s

वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी

रंगेहात पक्राउ परेका विदेशीविरुद्ध विभागले मुद्दा चलाउन मानेन

वैदेशिक रोजगारीमा युरोप पठाउने भन्दै ठगी गर्दै आएका दुई विदेशी नागरिकलाई प्रहरीले रंगेहात पक्राउ गरेको भए पनि मुद्दा भने नचलाएको पाइएको छ । वैदेशिक रोजगार विभागले कारबाहीमा अनिच्छा देखाउँदा २२ दिन प्रहरीको हिरासतमा बसेका युक्रेनी नागरिक रिहा भएका हुन् ।

युक्रेनी नागरिक विली भिटाली र उनकी महिला साथी मेल्नाइचुक नाटालियाले बागबजार क्षेत्रमा ‘पिपुल वर्क ग्रुप’ नाममा केही महिनायता कार्यालय नै सञ्चालन गरेका थिए । पर्यटक भिसामा नेपाल आएका उनीहरूले सूचना प्रविधि तथा सेवाको उद्देश्य राखेर कम्पनी स्थापना गरी ८ जना कर्मचारीसमेत राखेका थिए । उनीहरूले सामाजिक सञ्जालमार्फत आकर्षक रोजगारीको प्रलोभन देखाएर युवायुवती ठगी गरेको प्रमाणस्वरूप प्रहरीले आवश्यक कागजात तथा अन्य सामग्री बरामद गरेको थियो ।

विभागले मुद्दा चलाउन मानेन

नेपाली युवायुवतीलाई युरोपमा आकर्षक रोजगारीमा पठाइदिने भन्दै रकम उठाउँदै आएको जानकारीका आधारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अग्रसरतामा महानगरीय अपराध महाशाखाको टोलीले ३० साउनमा कार्यालयमा छापा मारेको थियो । त्यस क्रममा वैदेशिक रोजगार विभागका निर्देशक टंक चौलागार्इंसमेत सहभागी थिए । महाशाखाले ३१ साउनमै मुद्दा छानबिन तथा अनुसन्धानका लागि वैदेशिक रोजगार विभागमा पठाउन चाहेको थियो । तर, विभागका कर्मचारीले त्यतै मिलाउनुहोस् भन्दै पन्छाएको महाशाखाका डिएसपी मनोहर भट्टले बताए ।

निर्देशक चौलागाईंले भने प्रहरीले उक्त मुद्दा विभागमा नल्याएको बताए । ‘त्यो प्रहरीले नै हेर्ने केस हो,’ उनले नयाँ पत्रिकासँग भने, ‘म छापा मार्ने टोलीमा सहभागी भएकाले मात्रै मुचुल्कामा सही गरेको हुँ । उसले कन्सल्टेन्सीका रूपमा दर्ता भएर ठगी गरेकाले त्यो मुद्दा प्रहरीले नै चलाउने हो ।’ तर, वैदेशिक रोजगार विभागका सूचना अधिकारी उद्धवप्रसाद रिजालले भने उक्त मुद्दामा वैदेशिक रोजगार ऐनअनुसार नै कारबाही गर्न सकिने भए पनि अहिलेसम्म विभागमा मुद्दा आइनपुगेको उनले बताए ।

सरकारी वकिल कार्यालयले  फिर्ता पठायो

नयाँ मुलुकी ऐन लागू भएपछि सरकारी वकिल कार्यालयले ऐनको ठगी महलबमोजिमका मुद्दा र बैंक खातामा पर्याप्त रकम नभएको बैंकिङ कसुरबाहेकका मुद्दाउपर छानबिन तथा अनुसन्धान गर्ने अधिकार प्रहरीको नभएको भन्दै फिर्ता पठाउँदै आएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले १८ भदौमा अदालतमा पेस गर्न भन्दै अनुसन्धान प्रतिवेदनसहितको मिसिल सरकारी वकिल कार्यालयको जिम्मा लगायो । तर, कार्यालयले भने २० भदौमा ठगी मुद्दा नचलाउने गरी निर्णय भएको उल्लेख गर्दै फिर्ता पठाएपछि प्रहरीले सोही दिन दुवै युक्रेनी नागरिकलाई छाडिसकेको छ ।

के छ ऐनमा कारबाहीको व्यवस्था

वैदेशिक रोजगार ऐनको दफा ४३ मा वैदेशिक रोजगार व्यवसायका लागि इजाजतपत्र नलिई कसैलाई वैदेशिक रोजगारमा लगाइदिन्छु भनी झुठो आश्वासन दिएर तथा प्रलोभन देखाई रकम लिएमा, विदेश पठाएमा, त्यसरी लिएको रकम र सोको ५० प्रतिशत रकम हर्जानाबापत असुल गरी पीडित व्यक्तिलाई विदेश जान र आउन लागेको खर्चसमेत भराई ३ लाख जरिवाना र ३ देखि ७ वर्षसम्म कैद सजाय हुने स्पष्ट व्यवस्था छ ।

Published On: 19 September 2018 | Naya patrika

Back to list

;