s

वैदेशिक रोजगारीमा जानुअघि महिलाले सनाखत गर्नुपर्ने

रुद्र खड्का
 
काठमाडौं- वैदेशिक रोजगारीका लागि खाडी मुलुक पुगेका महिला शोषणमा पर्ने घटना बढिरहेको बेला श्रम तथा रोजगार मन्त्रालयले विदेश जानुअघि महिला आफैंले काममा मन्जुरी जनाउँदै सनाखत गर्नुपर्ने व्यवस्था गरेको छ । वैदेशिक रोजगारीमा जाने महिला श्रम स्वीकृति जारी गर्ने कार्यालयमा उपस्थित भएरै सनाखत गर्नुपर्ने व्यवस्था गरिएको हो।
 
वैदेशिक रोजगारीमा जाने युवतीलाई काममा दक्ष बनाएर पठाउनुपर्ने आवाज उठिरहेको बेला मन्त्रालयले सम्बन्धित काममा राजीखुसीले जान लागेको भन्दै मेनपावर, श्रम स्वीकृति जारी गर्ने वैदेशिक रोजगार विभाग र महिलाबीच त्रिपक्षीय सनाखत अनिवार्य गरेको हो। विभागको काठमाडौं कार्यालयका निर्देशक कृष्णप्रसाद दवाडीका अनुसार क्लिनरको काम भनेर श्रम स्वीकृति निकालेका महिलाले घरेलु कामदारको रूपमा काम गरेको पाइएपछि श्रम तथा रोजगार मन्त्रीको निर्देशनमा सनाखत अनिवार्य गरिएको हो ।
 
हाललाई अदक्ष र अर्धदक्ष काम गर्न वैदेशिक रोजगारीमा जाने महिलाका लागि सनाखत अनिवार्य गरिएको छ। दवाडीले भने, 'सबै प्रक्रिया पूरा गरी उड्ने तयारी गरेका महिलाले सम्बन्धित काममा राजीखुसीले जान लागेको भनी सनाखत गराउँदा घरेलु कामदारको रूपमा परिणत नहोस् भनेर सनाखतको प्रक्रिया सुरु गरिएको हो।' अदक्ष र अर्ध दक्ष काममा गएका महिलाहरू जानीबुझीकन घरेलु कामदार बन्न पुगेको खण्डमा त्यसको जिम्मेवारी महिला नै हुने बताइएको छ।
 
घरेलु कामदारको रूपमा खाडी पुगेका महिला शारीरिक, आर्थिक, मानसिक शोषणमा पर्ने क्रम नरोकिएपछि हाल मन्त्रालयले महिलालाई उक्त काममा खाडी मुलुक पठाउन रोक लगाएको छ। घरेलु कामदार रोकिएको बेला अन्य कामको सम्झौता गरी खाडी पसेका महिलालाई धमाधम सम्झौता विपरीत घरेलु कामदारको रूपमा लगाउने क्रम बढेको सरकारी अधिकारी बताउँछन्।
 
उच्च सीप भएका महिलाका लागि भने सनाखत गर्नुपर्ने नियम बनाइएको छैन। सरकारी अधिकारीका अनुसार नेपालले कामदार पठाउने मुलुकसँग श्रम सम्झौता गर्न नसक्दा वैदेशिक रोजगारीमा विकृति देखिएका हुन्। साउदीसँग घरेलु कामदार लगायत सबै कामदारका लागि श्रम सम्झौताको प्रक्रिया अन्तिम चरणमा पुगे पनि नेपाली अधिकारीका ढिलासुस्तीका कारण श्रम सम्झौता हुन सकेको छैन। श्रम तथा रोजगार मन्त्रालयका एक अधिकारीले भने, 'श्रम सम्झौता गरेपछि भविष्यमा कुनै समस्या आउन सक्ने भयका कारण सम्बन्धित कामको जिम्मा लिएका कर्मचारीले आलटाल गर्दा कामदारलाई समस्या भइरहेको हो।' हाल नेपालले विश्वका एक सय १० देशमा कामदार पठाउन श्रम स्वीकृति जारी गर्ने भए पनि ६ देशसँग मात्र श्रम सम्झौता गर्न सकेको छ।
 
साउदीमा करिब तीन वर्ष श्रम सहचारीको जिम्मेवारी पूरा गरी अघिल्लो महिना स्वदेश फर्केका दवाडीका अनुसार घरेलु कामदारबारे गन्तव्य मुलुक र रोजगारदाता मुलुकबीच श्रम सम्झौता हुने हो भने पीडितको संख्या निकै घट्न सक्छ। खाडी मुलुकमा महिला शोषणमा पर्नुको कारण सम्बन्धित परिवार पनि दोषी हुने गरेको उनको अनुभव छ। 'घरबाट कोही महिलालाई गैरकानुनी रूपमा वैदेशिक रोजगारीमा पठाइन्छ भने महिलालाई जोखिम बनाउने मतियारको रूपमा सम्बन्धित महिलाको परिवारलाई पनि कारबाही गर्नुपर्ने नियम आवश्यक छ,' उनले भने। मेनपावर सञ्चाकलले भने महिलाद्वारा सनाखत गर्नुपर्ने व्यवस्थालाई बेकामे भनेका छन्। नोकरी डट कम मेनपावरका सञ्चालक नरेन्द्रप्रसाद ढकालले विदेश जान खोजेका महिलालाई सनाखत गर्न विभागमा लैजाँदा एकातिर मेनपावरका लागि झन्भि्कटलो भएको र अर्कोतर्फ कर्मचारीलाई कामको बोझ थपिएको गुनासो गरे।
 
धमाधम श्रम स्वीकृति
 
निःशुल्क भिसा र शुल्कको निर्णय उल्टाउनुपर्ने लगायत माग राखेर मेनपावर व्यवसायीले साढे एक महिनादेखि आन्दोलन जारी राखेको घोषणा गरिरहेको बेला विभागको काठमाडौं कार्यालयबाट दैनिक ठूलो संख्यामा श्रम स्वीकृति जारी भइरहेको छ। कार्यालयका अधिकृत ताराबहादुर कुँवरले एक सातायता श्रम स्वीकृति निकाल्नेको संख्या झनै बढेको बताए। कतार शाखामा कार्यरत कुँवरका अनुसार आइतबार कतारका लागि मात्र नौ सय श्रम स्वीकृति जारी भयो।
 
उक्त कार्यालयका अनुसार मेनपावर व्यवसायीको आन्दोलन सुरु भएयता संस्थागत (मेनपावर) तर्फ चार हजार २९ श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन्। जसमा दुई सय ८६ महिला छन्। सोही अवधिमा व्यक्तिगततर्फ श्रम स्वीकृति लिनेको संख्या भने १३ हजार नौ सय ८९ छ। व्यक्तिगततर्फ पाँच सय ८६ महिलाले श्रम स्वीकृति लिएको विभागको काठमाडौं कार्यालयले जनायो।
 
Published on: 11 April 2016 | Nagarik

Back to list

;