s

वैदेशिक रोजगारीमा पुरुष घटे, महिला घटेनन्

 काठमाडौं- अघिल्लो वर्षको तुलनामा यो वर्ष वैदेशिक रोजगारीमा जाने पुरुषको संख्या निरन्तर घटिरहे पनि महिला भने घटेका छैनन्। वैदेशिक रोजगार विभागका अनुसार अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको सुरुवातीसँगै वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बढिरहेको छ।
 
अघिल्लो वर्षसम्म पुरुषको तुलनामा सरदर ४.२९ प्रतिशत महिला वैदेशिक रोजगारीमा जाने गरेकोमा चालु आर्थिक वर्षको साउनयता अघिल्लो वर्षको तुलनामा बिदेसिने महिला ६.२२ प्रतिशत पुगेका छन्। गएको मंसिरमा बिदेसिने महिलाको संख्या बढेर ६.२२ प्रतिशतसम्म पुगेको विभागले जनायो।
 
चालु आर्थिक वर्षको सात महिनामा (साउनदेखि माघसम्म) दुई लाख ४४ हजार पाँच सय २४ ले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाँदा १२ हजार ९० महिला गएका छन्। यसबीचमा सबभन्दा बढी पाँच हजार ४६ महिला संयुक्त अरब इमिरेट्स गएका छन्। अघिल्लो वर्ष सोही अवधिमा तीन लाख २० हजार दुई सय ८० जना बिदेसिएका थिए। आर्थिक वर्ष ०७१/७२ मा पाँच लाख १२ हजार आठ सय ८७ ले श्रम स्वीकृति लिँदा महिलाको संख्या २२ हजार २८ थियो। अवैध बाटो प्रयोग गर्ने तथा पर्यटक भिसामा देश छोड्ने महिलाको संख्या जोड्ने हो भने यसपटक बिदेसिने महिला विगतको तुलनामा निकै बढी हुने वैदेशिक रोजगारीलाई सूक्ष्म ढंगले अध्ययन गरिरहेका व्यक्तिहरु बताउँछन्।
 
किन बढ्यो आकर्षण?
 
आठ कक्षासम्म अध्ययन गरेकी सुर्खेत, मेहलकुनाकी शान्ति सुनारलाई गाउँकै आफन्त पर्नेले वैदेशिक रोजगारीमा गए मासिक ३० हजार रुपैयाँ तलब हुने सुनाएको ६ महिनामै कुबेत गइन्। गाउँमा गर्नुपर्ने घाँस, दाउराको कामले आजित सुनारलाई कुनै नयाँ काम गर्ने सोच आइरहेको बेला वैदेशिक रोजगारीको प्रस्तावले आकर्षित गरेको हो। अघिल्लो साता कुबेत उडेकी सुनार गाउँमा जति मेहनत गरे पनि खासै आर्थिक प्रगति हुने नदेखिएपछि वैदेशिक रोजगारीमा जाने निर्णयमा पुगेको बताउँछिन्। 'राम्रो शिक्षा नभएकाले स्वदेशमा राम्रो रोजगारी पाउने सम्भावना थिएन,' विदेश उड्नुअघि उनले भनेकी थिइन्।
 
तीन वर्ष साउदी बसेर फर्केकी सिन्धुपाल्चोक, स्याउलेकी सविना लामा पुनः विदेश जाने तयारीमा छिन्। तीनवर्षे वैदेशिक रोजगारी सन्तोषजनक भएको बताउने लामाले विदेशबाट फर्कनुअघि स्वदेशमै बस्ने योजना बनाए पनि गाउँमा बस्ने वातावरण नभएको बताइन्। 'दैनिक गुजारा चलाउन पनि गाउँमा कुनै अवसर भएन,' उनले भनिन्, 'वैदेशिक रोजगारीमा गए मन लागेको लाउन, खान पाइने र घर फर्कंदा रकम पनि बचत हुन्छ। तर, गाउँमै बस्ने हो भने सधैं गुजारा चलाउन हम्मेहम्मे पर्ने अवस्था छ।'
 
पछिल्लो समयमा वैदेशिक रोजगारीमा महिलाको संख्या बढ्दै जानुको कारणमा स्वदेशमा सानातिना पनि अवसर नपाउनुलाई मानिएको छ। खासगरी बढीमा एसएलसीसम्म अध्ययन गरेका धेरै महिलालाई यतिखेर वैदेशिक रोजगारीको मोहले लोभ्याइरहेको पाइन्छ। वैदेशिक रोजगार व्यवसायीका अनुसार गाउँमा जति मेहनत गर्दा पनि दुई/चार सय रुपैयाँ कमाउन नसक्ने महिलाले विदेशमा वर्षमै तीन/चार लाख रुपैयाँसम्म कमाउन थालेपछि देखासिकी गर्ने क्रम बढेको छ। केही वर्षअघिसम्म वैदेशिक रोजगारीमा जाँदा समाजबाट अनेक लाञ्छना सुन्ने गरेका महिलालाई पछिल्लो समयमा विदेश जाँदा समाजले पनि सामान्य रूपमा लिन थालेपछि आकर्षण बढेको विश्लेषण गरिन्छ।
 
केही व्यक्ति भने वैदेशिक रोजगारीमा महिला संख्या बढ्नुमा गाउँगाउँमा दलालको बिगबिगी बढ्नुलाई पनि कारण मान्छन्। सामान्य पढलेख गरेका महिला सहजै दलालको प्रलोभनमा पर्ने गरेको पनि पाइएको छ। व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिकी सदस्य तथा सभासद पेम्बा लामा वैदेशिक रोजगारीमा महिलाको संख्या बढ्नुमा सोझासिधा महिलालाई झुक्याउने, प्रलोभनमा पार्ने घटना वृद्धि र स्वदेशमा महिलाको आर्थिक अवस्था सुधार गर्न सशक्तीकरणका कार्यक्रम सञ्चालन नहुनुलाई मुख्य कारण ठान्छिन्। 'आर्थिक क्षेत्रमा महिलालाई सशक्तीकरण गर्न सके र पुरुषसरह ज्याला दिने हो भने पनि धेरै महिलालाई न्याय हुन सक्छ,' लामाले भनिन्। विभागका अनुसार रोजगारीका लागि धेरै महिला जाने देशमा युएई, कुबेत, साउदी, मलेसिया, ओमान, बहराइन हुन्।
 
Published on: 25 February 2016 | Nagarik

Back to list

;