s

वैदेशिक रोजगारीमा रहेका विकृति हटाएरै छोड्ने श्रममन्त्रीको उद्घोष

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज बिष्टले स्वास्थ्य परीक्षणलगायत वैदेशिक रोजगारीमा रहेका सिण्डिकेट हटाएरै छोड्ने बताएका छन् । उनले हाल आफू गहिरो आन्तरिक अध्ययनमा रहेको भन्दै केही दिनभित्रै वैदेशिक रोजगारीमा परिणाम देखिनेगरी सुधारका आमूल परिवर्तन देखिनेगरी निर्णय लिइने बताए ।
 
वैदेशिक रोजगार पत्रकार समाजले आइतबार सिंहदरवारस्थित मन्त्रालयको सभाहलमा आयोजना गरिएको ‘गन्तव्य मुलुकमा कामदारको अवस्था’ विषयक अन्तरक्रियामा बोल्दै मन्त्री बिष्टले उक्त कुरा सार्वजनिक गरेका हुन् । मन्त्री बिष्टले केही समय यता निरन्तर सुधारका लागि जोड दिइरहेका छन् ।
 
वर्तमान सरकार नेपाली जनताको अपार जनविश्वास प्राप्त बलियो सरकार रहेको भन्दै मन्त्री बिष्टले कानून बिपरित स्थापना भएका सबै सिण्डिकेटको अन्त्य गरिने अठोट व्यक्त गरे । उनले भने, ‘मन्त्रालयले गलत गर्नेहरुलाई नियन्त्रण गर्ने गृहकार्य शुरु गरेपछि परिवर्तनको सरकारी कदमलाई असफल पार्न केही पक्ष सल्वलाई परिवर्तन र सुधारविरुद्ध चौतर्फी प्रहार केन्द्रीत  गर्न लागेको हुन सक्छन् तर, पनि ती प्रपञ्चबाट सरकार डग्मगाउने छैन । परिवर्तन गरेरै छोडिने छ ।’
 
मन्त्री बिष्टले भने, ‘म श्रम मन्त्री छू मैले जनताको अपार विश्वास  पाएको छु, यी विकृतिलाई चाँडै हटाउन सक्नेछौं भन्ने मेरो विश्वास छ । त्यसमा सबै पक्षको रचनात्मक सुझावको आवश्यकता छ ।’
 
आवश्यक जनशक्ति र अनलाइन प्रविधिका माध्यमबाट वैदेशिक रोजगार प्रशासनलाई पारदर्शी र झन्झटमुक्त बनाउन मन्त्रालयले काम गरिरहेको भन्दै मन्त्री बिष्टले वैदेशिक रोजगारीमा रहेको कामदारको छरिएर रहेको पूँजीलाई उत्पादनमा लगाउने, विदेशमा भाषा, संस्कृति वा अन्य कारण कानूनी समस्यामा परेका कामदारलाई कानूनी सहायता उपलब्ध गराउने,  नोपली दूतावासबाटै पूनः श्रम स्वीकृति दिलाउने, नेपाल सरकारले तोकेको मापदण्डको आधारमा कामदारहरुले तलव सुविधा पाउने, वैदेशिक रोजगारीबाट फर्केका कामदारहरुको अभिलेखिकरण गरी रेकर्ड राख्ने, अभिमुखीकरण तालिमलाई प्रभावकारी बनाउने पक्षमा मन्त्रालयले काम गरिरहेको जानकारी दिए ।
 
त्यसअवसरमा मन्त्री बिष्टले मुलुकमा आन्तरिक रोजगारीको पर्याप्तता नरहेको कारण वैदेशिक रोजगारी नेपाली युवा–युवतीको बाध्यात्मक अवस्थामा देखा परेको भन्दै वैदेशिक रोजगारीमा रहेका नेपाली युवा–युवतीहरुले श्रम गरी पसिनाको थोपा–थोपाको रुपमा आर्जन गरेर कुल ग्राहस्थ उत्पादन (जीडिपी)मा ठूलो योगदान दिएकाले कामदारको योगदानलाई सरकारले हार्दिक सम्मान गर्ने बताए ।
 
समाजका सभापति हरिबहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा मन्त्री बिष्टलाई कतार, ओमन, मलेसिया, दक्षिण कोरियाबाट आएका गैर–आवासीय नेपाली संघका प्रतिनिधिले आ–आफ्नो मुलुकमा कार्यरत नेपाली कामदारले भोग्नु परेका समस्याहरुको समाधानका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
 
एनआरएनए मध्यपूर्व संयोजक राजेन्द्रकुमार शर्मा (आरके)ले नेपाली दूतावासबाटै श्रम स्वीकृति हुनुपर्ने र नेपालमा कामदारको लगानीको वातावरण बनाउनुपर्ने माग राखे । विदेशमा समस्यमा पर्ने नेपालीलाई तत्काल उद्धार र राहत दिने व्यवस्था मिलाउन माग गदै संयोजक शर्माले ब्लडमनी तिर्नुपर्ने र कानुनी अप्ठ्यारोमा पर्नेहरुका दूतावासमै वकिलको व्यवस्था गर्नुपर्ने व्यवस्था गर्नपनि मन्त्रीको ध्यानकर्षण गरे ।
 
नेपाली कामदारको अन्य देशका कामदारहरुको तुलनामा अभिमुखीकरण नपुगेको भन्दै उनले सरकारले नै अभिमुखिकरण दिने व्यवस्था गर्नुपर्ने  माग राखे । वैदेशिक रोजगारीका क्षेत्रमा रहेको सेटिङलाई रोक्न अध्यागमन चुस्त हुनुपर्ने शर्माको भनाइ थियो ।
यस्तै, एनआरएनए दक्षिण कोरियाका महासचिव डा. इन्दिरा तिवारी ईपीएसबाट गएका नेपाली पनि अदक्ष रुपमा गइरहेका छन् भन्दै दक्ष कामदार पठाउनुपर्नेमा जोड दिइन् । कोरियामा काम गाह्रो हुँदा नेपाली कामदारमा डिप्रेसनको समस्या बढेको भन्दै उनले त्यसकै कारण आत्महत्याको दर पनि बढिरहेकाले त्यसतर्फ ध्यान दिन आग्रह गरिन् ।
 
एनआरएनए मलेसिया अध्यक्ष खगेन्द्र न्यौपानेले मलेसियामा करिव ७ लाख नेपाली रहेको भन्दै मलेसियाबारे सत्यता भन्दा बढी अफवाह फैलाइने गरेको बताए । मलेसियामा मुख्य रुपमा रहेको नेपाली अवैधानिक हुने समस्या कम गर्न दूतावासले नै मागपत्र प्रमाणिकरण गर्नु पर्नेमा न्यौपानेको जोड थियो ।
 
गैर–आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समितिका सचिव डीबी क्षेत्रीले कामदारको संचयकोषमा जोड दिदै अनिवार्य बचतमा जोड दिए । गैर–आवासीय नेपाली संघ मलेसियाका महासचिव सुन्दर आलेले मलेसियामा जेलमा रहेका नेपालीहरुको उद्धारको माग गरे । कार्यक्रमको सञ्चालन समाजका उपाध्यक्ष उद्धवराज भट्टराईले गरेका थिए ।
 
Published on: 9 April 2018 | Madhyanha

Back to list

;