s

वैदेशिक रोजगारीमा ठगी डेढ अर्ब, असुली २० करोड

एक वर्षमा वैदेशिक रोजगारीमा डेढ अर्बभन्दा बढीको ठगी भएको छ । यसरी ठगिएको मध्ये २० करोड रुपैयाँ मात्रै असुली भएको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष २०७४/७५ मा एक अर्ब ५२ करोड २० लाख ७१ हजार दुई सय ५५ रुपैयाँ ठगी भएको छ । तर ठगी भएमध्ये असुली दर निकै कम छ ।

विभागका अनुसार उक्त अवधिमा २० करोड १९ लाख ९४ हजार आठ सय ७१ रुपैयाँ मात्रै असुली भएको हो । विभागका निर्देशक उद्धवप्रसाद रिजालका अनुसार कागजात नहुँदा पीडितले दाबी गरेअनुसार रकम असुली गर्न समस्या भएको छ । ‘हामी आपसी सहमतिमा मिलापत्र गराउँछौँ’, उनले भने । पीडित पक्ष र पीडकसँग छलफल र सहमतिपछि पीडकबाट रकम भराउने गरिएको उनले जानकारी दिए ।

वैदेशिक रोजगारीमा जानेमध्ये दैनिक ६ युवा ठगिने गरेका छन् । गत आर्थिक वर्षमा दुई हजार एक सय २९ युवा ठगिएका थिए । आर्थिक वर्ष २०७३/७४ मा दुई हजार तीन सय ८३ जना ठगिएको तथ्यांक छ । संख्यात्मक रूपमा हेर्दा आर्थिक वर्ष २०७४/७५ भन्दा २०७३/७४ मा बढी ठगिएका थिए । उक्त वर्षमा दुई सय ५४ युवा ठगिएका थिए । तर दाबी बिगोअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा झन्डै दोब्बर ठगी भएको छ ।

विभागका अनुसार अघिल्लो आर्थिक वर्षमा ७५ करोड ७८ लाख ४१ हजार आठ सय चार रुपैयाँ ठगी भएको थियो । ठगिएको रकममध्ये १५ करोड ९४ लाख १७ हजार आठ सय आठ रुपैयाँ असुली भएको थियो ।

विभागका निर्देशक रिजालका अनुसार विदेश पठाउने नाममा रकम असुल्ने तर नपठाउने, धेरै पारि श्रमिक तोक्ने तर निकै कममात्र उपलब्ध गराउने, एउटा काम भनी अर्को काममा लगाउने, सम्झौताबेगर अर्कै कम्पनीको भिसा दिने तथा विकसित मुलुकमा पठाउँछु भनेर धेरै रकम असुल गरी ठगी हुने उजुरी आउने गरेका छन् ।

व्यक्तिगत ठगी बढी

वैदेशिक रोजगारीमा संस्थागतभन्दा व्यक्तिगत रूपमा ठगिने संख्या उच्च छ । गत आर्थिक वर्ष संस्थागत रूपमा एक हजार २० जना ठगिएका छन् भने व्यक्तिगत रूपमा एक हजार एक सय नौ जना ठगिएको तथ्यांक छ । गत आवमा संस्थागत रूपमा ७६ करोड ८३ लाख ६१ हजार एक सय ८२ रुपैयाँ ठगी भएको थियो ।

त्यस्तै व्यक्तिगत रूपमा ७५ करोड ३७ लाख १० हजार ७३ रुपैयाँ ठगी भएको छ । विभागका अनुसार संस्थागत रूपमा ठगिएका आठ सय ३२ युवाको ४९ करोड ५४ लाख नौ हजार तीन सय ६० रुपैयाँ फरफारक भएको छ । त्यस्तै, व्यक्तिगत रूपमा ठगिएका एक सय ९१ युवाको १५ करोड २४ लाख ४५ हजार पाँच सय ११ रुपैयाँ फरफारक भएको छ ।

व्यक्तिगत ठगी असुली गर्न समस्या

व्यक्तिगत रूपमा ठगी भएका युवाको रकम असुल गर्न समस्या देखिएको छ । विभागका निर्देशक रिजालले संस्थागतभन्दा व्यक्तिगत ठगी सल्टाउन कठिनाइ हुने गरेको जानकारी दिए । ‘विभागले म्यानपावरको धरौटीबाट कटाएर पीडितलाई न्याय दिन सक्छ तर व्यक्तिगत रूपमा गएको खण्डमा त्यसो गर्न सकिँदैन,’ उनले भने ।

वैदेशिक रोजगार विभागका महानिर्देशक दिलीपकुमार चापागाईंले ठगी उजुरी परेको एक महिनादेखि तीन महिनासम्म पीडितलाई न्याय दिइने जानकारी दिए । विभागले प्रक्रियाअनुसार तीनदिने, २४ घण्टे सूचना जारी गरेर पीडितलाई न्याय दिँदै आएको छ ।

अदालतमा मुद्दा दायर

व्यक्तिगत रूपमा भएका ठगीका अधिकांश उजुरी अदालतमा मुद्दा दायर भएको छ । विभागले निर्णय गर्न नसक्ने ती उजुरी अदालतमा मुद्दा गरिएको हो । विभागका अनुसार व्यक्तिगत रूपमा ठगिएका दुई सय ३४ जनाको उजुरी अदालतमा मुद्दा दायर भएको हो । उनीहरूको ३३ करोड ६० लाख ४९ हजार एक सय ७७ रुपैयाँ ठगीको मुद्दा अदालतमा बिगो दाबी कायम गरिएको निर्देशक रिजालले जानकारी दिए ।

Published On: 5 September 2018 | Annapurna post

Back to list

;