s

वैदेशिक रोजगारीमा मृत्यु हुनेको परिवारले बुझेनन् क्षतिपूर्ति रकम

वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका तनहुँका चार श्रमिकका परिवारले क्षतिपूर्तिबापतको रकम अझै लगेका छैनन् । कार्यालयले सम्पर्क गर्दा पनि मृतकका परिवार क्षतिपूर्ति रकम लिन आएका छैनन् । वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका साबिक जामुने गाविस– ९ का होमबहादुर विश्वकर्माको क्षतिपूर्तिको रकम ३ लाख ४८ हजार ६ सय ४७ रुपैयाँ, मिछरिङ निवासी लोकेन्द्र थापाको ४६ हजार पाँच सय, साबिक राईपुर गाविस– ३ का प्रह्लाद आलेको ६२ हजार ९ सय एक र साबिक सुन्धारा गाविस– १ को ओमबहादुर लामाको ९ हजार ९ सय ८० गरी कुल ४ लाख ६८ हजार २८ रुपैयाँ क्षतिपूर्ति रकम खातामा रहेको प्रशासनले जनाएको छ । ०६९ सालदेखि मृत्यु भएकाको क्षतिपूर्तिको रकम कार्यालयको खातामा नै रहेको छ । सात वर्ष बितिसक्दासमेत पीडितका परिवार कोही पनि क्षतिपूर्ति लिन आएका छैनन् ।

‘एकजनाको परिवार सम्पर्कमा थियो । हामीले आवश्यक कागजातसहित क्षतिपूर्ति लिन बोलाएका थियौँ । तर, उहाँहरू आउनुभएन,’ जिल्ला प्रशासन कार्यालय तनहुँका लेखापाल राधिका गौतमले भनिन्, ‘अन्य तीन मृतकका परिवारका सदस्य हालसम्म पनि सम्पर्कमा आएका छैनन् ।’

क्षतिपूर्ति उपलब्ध गराउन पीडित परिवारलाई सम्पर्क गरिराखेको लेखापाल गौतमले बताइन् । ‘वडासचिवहरूलाई समेत गाउँ–गाउँमा पीडित परिवारबारे बुझ्न भनेकी छु, तर कोही भेटिएका छैनन् ।’ रोजगारीका क्रममा विदेशी भूमिमा मृत्यु भएका कामदारका  परिवारलाई कम्पनीले परराष्ट्र मन्त्रालयमार्फत क्षतिपूर्ति रकम पठाउने गर्छ । श्रम स्वीकृत लिएर विदेश गएकाहरूको काम गर्ने क्रममा मृत्यु भएमा उनीहरूका आश्रित परिवारले क्षतिपूर्ति पाउने गर्छन् ।

Published on: 2 November 2018 | Naya Patrika

Back to list

;