s

वैदेशिक रोजगारीमा संलग्न कामदारलाई सेयरमा आरक्षण दिन निर्देशिका जारी

सरकारले वैदेशिक रोजगारीमा संलग्न नेपाली कामदारका लागि सेयर निष्कासनमा आरक्षणको व्यवस्था गरेको छ । धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । यो व्यवस्थाअनुसार अब वैदेशिक रोजगारीमा गएका कामदारका लागि प्राथमिक सेयरको १० प्रतिशत सुरक्षित गर्नुपर्ने भएको छ । संगठित संस्थाले सर्वसाधारणलाई सार्वजनिक गर्नुअगावै निष्कासनको १० प्रतिशत सेयर वैदेशिक रोजगारीमा रहेका कामदारका लागि छुट्याउनुपर्ने निर्देशिकामा जनाइएको छ । यसरी छुट्याइएको सेयर निष्कासन गर्दा बिक्री प्रबन्धकले सर्वसाधारणका लागि निष्कासन गर्न १५ दिनको अवधि तोकी आह्वानपत्र सार्वजनिक गर्नुपर्नेछ । यसका लागि रेमिट्यान्स बचत खाताको प्रयोग अनिवार्य रहेको निर्देशिकामा उल्लेख छ ।

आवेदन भर्नका लागि रेमिट्यान्स बचत खातामा पछिल्लो ६ महिनामा कम्तीमा ५० हजार रुपैयाँ रेमिट्यान्स जम्मा गरेको हुनुपर्ने अनिवार्य व्यवस्था गरेको छ । वैदेशिक रोजगारीमा गएका कामदारले त्यस्तो सेयर खरिद नगरी बाँकी रहेमा सर्वसाधारणमा थप गरी जारी गर्नुपर्ने व्यवस्था गरिएको छ । पछिल्लो समय नेपालमा विदेशी मुद्राको सञ्चिति घट्दै गइरहेकाले शोधनान्तर घाटा बढ्दै गएको र बैंक तथा वित्तीय संस्थाहरूमा समेत लगानीयोग्य तरलताको समस्या देखिएको छ । विदेशी मुद्राको प्रमुख स्रोत रेमिट्यान्सको आप्रवाहमा कमी आउन थालेपछि यस्तो समस्या देखिएको छ । सरकारले रेमिट्यान्स आकर्षित गर्न विभिन्न उपायहरू अवलम्बन गरिरहँदा प्राथमिक सेयरमा समेत आरक्षण दिने उपाय अपनाएको छ ।

पछिल्लो दुई महिनामा रेमिट्यान्स आप्रवाह १९.८ प्रतिशतले वृद्धि भएको छ । भदौसम्ममा रेमिट्यान्स एक खर्ब ८७ अर्ब चार करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ११.३ प्रतिशतले वृद्धि भएर एक अर्ब ४७ करोड डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.३ प्रतिशतले घटेको थियो ।

यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति नेपालीकोसंख्या १६९.९ प्रतिशतले बढेको छ । यसबीच एक लाख तीन हजार आठ सय ९८ नेपालीले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७०.६ प्रतिशतले वृद्धि भई ३९ हजार एक सय ८९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४२९.५ प्रतिशतले बढेको थियो ।कात्तिक ३ गतेसम्मको तथ्यांकअनुसार हालसम्म ६ अर्ब ३९ करोड रुपैयाँबराबरका प्राथमिक सेयर निष्कासनको तयारीमा छन् । देशभर हालसम्म ५४ लाख ४१ हजार चार सय ९६ जनाले डिम्याट खाता खोलेका छन् ।

Published on: 4 November 2022 | Naya Patrika

Link

Back to list

;