s

वैदेशिक रोजगारीमा रहेका ४० लाख नेपाली आजदेखि सामाजिक सुरक्षा योजनामा जोडिँदै, के-के छन् सुविधा?

निर्मला घिमिरे

वैदेशिक रोजगारमा गएका नेपालीहरू पनि योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा जोडिन थालेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को प्रमुख अतिथ्यतामा बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी उनीहरूलाई कोषमा समेट्न सुरू गरिएको हो।

पहिलो पटक इजरायलमा कार्यरत मन्जु थपलिया कोषमा आवद्ध भएर योजना कार्यान्वयनमा आएको हो।

गत पुस ५ गते तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगार रहेका नेपालीहरूलाई वैशाख १ गतेदेखि कोषमा समेट्ने भन्दै कार्यविधि सार्वजनिक गरेका थिए।

तर आजैदेखि वैदेशिक रोजगारीमा रहेकाहरूले कोषमा योगदान सुरू गरेका हुन्।

प्रधानमन्त्री प्रचण्डले विदेशमा रहेका लाखौं नेपालीलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने कार्यक्रम सुरू गर्न पाउँदा आफू निकै हर्षित भएको बताए। यो कार्यक्रम कार्यान्वयनमा थप सहजीकरण गर्न आफू तत्पर रहेको उनले प्रतिबद्धता व्यक्त गरे।

'हाम्रा जनशक्तिको श्रम देशभित्रै लगाउन सरकार प्रयासरत छ। विदेशमा रहेका नेपालीले पनि मुलुकको विकासमा ठूलो योगदान पुर्‍याएका छन्' उनले भने।

रोजगारीका लागि विदेश जानुपर्ने बाध्यकारी अवस्थाको अन्त्य गर्न सरकारले काम गर्ने उनले बताए।

सरकारले वैशाख १ गतेदेखि अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि कोषमा समेट्न सुरू गर्ने हुँदा सामाजिक सुरक्षा कार्यक्रमको दायरा थप फराकिलो हुने उनले बताए। कोषमा जम्मा भएको श्रमिकको योगदान रकम उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता उनले जनाए।

'अब श्रमिकले दुःख पाउने दिन गए। सबै श्रमिकको योगदानको कदर हुनेछ,' उनले भने।

श्रम मन्त्रालयका सचिव एक नारायण अर्यालले विदेशमा गएका श्रमिक तथा स्वरोजगार व्यक्तिलाई कोषमा जोड्दा उनीहरूमा राज्यप्रतिको अपनत्व बढ्ने बताए।

'विदेशमा रहेका नेपालीबाट राज्यले लाभ प्राप्त गर्छ। रेमिटेन्स पनि औपचारिक च्यानलबाट आउँछ,' उनले भने।

कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीले योजना सुरू भएको चार वर्षमै वैदेशिक रोजगारमा गएका नेपालीलाई कोषमा समेट्न पाउँदा निकै खुसी भएको बताए।

'छोटो समयमा नै वैदेशिक रोजगार र विदेशमा स्वरोजगार रहेका हाम्रा नागरिकलाई समेट्न पाउँदा गौरवान्वित भएको महशुस भएको छ,' उनले भने।

सामाजिक सुरक्षा योजना योगदानकर्तामैत्री बनाउँदै लगिएको उनले बताए।

८० भन्दा बढी मुलुकमा रहेका गैरआवासीय नेपाली संघले विदेशमा रहेका नेपालीलाई समेट्न सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरिसकेकाले थप सहज हुने उनले बताए।

कोषका सूचना अधिकारी डा.रोशन कोजुले वैदेशिक रोजगारीमा जाँदै गरेका र त्यहाँ कार्यरत श्रमिक कोषमा जाोडिन सक्ने बताए। उनीहरूले नयाँ श्रम स्वीकृति लिँदा तथा श्रम स्वीकृति नवीकरण गर्ने क्रममा कोषमा अनिवार्य गरिएको छ।

श्रम स्वीकृति नवीकरण गर्ने बेला भएको छैन भने पनि उनीहरू कोषमा जोडिन सक्छन्।

वैदेशिक रोजगार रहेका तथा स्वरोजगार व्यक्तिले न्यूनतम दुई हजार दुई रूपैयाँ जम्मा गर्नुपर्ने हुन्छ।

एनआरएनएका अध्यक्ष कुलप्रसाद आचार्यले योभन्दा खुसीको दिन केही नभएको बताए।

'मलेसिया खाडी तथा विभिन्न मुलुकमा रहेका गैरआवासीय नेपाली सामाजिक सुरक्षा योजनाबाट लाभान्वित हुने भएका छन्। यसले आन्तरिक पुँजी परिचालनमा दरिलो भूमिका खेल्छ,' उनले भने।

राज्यले छोटो अवधिमै यसबाट ठूलो लाभ लिन सक्ने उनले उल्लेख गरे।

'यसले वैदेशिक रोजगार रहेका नेपालीको जीवन सुखमय बनाउँछ नै, राज्यको भार पनि कम हुन्छ' उनले भने।

संघले पनि यो कार्यक्रम कार्यान्वयनमा सरकारलाई सहजीकरण गर्ने आचार्यले बताए। अप्रिल ७ बाट कतार र अप्रिल ९ बाट मलेसियाका नेपाली कोषमा समेट्न सुरू गर्ने उनले बताए।

ट्रेड युनियनका प्रतिनिधिहरूले लामो संघर्षपछि श्रमिकहरूको सामाजिक सुरक्षा सुनिश्चित भएको बताए।

श्रमिकहरूमा सचेतनाको अभाव तथा रोजगारदाताको उदासीनताका कारण अझै पनि कोषमा उल्लेख्य संख्यामा श्रमिकहरू जोडिन नसकेको तर्क उनीहरूको छ।

हाल वैदेशिक रोजगारमा ४० लाखभन्दा बढी नेपाली रहेको उल्लेख छ।

वैदेशिक रोजगारमा रहेका श्रमिक वा विदेशमा स्वरोजगारमा संलग्न व्यक्तिले सरकारले औद्योगिक क्षेत्रका श्रमिकका लागि तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको कम्तीमा २१.३३ प्रतिशत रकम योगदान गर्नु पर्नेछ।

उनीहरूले त्यस्तो न्यूनतम पारिश्रमिकको बढीमा तीन गुणासम्म रकम योगदान गर्न सक्छन्।

यो योगदान रकमबाट उनीहरूले दुर्घटना तथा अशक्तता सुविधा तथा वृद्धअवस्था सुरक्षा योजनामा सहभागी हुन पाउँछन्।

यदि यस्ता श्रमिकको मृत्यु भएको अवस्थामा आश्रित परिवारलाई पनि कोषले सुविधा उपलब्ध गराउँछ।

योगदान रकमको ७.४८ प्रतिशत रकम दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनामा जम्मा हुन्छ। त्यस्तै वृद्धअवस्था सुरक्षा योजनामा १३.८५ प्रतिशत रकम जम्मा हुने व्यवस्था छ।

सेवासुविधा प्राप्त गर्नका लागि वैदेशिक रोजगारमा रहेको वा विदेशमा स्वरोजगारमा रहेका योगदानकर्ताले दुर्घटना तथा आश्रित परिवार योजना अन्तर्गत सुविधा पाउन पनि कोषको शर्त छ।

यो सुविधा पाउन घटना घटेको मितिभन्दा अघिको १२ महिनामा कम्तीमा ९ महिनाको योगदान रकम कोषमा जम्मा गरेको हुनु पर्नेछ।

त्यस्तै, वृद्धवस्था सुरक्षा सुविधा प्राप्त गर्न योगदानकर्ताले वैदेशिक रोजगारी वा विदेशको स्वरोजगार अन्त्य गरी नेपाल फर्किएको हुनुपर्छ।

योगदानकर्ता निवृत्तभरण योजनामा जम्मा भएको रकम र लगानीबाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल योगदान रकम एकमुष्ट लिन पाइन्छ।

अथवा उक्त एकमुष्ट रकमलाई १६० ले भाग गर्दा आउने रकम प्रत्येक महिना निजले जीवनकालभर पाउने व्यवस्था छ। यी दुवै विकल्पमध्ये योगदानकर्ताले एक विकल्प रोज्न सक्नेछन्।

योगदानकर्ता दुर्घटनामा परेको अवस्थामा अस्पताल भर्ना भई उपचार गराउँदाको एक लाख रुपैयाँसम्म खर्च कोषले भुक्तानी गर्छ।

यस्तो उपचार खर्च कोषले निर्धारण गरेको दर रेटका आधारमा ८० प्रतिशत वा प्रतिवर्ष एक लाखमध्ये जुन कम हुन्छ सो कोषले भुक्तानी गर्ने उल्लेख छ।

दुर्घटनाका कारण अस्थायी पूर्ण असक्षमता भएका योगदानकर्ताले निज काममा फर्कन सक्ने अवस्था नभएसम्म न्यूनतम आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम मासिक रूपमा पाउँछन्।

दुर्घटनाका कारण स्थायी असक्षमता भएमा न्यूनतम आधारभूत पारिश्रमिकको ६० प्रतिशत बराबर रकम जीवनकालभर निवृत्तभरण पाउँछन्।

योगदानकर्ताको मृत्यु भएको अवस्थामा निजको पति वा पत्नीले न्यूनतम आधारभूत पारिश्रमिकको ४० प्रतिशतका दरले जीवनकालभर निवृत्तभरण पाउने व्यवस्था छ। तर योगदानकर्ताका पति वा पत्नीले अर्को विवाह गरेपछि उक्त सुविधा पाइँदैन।

योगदानकर्ताको मृत्यु भएको अवस्थामा निजको १८ वर्ष उमेर पूरा नभएका सन्ततिले शैक्षिक वृत्तिबापत न्यूनतम पारिश्रमिकको ४० प्रतिशत रकम मासिक रूपमा पाउने व्यवस्था छ।

तर एकभन्दा बढी सन्तती सुविधा पाउने अवस्थाको भएमा सो सुविधा दामासाहीले प्रदान गरिनेछ।

योगदानकर्ताको एकाघरको पति वा पत्नी तथा छोरा वा छोरी नभएको अवस्थामा निजसँग आश्रित आमाबुबाले सुविधा पाउने व्यवस्था छ।

आमाबुबालाई न्यूनतम आधारभूत पारिश्रमिकको ४० प्रतिशत रकम निजको जीवनकालभर मासिक रूपमा उपलब्ध गराउने व्यवस्था छ।

अन्तिम संस्कार खर्च बापत पनि कोषले २५ हजार रुपैयाँ उपलब्ध गराउँछ।

वैदेशिक रोजगारमा रहेका श्रमिक तथा स्वरोजगार व्यक्तिलाई कोषले छुट तथा सहुलियतको पनि व्यवस्था गरेको छ।

कोषमा ६ महिनाभन्दा बढी समयको योगदान रकम अग्रीम जम्मा गर्नेलाई १० प्रतिशतसम्म छुट दिने उल्लेख छ।

दुर्घटना तथा अशक्तता र आश्रित परिवार सुरक्षा सुविधा लगातार तीन वर्षसम्म प्रयोग नगर्ने योगदानकर्ताले निवृत्तभरण योजनामा सहभागी हुन सक्नेछन्।

त्यसका लागि निवेदन दिएमा उक्त योजनाअन्तर्गत जम्मा भएको २० प्रतिशत रकम वृद्धावस्था सुरक्षा योजनामा जम्मा हुने व्यवस्था छ।

त्यस्तै, सम्बन्धित देशमा लाग्ने खर्च कटाइ आम्दानीको ७० प्रतिशत रकम बैंकिङ माध्यममार्फत् नेपाल पठाउनेलाई कोषले छुटको व्यवस्था गरेको छ।

उनीहरूलाई वृद्धावस्था बाहेकका योजनाहरूमा जम्मा गर्नुपर्ने रकममा २० प्रतिशतसम्म छुट दिने व्यवस्था कोषले गरेको छ।

Published on: 23 March 2023 | Setopati

Link

Back to list

;