s

वैदेशिक रोजगारीमा सुदूरपश्चिम र कर्णाली कमजोर:अधिकांशको गन्तव्य भारत

सुर्खेत समाचारदाता 

सुर्खेत, असोज १३ गते । वैदेशिक रोजगारीमा सुदूरपश्चिम र कर्णाली प्रदेश ज्यादै कमजोर र प्रदेश १ र २ सशक्त देखिएका छन् । प्रदेशगत आधारमा वैदेशिक रोजगारीबारे गरिएको एक अध्ययनअनुसार नेपालको कुल वैदेशिक रोजगारीमा सुदूपश्चिमको प्रतिशत २.६ प्रतिशत र कर्णालीको ३.२ प्रतिशत रहेको छ । प्रदेश १ र प्रदेश २ बाट भने क्रमशः २४.४ प्रतिशत र २४.२ प्रतिशत छ ।

सेन्टर फर माइग्रेस एन्ड इन्टरनेसनल रिलेसन्सले गरेको अध्ययनअनुसार तेस्रो मुलुकमा वैदेशिक रोजगारीका लागि गएकामा बागमती, गण्डकी र लुम्बिनीका क्रमशः १५ प्रतिशत, १३ प्रतिशत र १६ प्रतिशत छन् ।

सुर्खेतमा एक कार्यक्रम गरी संस्थाले सार्वजनिक गरेको प्रतिवेदनअनुसार कर्णालीबाट धेरैजसो भारतमा रोजगारका लागि जाने गरेको देखाएको छ । भारतमा मात्रै करिब ७० प्रतिशत रोजगारीमा रहेको पाइएको छ ।

अध्ययनमा संलग्न विभूति किरण घिमिरेले कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या न्यून रहेको पाइएको बताउनुभयो । भारतसँग खुला सिमाना, भिसाको आवश्यकता नपर्ने, आउन जान सहज हुने कारणले कर्णालीका ७० प्रतिशत र सुदूरपश्चिमका ९० प्रतिशत भारत जाने गरेको उहाँको भनाइ छ ।

कर्णालीमा ठूला उद्योग कलकारखाना नभएकाले भारततिर रोजगारी खोज्न जाने गरेको पाइएको उहाँले बताउनुभयो । उहाँले श्रम स्वीकृति लिएर जानेहरू ३.२ प्रतिशत रहे पनि लुकीछिपी जाने पनि हुनसक्ने उल्लेख गर्नुभयो । भारतमा जानेहरू पनि धेरैजसो उत्तराखण्ड, काश्मीर, जम्बुलगायतका ठाउँमा जाने गरेका छन् । श्रम स्वीकृति लिनेमा धेरैजसो सुर्खेत र सल्यानका छन् ।

कर्णाली प्रदेशका हुम्ला, डोल्पाका बासिन्दा रोजगारीका लागि उत्तरी चीनतर्फ, जुम्ला, मुगु, कालीकोटका बासिन्दा खुद्रा तथा सडक व्यापार गर्न भारततर्फ, सुर्खेत, दैलेख, जाजरकोट र रुकुम पश्चिमका बासिन्दा शुद्ध भारततर्फ र सल्यानका केही भारत र युरोपतर्फ जाने गरेको पाइएको छ । कर्णालीबाट रोजगारीका लागि जानेमध्ये करिब ६० प्रतिशत अदक्ष कामदारका रूपमा जाने गरेको अध्ययनमा जनाइएको छ ।

तेस्रो मुलुकमा गएका पनि धेरैजसो खाडी मुलुकमा जाने गरेका छन् । अध्ययनकर्ता घिमिरेले नेपालको वैदेशिक रोजगारसम्बन्धी नीतिगत खाकाले भारततर्फ हुने श्रम आप्रवासनलाई नियमन नगर्ने हुँदा भारतमा रोजगारी सहज भए पनि जोखिमपूर्ण रहेको बताउनुभयो । उहाँका अनुसार कर्णालीबाट युरोप, अमेरिका जानेको सङ्ख्या नगण्य छ । भारत गएकाहरूलाई पनि कोभिडले गर्दा नराम्ररी प्रभावित बनाएको पाइएको उहाँले जनाउनुभयो ।

श्रम तथा रोजगार कार्यालय सुर्खेतका सूचना अधिकारी निर्मला रेग्मीले कर्णालीबाट धेरैजसो युवा मजदुरीका लागि भारत नै बढी जाने गरेको बताउनुभयो । उहाँले दुबई, कतार, साउदी, बहराइन र मालदिभ्सजस्ता देशमा यहाँबाट बढी जाने गरेको पाइएको उल्लेख गर्नुभयो । सुर्खेतस्थित कार्यालयले पुनः श्रम स्वीकृति मात्रै दिने हुँदा निकै कम मात्रमा पुनः स्वीकृतिका लागि आउने गरेको उहाँको भनाइ छ ।

कार्यालयमा सुर्खेत, दैलेख र सल्यानका बढी आउने गरेको, जुम्ला, कालीकोटबाट कम र जाजरकोट, रुकुम क्षेत्रबाट आउँदै नआउने गरेको जानकारी उहाँले दिनुभयो । भारततर्फ जोखिमयुक्त रोजगारी गर्न जानेलाई स्थानीय, प्रदेश र सङ्घीय सरकारले विभिन्न रोजगारीका कार्यक्रम ल्याएर स्वदेशमै राख्न सकिने उहाँको भनाइ छ ।

पार्टनरसिप इम्पावरमेन्ट सेन्टर नेपालका अध्यक्ष वसन्त विश्वकर्माले कर्णालीबाट धेरैजसो युवा कामको खोजीमा भारत जान लागेपछि प्रदेश सरकारलाई रोजगारमूलक कार्यक्रम ल्याउन ज्ञापनपत्र बुझाएको बताउनुभयो । उहाँका अनुसार वैदेशिक रोजगारमा जानेमा धेरैजसो दलित समुदायका छन् ।

Published on: 30 September 2021 | Gorkhapatra

Link

Back to list

;