s

वैदेशिक रोजगारीसम्बन्धी विज्ञापन वेबसाइटमा राख्नुपर्ने

काठमाडौँ, फागुन २० गते । वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीले वैदेशिक रोजगारीसम्बन्धी विज्ञापन दैनिक पत्रिकामा प्रकाशन गरेपछि आफ्नो वेबसाइटमा पनि अनिवार्य राख्नुपर्ने व्यवस्था गरिएको छ ।

वैदेशिक रोजगार विभागले यसअघि म्यानपावर कम्पनीले रोजगारीसम्बन्धी विज्ञापन राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गरे मात्रै हुनेमा अब भने आफ्नो वेबसाइटमा अनिवार्य राख्नुपर्ने व्यवस्था गरेको हो । विभागले सूचना प्रकाशित गर्दै व्यवस्थाबारे जानकारी गराएको छ । विभागका अनुसार इजाजत प्राप्त संस्थाबाट हुने वैदेशिक रोजगारसम्बन्धी विज्ञापन ‘अटोअप्रुभ’ हुने व्यवस्था गरिएको छ ।

अब इजाजत प्राप्त संस्थाले विभागबाट स्वीकृतिबमोजिमको विज्ञापनको पहिलो पटकको हकमा राष्ट्रिय दैनिक र त्यसपछिको विज्ञापन आआफ्नो संस्थाको वेबसाइटमा अनिवार्य राख्नुपर्ने भएको छ । यस कामको नियमित अनुगमनसमेत हुने भएको छ । त्यसो गरेको नपाइएमा कारबाही गर्ने चेतावनीसमेत विभागले दिएको छ ।

उन्नाइस राहदानी बरामद

यसैबीच एसिया पावर रिक्रुटमेन्ट सोलुसन प्रालि नामको (म्यानपावर) कम्पनीले सरकारसँग अनुमति नलिईकन हेभी ड्राइभरको काममा साउदी अरब पठाउने भन्दै दुई सय जनाभन्दा बढीसँग अन्तर्वार्ता लिइरहेको पाइएको छ ।

वैदेशिक रोजगार विभागको अनुगमन टोलीले आकस्मिक रूपमा अनुगमन गर्दा उक्त म्यानपावर कम्पनीले विभागसँग अनुमति नलिई साउदी अरबका लागि हेभी ड्राइभर पदका लागि छनोट गर्न अन्तर्वार्ता लिएको पाइएको हो ।

विभागका अनुसार सम्बन्धित देशको दूतावासले मागपत्र पठाएपछि राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशित गरेका मागको विभागसँग पूर्वस्वीकृति लिएर मात्रै श्रमिकसँग अन्तर्वार्ता लिन पाउने व्यवस्था छ तर उक्त म्यानपावर कम्पनीले भने स्वीकृत नै नलिईकन साउदी अरबको अर्चिरोडोन कम्पनीमा पठाउने भन्दै अन्तर्वार्ता लिइरहेको पाइएको विभागले जनाएको छ ।

विभागबाट खटिएको टोलीले अनुगमनका क्रममा म्यानपावर कम्पनीले दुई सय युवासँग अन्तर्वार्ता लिइरहेको पाइएको जनाएको छ । अनुगमनका क्रममा यो काममा पठाउन कुनै स्वीकृति नै नलिएको पाइएपछि विभागले अन्तर्वार्ता रोकेर १९ वटा राहदानी बरामद गरेको छ । म्यानपावरले कुन आधारमा के कसरी अन्तर्वार्ता गरेको हो भन्ने सन्दर्भमा थप अनुसन्धान भइरहेको विभागले जनाएको छ ।

Published on: 7 March 2023 | Gorkhapatra

Link

Back to list

;