s

वैदेशिक रोजगारीमा जानेमध्ये आधाजसो स्वदेशमै शोषित

वैदेशिक रोजगारीमा देखिएका अनेक समस्यामध्ये आधाजसो स्वदेशमै हुने गरेको पाइएको छ। गन्तव्य मुलुकमा नेपाली रोजगारदाता र सरकारको पहुँच नभएका कारण कामदार समस्यामा परिरहेको गुनासो व्याप्त रहेको बेला आफ्नै ठाउँमा ठूलो संख्याका कामदार ठगीमा परिरहेको नयाँ तथ्य सार्वजनिक भएको हो ।
 
वैदेशिक रोजगारीमा जाने कामदारलाई कानुनी सहायता प्रदान गरिरहेको मानव अधिकारका लागि जनमञ्चले गरेको अध्ययनमा कामदार शोषणको मुख्य केन्द्र आफ्नै मुलुक पाइएको हो । उक्त अध्ययनका अनुसार वैदेशिक रोजगारीमा जाने युवामध्ये ४५ प्रतिशत विदेश जानुअघि नै शोषणमा पर्ने गर्छन् । वैदेशिक रोजगारीको क्रममा ठगीमा परेको तथा सम्झौता अनुसार काम नपाएको भन्दै वैदेशिक रोजगार विभागमा वर्षमा सरदर दुई हजार उजुरी पर्ने गर्छन् । जसमध्ये अधिकांशले न्याय पाउन सक्दैनन्।
 
जनमञ्चका सल्लाहकार तथा अधिवक्ता सोम लुइँटेल वैदेशिक रोजगारीमा जानुअघि नै ठूलो संख्याका युवा ठगीमा पर्ने गरेको तथ्य भेटिएकाले सरकारले कामदारको भर्ना प्रक्रिया सुधार गर्न जोड दिनु पर्ने बताउँछन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको वैदेशिक रोजगारी सम्बन्धी कानुन तथा विभिन्न गन्तव्य मुलुकसँगका श्रम सम्झौता पुनरावलोकन कार्यदलका सदस्यसमेत रहेका लुइँटेलले भर्ना प्रक्रियालाई सुधार गर्न सक्ने हो भने वैदेशिक रोजगारीका थुप्रै विकृति अन्त्य हुने बताए।
 
उनले वैदेशिक रोजगारीका विकृति अन्त्य गर्नुपर्ने आवाज उठे पनि पछिल्लो ६/७ वर्षदेखि समस्या उस्तै रहेको बताए । उक्त अध्ययनमा कामदारलाई शोषण गर्नेमा एजेन्ट र मेनपावर व्यवसायी रहेको उल्लेख छ । कामदारसँग रकम असुल गरेर विदेश नपठाउने, सम्झौता अनुसार काम र पारिश्रमिक उपलब्ध नगराउने, कामदारलाई विदेशमा अलपत्र पार्ने, विदेशको स्वास्थ्य परीक्षणमा कामदार फेल हुने समस्याको रूपमा देखिएका छन् ।
 
यस्तै महिलालाई संस्थागत कामको नाममा पठाएर गन्तव्य मुलुकमा घरेलु कामदार पठाएर अलपत्र पार्ने समस्या चर्को रूपमा बढेको पाइएको छ । घरेलु कामदारको रूपमा पुगेका महिलामाथि शारीरिक र आर्थिक शोषण भएको भन्दै दुई वर्षअघि सरकारले खाडी मुलुकमा घरेलु कामदारको रूपमा महिलालाई पठाउन रोक लगाएको छ।
 
सरकारले खाडी मुलुकमा घरेलु कामदारको रूपमा महिलालाई पठाउन रोक लगाएपछि एजेन्ट र मेनपावरले भारतगायतका मुलुक हुँदै अवैध तरिकाले महिलालाई पठाउने क्रम बढेको बताइन्छ । कतिपय मेनपावरले क्लिनरको भिसा निकालेर महिलालाई विदेश पठाउने र उता पुगेपछि घरेलु कामदारको रूपमा लगाउने समेत गरेको गुनासो व्याप्त छ । साथै गन्तव्य मुलुकमा निधन भएका कामदारको लाश लामो समयसम्म पुग्न नसक्नु पनि समस्याको रूपमा फेला परेको अधिवक्ता कृष्ण न्यौपानेले बताए।
 
वैदेशिक रोजगारीमा जाने कामदारमध्ये ४५ प्रतिशत स्वदेशमै शोषित भइरहेको बेला गन्तव्य मुलुकको हकमा भने मलेसियाको रोजगारी पहिलो नम्बरमा समस्याको रूपमा देखिएको छ । कुल समस्यामध्ये २० प्रतिशत मलेसिया गएका रहेको सोही अध्ययनमा उल्लेख छ । मलेसियापछि कामदार समस्यामा पर्ने गन्तव्य मुलुकमा क्रमशः साउदी अरेबिया, कतार र संयुक्त अरब इमिरेट्स छन्।
 
ठगीमा पर्ने तराईंका बढी
 
वैदेशिक रोजगारीको क्रममा ठगीमा पर्नेमध्ये तराईंमा घर भएका बढी हुने गरेको भेटिएको छ । सोही अध्ययन अनुसार ठगीमा पर्ने गरेका प्रमुख १० जिल्लामध्ये क्रमशः सर्लाही, नवलपरासी, सप्तरी, सुनसरी, झापा, महोत्तरी, काभ्रेपलाञ्चोक, धनुषा, मोरङ र सिन्धुपाल्चोक छन् ।
 
संस्थागत ठगी दुई तिहाई
 
वैदेशिक रोजगारीमा जानेमध्ये दुई तिहाई कामदार संस्थागत (मेनपावरको) ठगीमा पर्ने गरेको अध्ययनमा पाइएको छ । समस्यामा परेका कुल कामदारमध्ये मेनपावरको ठगीमा ६६ प्रतिशत पर्छन् भने ३४ प्रतिशत व्यक्तिगत ठगीमा पर्ने गरेका छन् ।
 
विज्ञहरूले ठगी गर्ने मेनपावरलाई कारबाही गर्न सक्ने हो भने भने वैदेशिक रोजगारीका विकृति घटाउन निकै सहयोग पुग्ने बताउँछन् । वैदेशिक रोजगारीको क्रममा पीडित भएका कामदार न्यायका लागि विभाग पुग्दा निकै कम मेनपावरलाई कारबाही हुने गरेको पाइन्छ । कामदार ठगी गर्ने मेनपावरलाई कारबाही गर्नुको साटो विभागले कामदारसँग मिलापत्र गराउँदा ठगीका घटना कम हुन नसकेको भुक्तभोगीको अनुभव छ ।
 
Published on: 12 July 2018 | Nagarik

Back to list

;