s

वैदेशिक रोजगारीमा ठगीधन्दा

देशमा चरम बेरोजगारी छ। युवा जति वैदेशिक रोजगारीमा जान लालायित छन्। दैनिक १५ सयको हाराहारीमा नेपाली युवा बिदेसिने तथ्यांक छ। विद्यार्थी भनेरै भए पनि वा अरू कुनै बहानामा युवाको बाध्यता छ। त्यही बाध्यताको फाइदा लुट्न पल्केकाहरू विभिन्न बहानामा युवालाई ठगिरहेका छन्। वैदेशिक रोजगारीमा लैजाने ठेक्का पाएकाहरूले नै पनि ठग्छन् र नपाएकाहरूले पनि विभिन्न बहानामा ठग्छन्। एउटा सुविधाको कुरा गरेर विदेश लगिहाल्ने र त्यहाँ पुगेपछि भनेअनुसारको सुविधा नदिने थुप्रै एजेन्सी छन्। नेपाली युवाको विवशताको फाइदा उठाउँदै जोखिमपूर्ण काममा लगाउने, थोरै पारिश्रमिक दिने र ज्यानै जाँदा पनि कुनै राहत र क्षतिपूर्ति नदिने कम्पनीहरू छन्। श्रम स्वीकृति नै भएका मुलुकमा पनि विभिन्न बहानामा युवालाई लगेर जोखिममा पार्नेहरू बग्रेल्ती छन्। यो सब देशमा रोजगारीको मौका उपलब्ध गराउन नसक्ने राज्य हुनुको कारण हो। युवालाई त बसी सुख न उठी सुख छ। देशमै बसे बेरोजगार, विदेश जान्छु भने पनि ठगी।

धेरै कमाइ हुने प्रलोभनमा परेर युरोप र अमेरिका छिर्न खोज्ने युवा त झनै सरासर ठगिएका छन्। झन् जंगलको बाटो, समुद्रको बाटो लगेर अलपत्रै पारिदिने, ज्यानै जोखिममा पारिदिने मानव तस्करको जालोमा नेपाली युवाले कष्ट भोग्नु परेको छ। युरोपका देशहरूले नेपाली श्रमिकलाई लिइहालेको देखिन्न। तर नेपाली युवाको विवशता बुझेकाहरू वर्किङ भिसाको प्रलोभन देखाउन छाड्दैनन्। युवाहरू फसिहाल्छन्। फ्रान्स, स्पेन, पोर्चुगललगायत देशमा लगिदिने भनेपछि ऋणधन गरेर नेपाली पनि लाखौं लाख तिर्न राजी बन्छन्। तिनै देशमा लगिदिने भनेर ठगेको आरोपमा जेनियस एजुकेसन एन्ड कन्सल्टेन्सीका सञ्चालक सुजन भट्टराईविरुद्ध राजस्व न्यायाधिकरणमा ठगी मुद्दा परेको छ। शिक्षाको काम गर्ने जस्तो देखिने संस्थाले रोजगारीका लागि युवालाई लोभ्याउनु आफैंमा गैरकानुनी काम हो। त्यसमाथि विदेशमा जागिर लगाइदिने भन्दै प्रतिव्यक्ति १७ लाख रुपैयाँ असुल्न हदैसम्मको ठगी हो। ठगहरूले २२ जनालाई २ करोड ८८ लाख ४१ हजार ७ सय रुपैयाँ ठगेको मुद्दा न्यायाधिकरणमा परेको छ।

कम्पनीको उद्देश्य छ वैदेशिक शिक्षामा जानेलाई परामर्श दिने। तर भन्छ कि विदेशमा जागिर लगाइदिन्छु। हाम्रा युवा पनि अति नै सोझा कि अर्कै उद्देश्य भएको कम्पनीको प्रलोभन पत्याइहाल्ने छ। यो युवा जगत्मा सचेतना अभावको परिणाम पनि हो। मर्नेले के गर्दैन भन्ने हिन्दी कहावत जस्तो अवस्था पनि छ। युवालाई रोजगारी चाहिएकै छ, उद्यमशीलताका लागि वातावरण छैन। कतिपय अवस्थामा यो मनोविज्ञान पनि हो। स्वदेशमा उद्यमशीलता फस्टाउन सक्छ भन्ने उदाहरण थुप्रै युवाले नै दिएका पनि छन्। तर सजिलोसँगै पैसा कमाउने लालच राख्दा पनि युवा फसेका छन्।

वैदेशिक रोजगारीमा जाँदा श्रम स्वीकृति नभएका देशमा जान हुन्न। वैदेशिक रोजगारीकै काम गर्न सरकारबाट अनुमति नपाएको कम्पनीको भर पर्नु हुँदैन। विदेशको कुनै कम्पनीले रोजगारी खुलाएको प्रमाण छ छैन भन्नेजस्ता सामान्य जानकारी चाहिँ युवा आफैंले राख्ने हो भने यस्ता ठगीबाट बच्न सक्थे। यसै पनि सरकारी अनुमति नभएको कम्पनीबाट जाँदा भोलि दुर्घटनामा परिए वा अप्ठ्यारोमा परे बिमालगायत सुविधा हुँदैन। आफू र परिवारलाई दुःख हुन्छ। यी सन्देश सरकारले छरेको पनि छ। तै युवाले चेतेका छैनन्। नचेत्नु एउटा कमजोरी हुँदै हो। सरकारले त्यसो भनेर सुख पाउँदैन। अझै सन्देश प्रवाह गर्नुपर्छ। ठगीधन्दा वैदेशिक रोजगारीमा जुन मौलाएको छ, त्यसको जालो च्यात्नुपर्छ। दीर्घकालका लागि त युवालाई स्वदेशमै रोजगारी र उद्यमी बनाउने वातावरण बनाउनुपर्छ।

Published on: 9 May 2022 | Annapurna Post

Link

Back to list

;