s

वैदेशिक रोजगारीमा जानुअघि बैंक खाता खोल्नुपर्ने व्यवस्था गरिँदै

काठमाडौँ — वैदेशिक रोजगारीमा जानुअघि विदेशी मुद्रा सटही गर्दा बैंक खाता अनिवार्य रुपमा खोल्नुपर्ने व्यवस्था गरिन लागेको छ । वैदेशिक रोजगारीमा गएका नागरिकलाई बैकिङ प्रणालीमार्फत मात्र रेमिट्यान्स पठाउने व्यवस्था गर्नका लागि विदेश जानुअघि अनिवार्य रुपमा बैंक खाता खोल्नुपर्ने व्यवस्था गर्न लागिएको हो । मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले उक्त व्यवस्था घोषणा गरेको थियो ।

‘वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीहरुले विदेशी मुद्रा सटही सुविधा प्राप्त गर्न अनिवार्य रुपमा बैंक खाता हुनुपर्ने लगायत रेमिट्यान्स औपचारिक माध्यमबाट स्वदेश भित्र्याएको प्रमाणका आधारमा विभिन्न सेवा तथा सुविधा उपलब्ध हुने व्यवस्था गर्न नेपाल सरकारका सम्बन्धित निकायहरुसँग आवश्यक समन्वय गरिनेछ,’ चालु आर्थिक वर्षको मौद्रिक नीतिमा भनिएको छ ।

कोभिड–१९ को संक्रमणपछि करिब ६ लाख नेपाली वैदेशीक रोजगारीमा गएका छन् । तर, वैदेशिक रोजगारीमा जानेको संख्या बढेको अनुपातमा रेमिट्यान्स बढ्न सकेको छैन । हुण्डी लगायत अनौपचारिक माध्यमबाट पैसा पठाउने क्रम बढेकाले वैधानिक प्रणालीबाट अपेक्षित रुपमा रेमिट्यान्स आउन नसकेको अनुमानहरु गरिएका छन् । त्यस्ता गतिविधिलाई कम गरी धेरै भन्दा धेरै रेमिट्यान्स वैधानिक प्रणालीबाट भित्र्याउन विदेश जानुअघि अनिवार्य रुपमा बैंक खाता खोल्नु पर्ने प्रावधान ल्याउन लागिएको राष्ट्र बैंकले जनाएको छ ।

Published on: 28 July 2022 | Kantipur

Link

Back to list

;