s

वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारलाई राहत रकम बढाइने

काठमाडौँ — वैदेशिक रोजगार बोर्डले श्रम स्वीकृतिको अवधिभित्र गन्तव्य देशमा मृत्यु भएका नेपाली श्रमिकको परिवारलाई दिइँदै आएको राहत रकम बढाउने निर्णय गरेको छ । राहत रकम निर्धारण गर्न श्रमसचिव केवलप्रसाद भण्डारीको नेतृत्वमा अध्ययन समिति गठन गरिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको अध्यक्षतामा बसेको बोर्डको बैठकले मृतकका परिवारलाई दिइँदै आएको आर्थिक सहायता रकम बढाउने निर्णय गरेको हो ।

‘अहिले दिइँदै आएको ७ लाख रुपैयाँ अपुग भयो । कम्तीमा १० लाख रुपैयाँ निर्धारण हुनेछ । त्योभन्दा बढी निर्धारण गर्नको लागि अध्ययन समिति बनाइएको छ । कोषको क्षमता हेरी हामी अब राहत रकम तोक्नेछौं’, सचिव भण्डारीले भने । यसको लागि चालु आर्थिक वर्षको बोर्डको राहत रकमको बजेट बढाइएको छ ।

बोर्डले २०७४/७५ देखि मृतक परिवारलाई ७ लाख रुपैयाँ उपलब्ध गराइँदै आएको थियो । श्रमिकले श्रम स्वीकृति गर्ने बेला जम्मा गरेको कल्याणकारी कोषबाट बोर्डले राहत रकम उपलब्ध गराउँदै आएको हो । यो कोषमा सरकारी रकम जम्मा हुँदैन । कोषमा श्रमिकले तीन वर्षसम्मको श्रम स्वीकृति लिँदा एक हजार पाँच सय र त्यसभन्दा बढीको लागि दुई हजार ५ सय रुपैयाँ अनिवार्य रुपमा जम्मा गर्नुपर्छ ।

बोर्डले ०६५ देखि ७८/७९ सम्म १० हजार ६ सय ६६ जनालाई आर्थिक सहायता रकम उपलब्ध गराइसकेको छ । बोर्डले मृतकका परिवारको लागि उपलब्ध गराउँदै आएको वार्षिक शैक्षिक छात्रबृत्ति पनि बढाउने निर्णय गरेको छ । अब कक्षा ८ सम्मको लागि १२ हजार र कक्षा १२ सम्मको लागि १६ हजार ५ सय रुपैयाँ शैक्षिक छात्रबृत्ति दिइने भएको हो । यसअघि कक्षा ८ सम्म ८ हजार र १२ कक्षासम्मको लागि १२ हजार चार सय रुपैयाँ दिइँदै आएको थियो ।

Published on: 10 August 2023 | Kantipur

Link

Back to list

;