s

वैदेशिक रोजगारीमा ठगी र मानव तस्करी

सुनिता नेपाल 

हातहतियार र लागूऔषधको अवैध कारोबारजस्तै मानव बेचविखन तथा मानव तस्करी अन्तर्राष्ट्रिय आपराधिक सङ्गठित गिरोहद्वारा सञ्चालित अवैध धन्दाका रूपमा विश्वव्यापी समस्याका रूपमा रहेको छ । मानव तस्करी र वैदेशिक रोजगारीको क्रममा हुने ठगी तथा मानव बेचविखन सबै आपराधिक क्रियाकलाप हुन् । कानुनी रूपमा यस अपराधमा संलग्नलाई सजाय दिनुको साथैै पीडितलाई क्षतिपूर्तिको व्यवस्थासमेत छ । यसो हेर्दा एक देशबाट अर्को देशमा आप्रवासन वा रोजगारीको क्रममा हुने यी घटनाहरू एकैप्रकारको देखिए पनि यी नितान्त फरक–फरक किसिमका अपराध हुन्, जसका लागि कानुनले फरक सजाय तोकेको छ । यस अपराधले पीडित तथा प्रभावितमा पार्ने प्रभाव र असर पनि फरक छ ।

सामान्यतया मानव बेचविखन भन्नेबित्तिकै मानिसको अस्मितासँग जोडिएको प्रश्न र महिला वा बालिकालाई भारतको बम्बईको कोठीमा लगेर बेचिने भन्ने बुझ्ने गरिन्छ । त्यसैगरी, मानव बेचविखन र मानव तस्करीलाई पर्यायवाचीका रूपमा पनि प्रयोग गरेको पाइन्छ भने वैदेशिक रोजगारी तथा आप्रवासनको क्रममा हुने जुनसुकै घटनालाई ठगीका रूपमा लिने गरिन्छ । यसभित्रको श्रम शोषण तथा यौन शोषणका घटनालाई केलाउने प्रयास कमै मात्रामा भएको पाइन्छ । 

 ठगी

बसाइँ–सराइ नयाँ कुरा होइन, यो परापूर्वकालदेखि हुँदै हालसम्म पनि निरन्तर भइआएको छ । बसाइँ–सराइ स्वेच्छिक तथा बाध्यकारी दुवै हुन सक्छ । प्राकृतिक प्रकोप, व्यापक मानवअधिकारको हनन, मानव संहार, जातिगत हिंसा, आन्तरिक द्वन्द्व, धार्मिक दङ्गालगायतका विविध कारणले व्यक्तिले बाध्यकारी रूपमा एक ठाउँबाट अर्को ठाउँमा बसाइँ–सराइ गर्ने गर्छन् । यसरी बाध्यकारी बसाइँ–सराइ राष्ट्रभित्र हुँदा आन्तरिक विस्थापित व्यक्तिका रूपमा हुन्छ भने, बाह्य देशमा हुँदा शरणार्थीका रूपमा हुन्छ । स्वेच्छिक बसाइँ–सराइ व्यक्तिहरू उन्नत जीवनयापनका लागि गर्ने गर्छन्, जुनभित्र वैदेशिक रोजगारीसमेत पर्छ । पहिलो विश्वयुद्ध र अझ त्यसभन्दा पहिलेदेखि नै नेपालबाट भारतमा रोजगारीका लागि जानेक्रम सुरु भएको देखिन्छ । तत्कालीन समयमा पञ्जावको लाहोरमा जाने भएकाले विदेश काम गर्न जानेहरू बिस्तारै “लाहुरे” नामले परिचित हुन थाले । यसरी बढ्दै गएको वैदेशिक रोजगारी भारतबाट बिस्तारै खाडी तथा विभिन्न अरेबियन मुलुक हुँदै इजरायल, हङकङ, जापान, दक्षिण कोरियालगायतका पछिल्लो समयमा चीन तथा अफ्रिकी तथा युरोपेली मुलुकहरूमा समेत त्यो प्रक्रिया बढ्दै गएको छ । हाल खाडी तथा अरब मुलुकमा मात्र लगभग २५ लाखभन्दा बढी नेपाली कार्यरत रहेको तथ्याङ्क छ ।

आप्रवासनको धेरै उद्देश्यमध्ये एक वैदेशिक रोजगारी हो । हरेक वर्ष वार्षिक रूपमा करिब चार लाख ५० हजारभन्दा बढी जनशक्ति श्रम बजारमा प्रवेश गर्ने गर्छन् भने दैनिक एक हजार युवा वैदेशिक रोजगारका लागि बिदेसिने गरेको हाम्रो यथार्थ हो । 

 मानव तस्करी

मानव तस्करीमा आर्थिक वा अन्य भौतिक लाभका लागि सहमतिमा नै कुनै अर्को व्यक्तिको सहयोगमा अवैध रूपमा सीमा प्रवेश गरी अर्को राष्ट्रको सीमा पार गर्ने गराउनेजस्ता तŒवहरू समावेश हुन्छन् । मानव तस्करीमा व्यक्तिले गैरकानुनी रूपमा एक देशबाट अर्को देशको सीमा प्रवेश गरेकोे हुन्छ । विनाइजाजत र प्रवेशाज्ञा अर्को देशमा प्रवेश गरिन्छ । यसका लागि सहमतिमा जाने व्यक्तिले तोकेको शुल्क यस कार्यमा सहयोग गर्नेलाई दिने गर्छ । सङ्क्षिप्तमा भन्नुपर्दा उक्त व्यक्तिलाई यो प्रक्रिया गैरकानुनी हो भन्ने जानकारी हुनुको साथै अत्यधिक शुल्क पनि बुझाउने गर्छन् । यस्तो तस्करी भूमि, हवाई वा सामुद्रिक मार्गको प्रयोग हुन सक्छ । मानव तस्करीमा पर्नेे व्यक्तिहरूमा श्रम शोषण, यौन शोषण तथा मानव बेचविखनको जोखिम उच्च हुने गर्छ । 

 मानव बेचविखन

मानव बेचविखनमा पर्ने व्यक्तिको स्वेच्छा हुँदैन, विभिन्न प्रलोभन र डर–धम्कीको माध्यमबाट उनीहरू यस घटनाको सिकार हुन्छन् । यस्ता घटनामा परेका मानिसलाई बन्धक बनाई, एक काम भनेर अर्को काम लगाउने, श्रम शोषण तथा यौन शोषण गरिन्छ । उनीहरूको हिँडडुल गर्ने मानवअधिकारको समेत हनन भएको हुन्छ भने आफ्ना आफन्त र साथीभाइसँंगको भेटघाट र कुराकानीमा पनि बन्देज लगाइएको हुन्छ । तसर्थ, मानव बेचविखन एक जघन्य अपराधमात्र नभई, यो मानिसको मानवअधिकार हनन र मर्यादा तथा स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकारको गम्भीर उल्लङ्घन हो ।

विगतमा भारतमा महिला तथा बालिकामाथि व्यावसायिक यौन शोषणबाट सुरु भएको मानव बेचविखन हाल यसको पुरानो शैलीमा परिवर्तन हुँदै विभिन्न नयाँ स्वरूपमा देखापरिरहेको छ । मानव बेचविखनबाट महिला र बालबालिकामात्र नभई, पुरुष र बालक पनि पीडित भएका छन् । मानव बेचविखन तथा ओसारपसारका दृष्टिले नेपाललाई प्रमुख स्रोत मुलुकका रूपमा हेरिने गरिएकोमा विश्वव्यापीकरण तथा बजारीकरणको प्रभावले गर्दा अन्तर्राष्ट्रिय सम्बन्धमा विस्तार भएपछि नेपाल मार्गस्थल गन्तव्यसमेत बन्न पुगेको छ ।

आन्तरिक बेचविखनको समस्यालाई केलाउँदा विभिन्न साना उद्योग कलकारखाना जस्तै इँटाभट्टा, जरी उद्योग, गलैँचा, मनोरञ्जन क्षेत्रका डान्स, बार, रेष्टुराँहरू, मसाज पार्लर आदिमा काम गर्ने महिला तथा बालबालिका श्रम तथा यौन शोषणका लागि मानव बेचविखन तथा ओसारपसारको जोखिममा रहेको पाइन्छ । यसरी व्यावसायिक यौन, सर्कस तथा अङ्ग प्रत्यारोपण समेतका लागि छिमेकी मुलुकहरूमा हुने गरेको बेचविखनका साथै वैदेशिक रोजगार, अन्तरदेशीय विवाह, विदेशमा पढ्न पठाउने तथा साँस्कृतिक÷साङ्गीतिक कार्यक्रमका नाममा समेत यौन तथा श्रम शोषणमा परी बेचविखनको जोखिममा वृद्धि हुँदै गएको देखिन्छ ।

राष्ट्रिय मानवअधिकार आयोगले २०७५ मा गरेको एक अध्ययनले मनोरञ्जन तथा सत्कार व्यवसायको करिब २० प्रतिशत श्रमिक मानव बेचविखनको सिकार भएको तथा ४६ प्रतिशतभन्दा बढी बाध्यकारी श्रमको सिकार भएको देखाएको छ । यस अपराधबाट पीडित तथा प्रभावितहरूको उद्धार तथा पुनःस्थापना पनि त्यत्तिकै संवेदनशील र चुनौतीपूर्ण रहेको छ । 

 अपराध बीचको अन्तरसम्बन्ध

आप्रवासन स्वाभाविक र मानिसको मानवअधिकार हो तर असुरक्षित आप्रवासन तथा गैरकानुनी आप्रवासनको क्रममा बेचविखनको जोखिम हुने गर्छ । वैदेशिक रोजगारी व्यक्तिको विकास र आर्थिक प्रगतिसँग सम्बन्धित हुन्छ र यो सधैँ नै स्वेच्छिक हुन्छ । मानव बेचविखनमा धोका, जबरजस्ती, शोषण र दुरुपयोग तथा जीवनमाथिको आफ्नो नियन्त्रण कायम रहेको हुँदैन र यही आधारहरूले यसलाई वैदेशिक रोजगारीभन्दा फरक र भिन्न प्रक्रियाका रूपमा स्थापित गर्छ । सबै घटना बेचविखन वा सबै घटना ठगी हुन सक्दैनन्, दुवै पनि हुन सक्छ । तसर्थ, यसका लागि गहन अनुसन्धान र संवेदशीलताको आवश्यकता पर्छ । तर, यी दुवै वृहत् बसाइँ–सराइको दायरामा पर्ने भएको हुँदा जहिले पनि एक–अर्कासँग जोडिएर आइरहेको हुन्छ । असुरक्षित वैदेशिक रोजगारीमा जाने प्रवृत्तिले गर्दा व्यक्तिले अधिकारको उपयोग गर्दागर्दै कतिबेला अपराधको सिकार हुन पुगिन्छ भन्ने कुरा थाहा पाउनै सक्दैन ।

मानव बेचविखन र मानव तस्करी दुवै एक–अर्कासँग अन्तरसम्बन्धित र एक–अर्काका पूरकका रूपमा रहेको पनि विभिन्न घटना अध्ययनहरूले देखाएको पाइन्छ । गैरकानुनी आप्रवासन तथा तेस्रो पक्षको आर्थिक लाभ लिने चाहनाले धेरैजसो अवस्थामा मानव तस्करीमा पर्ने जोखिम विद्यमान रहन्छ । विनाकागजात, गैरकानुनी रूपमा अन्तिम गन्तव्य पुग्न सफल भएमा पनि तत्कालै सहयोग प्राप्त गर्न नसकेमा त्यस्ता तस्करीको माध्यमबाट अमेरिकालगायतका अन्य गन्तव्यमा पुग्ने व्यक्तिहरू अन्त्यन्तै जोखिममा रहने भएको हुँदा सजिलै मानव बेचविखनको समेत सिकार हुन सक्छन् । 

 निष्कर्ष

मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट विगतदेखि नै विभिन्न नीतिगत, कानुनी तथा कार्यक्रमगत प्रयासहरू हुँदै आए तापनि मानव बेचविखनको जोखिम तथा घटनामा उल्लेखनीय कमी आउन सकेको छैन । यस विषयमा अध्ययन अनुसन्धान र सचेतना अभियानको पनि अभाव देखिन्छ । हाल कार्यान्वयनमा रहेका कानुनमा पनि यी विषयहरूमा स्पष्ट व्यवस्था गरी अपराध कायम गर्ने र अनुसन्धानमा संलग्न हुने निकायहरूसमेत संवेदनशील बनाउँदै लैजानुपर्ने देखिन्छ । मानव बेचविखन रोक्नलाई राष्ट्रिय प्राथमिकताको विषय नबनाइनुु, संरचनागत व्यवस्थाहरू छरिरहेको अवस्था रहनु, मानव बेचविखन विशेषगरी महिला तथा बालबालिकामा हुने बेचविखन रोकथाम, नियन्त्रण र सजायका लागि कानुनहरू समयानुकूल परिमार्जन हुन सकेको छैन । घटना भएपछि सम्बोधन गर्ने तर घटना नै हुन नदिन समस्याको जडसम्म पुग्नेखालका नीति तथा कार्यक्रमको अभाव रहनु, जोखिममा रहेका समूहको पहिचान हुन नसक्नुलगायतका धेरै समस्याहरू रहेका छन् ।

विगतमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतका महिला तथा बालबालिका कार्यालयले सञ्चालन गरिएका कार्यक्रमहरू विरोध र संरक्षणका कार्यक्रमलाई सङ्घीय शासकीय प्रणालीअनुरूप स्थानीय सरकारले स्थानीयस्तरमा महिला समूह, महिला सहकारी, लैङ्गिक हिंसा निगरानी समूह, बाल क्लब, मानव बेचविखनविरुद्धको स्थानीय समितिमार्फत विभिन्न कार्यक्रम तर्जुमा गरी सञ्चालन गरिनुपर्छ । स्थानीयस्तरमा हुने हरेक क्रियाकलापको निगरानी गरी मानव बेचविखन, असुरक्षित आप्रवासन तथा मानव तस्करीको जोखिमलाई न्यूनीकरण गर्नुपर्ने देखिन्छ । यस कार्यक्रमलाई प्रत्येक वडा–वडामा विस्तार गर्नुपर्ने अबको आवश्यकता हो । लक्षित वर्गहरूमा सुरक्षित आप्रवासनका उपायहरू अवलम्बन गर्न सुझाउनुपर्ने देखिन्छ । सानो लापरबाहीले पनि ठूलो दुर्घटनालाई निम्त्याउने गर्छ । तसर्थ, आगामी दिनमा सञ्चालन हुने कुनै पनि महिला तथा बालबालिका लक्षित कार्यक्रमहरूमा यस विषयमा पनि उनीहरूलाई जानकार बनाउने हिसाबले योजना बनाउनुपर्ने देखिन्छ ।

सङ्घीय संरचनामा यस विषयका प्रभावकारी रूपमा कार्यक्रमहरू सञ्चालन गर्न विषयको गाम्भीर्यतालाई स्थानीय तहसम्म पु¥याउने गहन जिम्मेवारी सङ्घीय सरकारको रहेको छ भने स्थानीय सरकारले पनि आफ्ना नागरिकलाई कसरी मानव बेचविखन तथा ओसारपसारको जोखिमबाट मुक्त बनाउने भन्ने दीर्घकालीन कार्ययोजनासहित अघि बढ्नुपर्ने आजको आवश्यकता छ । यो बहुपक्षीय र बहुआयामिक समस्या हो । मानव बेचविखनको अन्त्यका लागि असरमा होइन, यसको कारण के हो पत्ता लगाई त्यसलाई सम्बोधन गर्न तीन तहको सरकारले तदारुकता देखाउनुपर्छ ।

Published on: 9 November 2020 | Gorkhapatra

Link

Back to list

;