s

‘बैदेशिक रोजगारीमा गएका कामदारको सुरक्षा नै मेरो पहिलो प्राथमिकता’

प्रकाश ढुंगाना

नवनियुक्त श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकहरुको सुरक्षा आफ्नो पहिलो कार्ययोजनामा रहेको बताएका छन् ।

सेतोपाटीसँग कुरा गर्दै मन्त्री विष्टले वैदेशिक रोजगारीमा गएका नेपालीहरुको सुरक्षाका सन्दर्भमा प्रभावकारी भुमिका आफू नेतृत्वको मन्त्रालयले खेल्ने बताए।
 
‘वैदेशिक रोजगारीमा विभिन्न देशमा गएका नेपालीहरु समस्यामा छन्, उनीहरुले सुरक्षाको प्रत्याभुति गर्न सकिरहेका छैनन्,’ मन्त्री विष्टले भने ।
 
श्रमिकहरुको समस्या समाधानका लागि कानुनलाई प्रभावकारी ढंगले कार्यान्वयन गरिने प्रतिबद्धता पनि उनले जनाएका छन् ।कानुन कार्यान्वयनका क्रममा संशोधन गर्नुपरे त्यसलाई पनि गर्न आफूले पहल गर्ने मन्त्री विष्टले सुनाए।
 
अहिले नेपालबाट वैदेशिक रोजगारका लागि अदक्ष जनशक्ति गइरहेको सन्दर्भमा मन्त्री विष्टले भने, ‘दक्ष जनशक्ति उत्पादन गर्न पनि के गर्न सकिन्छ, त्यता पनि मेरो ध्यान रहन्छ।’
 
रोजगारीका अवसरहरु व्यबस्थित गर्नका लागि केहीदिनभित्रै आफूले कार्ययोजना बनाउने उनले सुनाए।वैदेशिक रोजगारमा देखिएका समस्यालाई सुधार गरेर अघि बढिने प्रतिबद्धता पनि उनले जनाए।
 
‘युवाहरुलाई रोजगारी सिर्जनामा जोड दिन्छु’ मन्त्री बिष्टले भने। फ्रि भिसा र टिकटका विषयमा मन्त्री विष्टले सबै पक्षसँग छलफल गर्ने र आफूले पनि यस विषयमा अध्ययन गरेपछि आवश्यक कदम चाल्ने बताए।
 
‘म अहिले फ्रि भिसा र टिकटमा मात्र केन्द्रीत रहन्न’ मन्त्री विष्टले भने, ‘समग्र रोजगारीका क्षेत्रका देखिएका समस्याहरु सल्टाउने प्रयत्न गर्नेछु ।’
 
नयाँ श्रम गन्तब्य खोज्नका लागि आफूले पहल गर्ने उनले बताएका छन् । शुक्रबार साँझ कार्यभार सम्हालेपछि मन्त्री विष्टले मन्त्रालयमा राती १० बजेसम्म बैठक डाँकेर वैदेशिक रोजगारमा देखिएका समस्या चाँडोभन्दा चाँडो सम्बोधन गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।
 
‘कुन कुन देशसँग श्रम संझौता भएको छ, ती देशमा कति नेपाली कामदार गएका छन्, कतिवटा देशसँग श्रम संझौता भएको छैन्, नभएका देशमा पनि कति नेपाली कामदार गएका छन् सबै विवरण तयार पार्न उनले श्रम मन्त्रालयका सचिवलाई निर्देशन दिएका छन् । उनले वैदेशिक रोजगारको क्षेत्रलाई निकै व्यवस्थित बनाउने उद्घोष पनि गरे।
 
Published on: 17 March 2018 | Setopati

Back to list

;