s

वैदेशिक रोजगारीमा ठगिँदै

सविता खड्का

पर्साकी गीता सापकोटा (नाम परिवर्तन) ‘वेटर भिजा’मा गत मंसिरको पहिलो साता २५ हजार रूपैयाँ तिरेर कुवेत उडिन्। दिल्ली हुँदै कुवेतको विमानस्थलमा उत्रिएपछि सापकोटालाई अपरिचित व्यक्तिले एउटा कागज थमायो।

वेटर भिजामा गएकी सापकोटालाई त्यहाँ पुगेपछि घरेलु कामदारमा काम लगाइयो। परदेश त्यो पनि बिरानो ठाउँमा सापकोटा अन्योलमा परिन्। ‘घरेलु श्रमिक रूपमा काम लगाएपछि कसलाई गुहार्ने ? कुबेतबाट फर्केर आएकी सापकोटाले भनिन्, ‘वेटर जागिर गरेर टन्नै पैसा कमाउने सपना भताभुंग भयो।’ एउटा घरमा घरेलु कामदारको रूपमा काम गर्न बाध्य भएकी सापकोटा लामो समय त्यहाँ बस्न सकिनन्। केही दिनको अन्तरालपछि सापकोटालाई घरमालिकले कुटपिट गर्न थाले। घर परिवारको आर्थिक अवस्था कमजोर भएकाले पैसा कमाउन गएकी सापकोटा यातनामा परेपछि स्वदेश फर्किएकी छन्। ‘त्यहाँ काम गर्दा मालिकको यातनाका कारण नरोएको कुनै दिन थिएन,’ उनले भनिन्। यातना सहन नसकेपछि घर फर्किन पनि ३ लाख १५ हजार खर्चिनु परेको उनले बताइन्। बस्न सक्ने अवस्था नभएको भन्दै परिवारलाई बताएपछि श्रीमान्ले म्यानपावर मार्फत ३ लाख १५ हजार बुझाएर स्वदेश फर्किएको बताउँछिन्। ‘विदेश जान २५ हजाररूपैयाँ खर्च गरेर गएकी थिएँ, ’ उनले भनिन्, ‘आफ्नै देश फर्किन लाखौं खर्च गर्नुपर्‍यो।’

केही दिनअघि मात्रै नेपाल आएकी सापकोटाले न्याय माग्दै वैदेशिक रोजगार विभागमा उजुरी दिएकी छिन्। सापकोटा जस्तै मकवानपुरकी राममाया थिङ (नाम परिवर्तन) पनि प्राउन प्याकेजिङको काम भनेर मलेसिया गइन्। कम्पनीले प्राउन प्याकेजिङ काम नलगाएर अर्कै काममा लगाइदियो। केही समय काम गरेपछि कम्पनी बन्द भयो। मनग्य पैसा कमाउन मलेसिया पुगेकी थिङ म्यानपावर व्यवसायीको बदमासीले निकै समय दुःख पाएर स्वदेश फर्किएकी छन्। उनी इच्छाइएको समयमा स्वदेश फर्किनसमेत सकिनन्।

सापकोटा र थिङ मात्र होइन वैदेशिक रोजगारीमा गएका धेरै नेपालीले दुःख पाएका छन्। एउटा काम भनेर विदेश गएपछि अर्को काममा लगाउने, उचित पारिश्रमिक नदिने लगायतले वैदेशिक रोजगारीमा गएका नेपाली ठगिएका छन्।

आप्रवासी श्रमिकहरूले श्रम गरेबापत तिनले पाउनुपर्ने पारिश्रमिक (न्यूनतम तलब, ओभरटाइम बापतको भुक्तानी, करार बमोजिमको अन्य सुविधा लगायत) पूर्ण वा आंशिक रूपमा तलब नपाइएको समस्या कोभिड १९ पछि झन् बढ्दै गएको वैदेशिक रोजगार विभागका शाखा अधिकृत सुशील पकुवालले बताए। आफू ठगिएको भन्दै वैदेशिक रोजगारी विभागमा उजुरी दिनेको संख्या बढेको छ। कम्पनीले प्रतिवद्धता अनुसारको काम र तलब सुविधा नदिएको, जबरजस्ती काममा लगाएको, कामबाट निकालिएको लगायतका कारण देखाउँदै विभागमा न्याय माग्न जाने गरेका छन्।

चालु आर्थिक वर्ष २०७९/०८० को पुस दोस्रो सातासम्ममा ठगीका ५ सय ८० उजुरी दर्ता भएको वैदेशिक रोजगार विभागले जनाएको छ। विभागका शाखा अधिकृत सुशिल पकुवालका अनुसार २ सय ३९ जना साउदी अरबिया गएका कामदारको उजुरी छ। युएई गएर फसेका १ सय ४६, मलेसियामा ४५ र कतारमा गएर फसेका ४३ जना रहेको विभागले जनाएको छ।

विभागमा सबैभन्दा बढी उद्धारसम्बन्धी उजुरीहरू पर्ने गरेको शाखा अधिकृत पकुवालले बताए। वैदेशिक रोजगारीमा राम्रो देश र राम्रो तलब उपलब्ध गराइदिने आश्वासन दिँदै विदेश पठाइने भनेर पैसा लिने तर विदेश नपठाउने समस्या पनि देखिएको उनले बताए। विदेश गएर फर्किएको र विदेश पठाउने भनेर पैसा लिई नपठाइएका १ सय ३३ जनाले क्षतिपूर्ति पाएका छन्। विभागको तथ्यांक अनुसार तलब तथा सुविधा कटौतीका उजुरी ५५.६ प्रतिशत, तलब नपाएका ४४.४ प्रतिशत र कामबाट जबर्जस्ती निकालिएको १६.७ प्रतिशत रहेका छन्।

Published on: 26 January 2023 | Nagarik

Link

Back to list

;