s

वैदेशिक रोजगारमाथिको प्रतिबन्ध हटाउन अमेरिका–बेलायतको लबिङ

रोजगारीको लागि अफगानिस्तान जान सरकारको प्रतिबन्ध
 
होम कार्की
 
वैदेशिक रोजगारमा अफगानिस्तान जान सरकारले लगाएको प्रतिबन्ध हटाउन अमेरिका र बेलायतले लबिङ थालेका छन् ।
 
काठमाडौंस्थित अमेरिकी राजदूत एलिना बी टेपलिज र बेलायती राजदूत रिचार्ड मोरिजले श्रममन्त्री सूर्यमान गुरुङलाई छुट्टाछुट्टै भेट गरी अफगानिस्तानमाथि लगाएको प्रतिबन्धबारे चासो व्यक्त गरेका छन् । उनीहरूले श्रममन्त्री नियुक्त हुनुअघि श्रमसचिव विष्णुप्रसाद लम्सालसमक्षसमेत यसबारे जिज्ञासा राखेका थिए ।
 
गत असार ६ मा काबुल विस्फोटमा परी १३ नेपालीको ज्यान गएपछि सरकारले अफगानिस्तान जान प्रतिबन्ध लगाएको थियो । सरकारद्वारा गठित उच्चस्तरीय अध्ययन टोलीले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष प्रतिवेदन बुझाएपछि भने अमेरिका र बेलायतले प्रतिबन्ध हटाउन आग्रह गरेका थिए ।
 
अमेरिकी राजदूतले नेपालले प्रतिबन्ध नहटाए आफूहरूले अर्को देशका कामदार आपूर्ति गर्नुपर्ने भन्दै श्रममन्त्रीको ध्यानाकर्षण गराएकी थिइन् । ‘हाम्रो अफगानिस्तानस्थित कूटनीतिक नियोगमा कार्यरत नेपाली सुरक्षागार्डको करार अवधि सकिएपछि फर्किन्छन् । त्यसपछि रिक्त स्थानमा नयाँ राख्नुपर्छ,’ बुधबारको भेटमा अमेरिकी राजदूतले श्रममन्त्रीसमक्ष भनिन्, ‘नेपालले प्रतिबन्ध फुकुवा गर्न के गर्दैछ ?’  
 
बेलायती राजदूतले नेपाल र बेलायतबीच बलियो कूटनीतिक सम्बन्ध रहेको बताउँदै अफगानिस्तानस्थित माथि लगाएको प्रतिबन्ध हटाउन सुझाव दिए । ‘अफगानिस्तानमाथि लगाएको प्रतिबन्धको सन्दर्भमा नेपालको सोचाइ के छ ?’ बिहीबारको भेटमा मन्त्रीसमक्ष भने, ‘हाम्रा दूतावासमा नेपाली कार्यरत छन् । उनीहरूको कामबाट हामी सन्तुष्ट छौं ।’
 
श्रममन्त्री गुरुङले अफगानिस्तानमाथि लगाएको प्रतिबन्ध दीर्घकालीन नभएको बताएका थिए । ‘हामीले कामदारको सुरक्षालाई विशेष ध्यान दिएका हौं,’ श्रममन्त्रीले दुवै राजदूतको जिज्ञासा मेटाउँदै भनेका थिए, ‘यसबारे स्थलगत रिपोर्ट तयार छ । त्यसबारे अध्ययन गरी हामी काम गर्नेछौं ।’ मन्त्री श्रेष्ठले मन्त्रिपरिषदबाटै निर्णय भएकाले खोल्ने निर्णय पनि मन्त्रिपरिषदबाटै हुने भन्दै आफुले अध्ययन गरी मन्त्रिपरिषदमा लैजाने जानकारी दिएका थिए ।  
 
उच्च स्तरीय समितिले प्रधानमन्त्री दाहाललाई बुझाएको प्रतिवेदन अनुसार अफगानिस्तानमा रहेको अमेरिकी दूतावासमा झन्डै ९ सय नेपाली सुरक्षागार्ड कार्यरत छन् । श्रम मन्त्रालयका सहसचिव आभा श्रेष्ठ कर्णको नेतृत्वमा बनेको स्थलगत अध्ययनले यसबारे दीर्घकालीन नीति लिनुपर्ने सुझाव दिएको थियो ।
 
श्रम मन्त्रालयले अब सर्तसहित खोल्ने तयारी गरेको छ । मन्त्रालयका एक अधिकारीका अनुसार अमेरिका र बेलायतसहित देशले कामदार लैजाँदा नेपालबाटै प्रक्रिया पूरा गर्नुपर्ने सर्त राख्ने तयारी गरेका छन् । प्रतिवेदनमा काम गर्नुपर्ने ठाउँमै बसोबासको व्यवस्था, तलबमा एकरूपता, बिमाको व्यवस्था लगायतका सुझाव छन् ।
 
अफगानिस्तानमा गत वैशाख मसान्तसम्म १२ सय १३ जनाले श्रमस्वीकृति लिएर गएको वैदेशिक रोजगार विभागले जनाएको छ । गैरकानुनी ढंगले पनि समेत नेपाली अफगानिस्तान जाने गर्दछन् ।
 
Published on: 2 September 2016 | Kantipur

Back to list

;