s

वैदेशिक रोजगारीका अव्यक्त पीडा

साधना प्रतीक्षा

अहिले विदेश जानेको संख्या दिनानुदिन बढ्दो छ । परराष्ट्र मन्त्रालयमा राहदानी बनाउनका लागि होस् वा प्रहरी रिपोर्ट लिनका लागि होस्, लाम लागेका युवाहरूको उपस्थितिले यस कुराको पुष्टि गरेको छ । अहिले दुई किसिमले युवाहरू विदेशिने गरेको देखिन्छ- पहिलो उच्चशिक्षाका लागि जाने र दोस्रो रोजगारीका लागि जाने । उच्चशिक्षाका लागि जानेहरूको त्यति समस्या देखिँदैन, किनभने पढ्न जाने भर्खरका युवाहरू विवाहयोग्य हुँदासम्म र्फकनेहरू फर्किहाल्छन्, नर्फकनेहरूले उतै आफ्नो जोडा मिलाइसक्छन् । माथिल्लो तहमा अध्ययनका लागि जानेहरू तथा केही मुलुकमा राम्रो रोजगारी पाउनेहरूले परिवार पनि साथै लैजाने सुविधा पाएका हुन्छन्, तर सामान्य रोजगारीको अवसर पाएर जानेहरूसँग यस्तो सुविधा हुँदैन । हाम्रोजस्तो गरिब देश जसको आर्थिक निर्भरता रेमिट्यान्समा धेरै हदसम्म रहेको छ । वैदेशिक रोजगारीको विकल्प देखिदँदैन र पनि यसभित्रका पीडा र विकृतिप्रति पनि आँखा चिम्लने अवस्था छैन।

वैदेशिक रोजगारीले हाम्रो समाजमा भित्रभित्रै विकराल सामाजिक समस्या र विकृतिको रूप लिँदैछ । आमाबाबु दुबै विदेश गएका छोराछोरीले खपेका दुःख, आमा विदेशमा हुँदा बाबुद्वारा आफ्नै छोरीको बलात्कार तथा सन्तानको हत्या, बाबु विदेश हुनाले आमाले छोराछोरी छाडेर अर्कासँग गएको आदि घटना देखेका वा पढिरहेका छौँ । यी सामाजिक अपराध हुन् । यसको कारण पहिल्याउनु आजको आवश्यकता हो । वैदेशिक रोजगारीमा जानलागेको छोराका लागि होस् वा विदेशमा काम गर्दागर्दै छुट्टीमा आएको छोराका लागि होस्, बिहे गर्न हतारमा केटी खोजिन्छ, अनि हतारमै बिहे भैहाल्छ । विदेशमा डलर कमाउने केटो पाएपछि छोरी नदिने कुरै भएन । राजीखुसीमा बिहे सम्पन्न हुन्छ । दुई-चार दिन बेहुला-बेहुली सुखानुभूति गर्छन्, परिवार मख्ख पर्छ । तर कसैले कल्पना गर्नसकेको हुँदैन, त्यो क्षणिक उज्यालोपछिको अन्धकार....। त्यही अन्धकार पक्षले भुसको आगोझंै भित्रभित्रै सल्केर विशेषगरी ग्रामीण क्षेत्रका कैयौँ परिवारका सपनामा डढेलो लगाइसकेको छ । तर पनि यस्तो गम्भीर समस्याबारे खुलेर बहस भएको देखिँदैन । 'तैँ चुप मैँ चुप'को अवस्था देखिन्छ । यथार्थमा अब यस्ता समस्या प्रकाशमा आउनुपर्छ, अनि कुण्ठाले सिर्जिएको यस्तो सामाजिक समस्याले निकास पाउनुपर्छ ।

बीसदेखि पच्चीस वर्षको केटोले बिहे गर्छ, अठार-बीसकी केटीसँग । केटीको नारीसुलभ प्रकृति पुरुषमा सम्मिलित भएर पूर्णतातिर उन्मुख हुन्छ । तर त्यो क्षणिकमात्र । पति लाग्छ विदेश केही वर्षपछि र्फकने योजना बनाउँदै । पत्नी आफूभित्र जुर्मुराएका स्वाभाविक जैविक चाहनाहरू पोको पारेर सकेसम्म प्रयत्न गर्छे, सच्चरित्रवान स्त्री बन्ने । उसको घरमा जवान ससुरो, जेठाजू, देवर हुन्छन् । छरछिमेकमा पनि यस्तै जवान पुरुषहरूको कमी हुँदैन । एउटी जवान युवतीले चाहेर पनि आफ्नो यौवनजन्य शरीर विकास तथा अनुुहारको लालिमा लुकाउन सक्दिन । एकातिर विवाहपश्चात् उसलाई पतिसुखको अनुभूतिले सताइरहेको हुन्छ, नचाहँदा-नचाहँदै पनि उसले प्रत्येक जवान पुरुषमा आफ्नो पतिको प्रतिविम्ब देख्न थाल्छे भने अर्कातिर उसको परिवार तथा परिवेशका पुरुषहरूको नजर उसको यौवन अवस्थाबाट टाढिनसकेका हुँदैनन् । किनकि घुम्टो हालेर बस्ने चलन त रहेन अब हाम्रो समाजमा । यहाँनेर एक प्रकारको द्वन्द्वात्मक अवस्थाको सिर्जना हुन्छ । युवती फोन वा इन्टरनेटका माध्यमबाट पतिको नजिक पनि हुन्छे, तर त्यो सामिप्यले उसको भौतिक शरीर तथा जैविक इच्छाहरूको तुष्टि हुनसक्दैन । बरु ती चाहनाहरूको आगोमा घिउ थपिदिने काम गर्छ । ऊ भित्रको अचेतन अवस्था कुनै पनि पुरुषको स्पर्श तथा हेराइको प्रतिकार गर्न सक्षम रहँदैन । यसरी सुरुवात हुन्छ, परिवारभित्रै अनैतिक सम्बन्ध । सम्बन्धित दुबै पक्ष एकअर्काको परिपूरक बन्ने हुनाले यस्तो सम्बन्ध अति गोप्य रहन्छ । यही गोपनीयताका कारण परिवारभित्रको त्यस्तो सम्बन्धले युवतीका चाहनाको पूर्णरूपले पूर्ति गर्न सक्दैन, बरु त्यो चाहनालाई अझै तीव्र बनाउने गर्छ । वासनात्मक आवेगमा मान्छेले चेतना गुमाउने गर्छ । नैतिक मूल्य-मान्यता र सामाजिक मर्यादाले त्यो अवस्थामा कुनै स्थान पाउन सक्दैन । फलतः युवती बाहिरका अन्य व्यक्तिका माध्यमले आफ्ना आवश्यकता पूरा गर्न थाल्छे । गोपनीयताकै लागि उसले प्रशस्त खर्चसमेत गर्न पछि पर्दिन । परिवारले शंका गरे पनि उसलाई नियन्त्रण गर्नसक्ने अवस्था रहँदैन । पूर्वीय काव्यशास्त्रीहरूका अनुसार, मानव हृदयमा रहेका रति आदि स्थायी भावहरू उपयुक्त अनुभावहरूको संयोगबाट रसनिष्पत्तिको अवस्थामा पुग्छन् । पति वियोगमा उसैको कल्पनामा डुबेकी जवान युवतीलाई उसको वरिपरिका पुरुषको व्यवहारले उद्दिपन गराइदिन्छन् । अतः ऊभित्रको रतिभाव शृङगार रसका रूपमा निष्पन्न नभइरहन सक्दैन । पश्चिमी मनोवैज्ञानिक प|mायडका अनुसार, मानिसको अवचेतनमा दबिएर रहेका कुण्ठाहरू उपयुक्त वातावरण पाउनासाथै जुर्मुराउन थाल्छन् । त्यसैले युवती एक्लै दोषी नभएर उसको परिवेश दोषको समान भागिदार देखिन्छ । पुरुष सुखको अनुभव नभएकी युवती विवाहपश्चात् केही समय त्यो सुखको चरम अवस्थामा रहेर एकाएक त्यो सुखबाट वर्षौसम्म टाढिएर बस्नु त्यो पनि आफ्नो वरिपरि जवान पुरुषहरू तथा उनीहरूको कटाक्षको सामना गरेर । पूर्ण सात्विक भावका केहीमा बाहेक त्यो क्षमता पाउन सकिँदैन । विश्वामित्र जस्ता योगीको तपस्या त मेनकाजस्ती अप्सराका सामुन्ने टिक्न सकेन भने....।

विदेशिएको युवक फर्केर आउँदा उसले एकातिर आफ्नो बल, जवानी तथा समर्थ आयु विदेशमै सकेर आएको हुन्छ भने यता आफूले रगत-पसिना बेचेर पठाएको सम्पत्तिको दुरुपयोगमात्र नभई श्रीमतीसमेत अर्कैकी भैसकेको अवस्था पनि देखिन्छ । ग्रामीण क्षेत्रमा गर्भपतनका घटना बढ्नुका साथै गर्भपतन गराइदिनेहरू मालामाल हुने गरेका घटना प्रशस्त देखिएका हुन्छन् । यो एउटा सामाजिक विकृति हो । विदेश जानलागेको छोरालाई हतारमा बिहे गराइदिने गल्ती तथा त्यो बुहारी (नारी) लाई मौका पाए उपभोग गरिहाल्ने वस्तु ठान्ने पुरुष प्रवृत्ति दुबै यसका कारक तत्त्व हुन् । व्यक्तिगत कमजोरीका कारण उत्पन्न हुने यस्ता समस्याले समाजमा भित्रभित्रै गम्भीर समस्याको रूप लिने गर्छन् ।

वैदेशिक रोजगारीको विकल्प हाम्रोजस्तो राष्ट्रले दिनसक्ने अवस्था नभए पनि सम्बन्धित परिवारले यस्ता आन्तरिक पक्षमा सचेतता देखाउने हो भने यसबाट सिर्जना हुने विकृति र विसङ्गति तथा पारिवारिक दुर्घटना न्यून हुनसक्छन् । विवाह भनेको त्यस्तो सामाजिक संस्था हो, जसले समाजको निर्माण गर्छ । यहाँ नारी र पुरुष एकअर्काका प्रतिद्वन्द्वी नभएर परिपूरकका रूपमा रहेका हुन्छन्।

Published on: 4 April 2013 | Kantipur

Back to list

;