s

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि रिपब्लिक मिडियाको आईपीओ बाँडफाँड

पत्रिका लगायतका सञ्चार माध्यम प्रकाशन गर्दै आएको नेपाल रिपब्लिक मिडियाले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आईपीओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्समा आयोजना गरिएको कार्यक्रममा गोलाप्रथाबाट आईपीओ बाँडफाँड गरिएको हो। माग भन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट आइपीओ बाँडफाँड गरेको बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारलाई ४ लाख ३५ हजार ३ सय कित्ता सेयर निष्काशन गरेको थियो। आईपीओका लागि २० हजार ७ सय ९१ जनाको आवेदन आएकामा २० हजार ७ सय ८५ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ।

१० कित्ता वा सो भन्दा बढीको लागि आवेदन दिने २० हजार ७ सय ८५ जनाले १० कित्ताका दरले सेयर पाएका छन् भने २० कित्ता वा सो भन्दा बढीका लागि आवेदन दिने १६ हजार ५ सय ९५ जनाले थप १० कित्ता सेयर पाएका छन्। त्यसैगरी, ३० कित्ता वा सो भन्दा बढीका लागि आवेदन दिने १२ हजार १ सय ११ जना मध्ये ६ हजार १ सय ५० जनाले थप १० कित्ता सेयर पाएको कम्पनीले जनाएको छ।

नेपाल रिपव्लिक मिडियाका प्रबन्ध निर्देशक बिनोदराज ज्ञवालीको विशेष उपस्थितिमा आइपीओ बाँडफाँड गरिएको थियो । आईपीओ बाँडफाँड कार्यक्रममा रिपव्लिक मिडियाकी प्रमुख कार्यकारी अधिकृत(सिईओ) समृद्धि ज्ञवालीले सञ्चार गृहमा आम नागरिकको अपनत्व बढाउन आईपीओ निष्कासन गरेको बताइन्। अब विदेशमा रहेका नेपालीहरुको पनि कम्पनीमा अपनत्व हुने उनले बताइन्। ‘मिडियाले सबैको भावना समेट्नुपर्छ,’ र्आपीओ बाँडफाँड कार्यक्रममा ज्ञवालीले भनिन्, ‘रिपव्लिक मिडिया अब सर्वसाधारणको पनि कम्पनी भएको छ।’

आइपीओ बाँडफाँड कार्यक्रममा कम्पनी रजिष्ट्रार कार्यालय, धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सिडिएस एण्ड क्लियिरिङ लिमिटेड लगायतका सरोकारवालाको पनि उपस्थिति थियो। सर्वसाधारण लगानीकर्ता लक्ष्मण बहादुर श्रेष्ठले गोलाप्रथाबाट छनोट गरेका थिए। मेगा क्यापिटलका मार्केटिङ डिपार्टमेन्ट हेड गिरिराज पोखरेलले सञ्चालन गरेको कार्यक्रममा मेगा क्यापिटलकी मर्चेन्ट बैंकिङ इन्चार्ज मनिसा दाहालले आईपीओको बारेमा जानकारी गराएकी थिइन्।

रिपव्लिक मिडियाको सर्वसाधारणलाई जेठ २६ गतेदेखि आईपीओ निष्कासन गर्ने कम्पनीले जनाएको छ। कम्पनीको जारीपुँजी ९६ करोड ७६ लाख रुपैयाँको ४४.९९२२ प्रतिशत अर्थात् प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ४३ करोड ५३ लाख रुपैयाँको बराबरको आईपीओ निष्कासन गर्ने कार्यक्रम अन्तर्गत पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका र कर्मचारीका लागि निष्कासन गरिएको थियो।

सर्वसाधारणलाई छुट्याएको सेयरमध्ये ४ प्रतिशतले हुन आउने एक लाख ७४ हजार १ सय २० कित्ता आईपीओ कर्मचारीलाई र पाँच प्रतिशत अर्थात् दुई लाख १७ हजार ६ सय ५० कित्ता आईपीओ सामूहिक लगानी कोषका लागि छुट्याएको छ। सर्वसाधारणलाई जेठ २६ गतेबाट ३५ लाख २५ हजार ९ सय ३० कित्ता आईपीओ निष्कासन गर्न लागेको छ। आवेदकले जेठ २६ गतेदेखि ३० गतेसम्म आवेदन दिन सक्ने बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ। जेठ ३० गतेसम्म मागअनुसार आवेदन नपरे असार ८ गतेसम्म आवेदन खुला रहने कम्पनीले जानकारी दिएको छ। सेयर लगानीकर्ताले रिपव्लिक मिडियाको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ सय कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

Published on: 7 June 2023 | Nagarik

Link

Back to list

;