाजिक विचलन वा सामाजिक लागतको विषयमा अध्ययन, अनुसन्धान, विश्लेषण एवं बहस चलाउनुपर्ने समय आइसकेको छ ।

Published on: 18 July 2013 | Kantipur

Back to list

;