s

वैदेशिक रोजगारीमा रहेकाले आइएमईमार्फत सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न सक्ने

सामाजिक सुरक्षा कोष र आइएमईबीच वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिहरूको सामाजिक सुरक्षा योजनाअन्तर्गत सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्रयोजनका लागि विदेशमा रहेका योगदानकर्ताबाट रकम संकलनको सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली र आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले हस्ताक्षर गरेका हुन् ।

सम्झौता कार्यान्वयनपछि विदेशका आइएमई काउन्टर तथा साझेदारहरूमार्फत वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिले योगदानबापतको रकम कोषमा जम्मा गर्न सक्ने जनाइएको छ । आइएमईका प्रमुख कार्यकारी अधिकृत पौडेलले विदेशमा रहेका लाखौँ नेपालीलाई कोषमा योगदान गर्ने रकम जम्मा गर्न सहज हुने गरी सम्झौताअनुसारको व्यवस्था छिट्टै मिलाइने जानकारी गराए । कोषले अघि बढाएको वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिहरूको सामाजिक सुरक्षा योजनाको प्रवद्र्धनका लागि समेत सहयोग पुग्ने प्रमुख कार्यकारी अधिकृत पौडेलको भनाइ थियो ।

कोषका कार्यकारी निर्देशक ज्ञवालीले आइएमई तथा यसका साझेदारहरूको विश्वव्यापी सञ्जाल भएकाले कोषले अघि बढाएको योजनामा सहभागिता बढाउन तथा कोषमा योगदान गर्नेहरूलाई रकम पठाउन सहज हुने विश्वास व्यक्त गरे । सम्झौता हस्ताक्षर समारोहमा कोषका निर्देशक रोशन कोजू र आइएमई लिमिटेडका बिजनेस डेभलपमेन्ट म्यानेजर श्यामकृष्ण खकुरेलको उपस्थिति रहेको जनाइएको छ ।

यसअघि सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका नागरिकले सामाजिक सुरक्षा योजनाअन्तर्गत कम्तीमा नेपाल सरकारबाट तोकिएको न्यूनतम आधारभूत पारिश्रमिकको २१ दशमलव ३३ प्रतिशत रकम अर्थात् हाल न्यूनतम मासिक दुई हजार रुपैयाँ र बढीमा न्यूनतम आधारभूत पारिश्रमिकको तीन गुणासम्म कोषमा योगदान गरी सुविधामा सहभागी हुन सक्ने व्यवस्था मिलाएको जनाएको छ ।

Published on: 22 May 2023 | Naya Patrika

Link

Back to list

;