s

वैदेशिक रोजगारको मागपत्र प्रमाणीकरण अब अनलाइनबाटै

२४ जेठ, काठमाडौं । विदेशबाट श्रमिकको माग ल्याउँदा वैदेशिक रोजगार व्यवसायीले गराउनुपर्ने मागपत्र प्रमाणीकरणको काम अनलाइनबाटै हुने भएको छ । विदेशस्थित नेपाली नियोगहरूबाट रोजगारदाता कम्पनीहरूले गर्नुपर्ने वैदेशिक रोजगार सम्बन्धी मागपत्र प्रमाणीकरणको प्रकृयालाई सरल, सहज र प्रविधिमैत्री तुल्याउन भन्दै यस्तो सेवा सुरु भएको हो ।

सुशासन तथा ई–गभर्नेन्सको अवधारणा अनुरुप अत्याधुनिक सूचना प्रविधिको प्रयोग गर्ने गरी अनलाइन प्रणाली सुरु गरिएको हो । काठमाडौंमा एक कार्यक्रमबीच उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालको उपस्थितिमा पहिलोपटक अबुधाबीस्थित नेपाली राजदूतावासमार्फत सेवा शुभारम्भ गरे ।

कन्सुलर सेवा विभाग काठमाडौंमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले कन्सुलर सेवा विभागले निर्माण गरेको अनलाइन प्रणालीलाई वैदेशिक रोजगार विभागको वैदेशिक रोजगार सूचना प्रणालीसँग पनि अन्तरआवद्ध गरिएको बताए ।

अब मागपत्र प्रमाणीकरण र श्रम स्वीकृति सम्बन्धी काम एउटै प्रणालीबाट सम्पन्न हुने उनले बताए । यो नयाँ व्यवस्थाबाट दूतावासहरूमा हुने भीडभाड कम भई कार्यचाप कम हुने, विचौलिया निरुत्साहित हुने, कम्पनीहरूको बारेका दूतावासमा डिजिटल रेकर्ड रहने र त्यसले दूतावासबाट कामदार मागपत्र प्रमाणीकरण गराएर लगिएका कामदारहरूलाई समस्या परेमा मतत गर्न सघाउ पुग्ने बताए ।

श्रममन्त्री अर्यालले वैदेशिक रोजगारीलाई थप व्यवस्थित र मर्यादित बनाउने काममा मन्त्रालयले गम्भिरतापूर्वक अध्ययन गरिरहेको र नयाँ प्रणालीको सुरुवातसँगै परराष्ट्र मन्त्रालयसँग समन्वय गर्दै वैदेशिक रोजगारीका क्षेत्रमा सुधारका कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउँदै लैजाने वातावरण बनेको बताए ।

यो प्रणालीको प्रयोगले रोजगारदाता कम्पनी तथा नियोगको काम पारदर्शी, सहज र कागजरहित हुनुका साथै सेवाग्राहीहरूले समेत लाभ प्राप्त गर्ने र रोजगारदाताहरूले गर्दै आएको प्रकृया सम्बन्धी गुनासोको पनि समाधान हुने अपेक्षा गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यस्तो प्रणाली अन्य नियोगहरूमार्फत पनि छिट्टै क्रमिक रुपमा उपलब्ध गराउँदै लगिने कन्सुरलर सेवा विभागले जनाएको छ ।

Published on: 7 June 2024 | Onlinekhabar

Link

Back to list

;