s

वैदेशिक राेजगारीमा जानेलाई संचय कोषकाे व्यवस्था गर्ने सरकारको तयारी

श्रम रोजगार तथा सामाजि सुरक्षा मन्त्रालयले विदेश जाने कामदारको नेपालमा संचय कोषको व्यवस्था गर्ने तयारी अघि बढाएको छ। व्यवस्थापिका संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बोल्दै मन्त्री गोकर्ण विष्टले स्वदेश र विदेशमा रहने नेपाली श्रमिकको सामाजिक सुरक्षाको व्यवस्था गर्न लागिएको जानकारी दिए।

नेपालमा रहेका श्रमिकहरुको संचय कोषको व्यवस्था गर्न अहिलेकै सामाजिक सुरक्षा कोषलाई सक्रिय बनाउने मन्त्रालयको तयारी छ।

तर विदेशमा जाने कामदारहरुको संचय कोष र अन्य सामाजिक सुरक्षा कार्यक्रमको लागि अध्ययन कार्यदल गठन गरिएको विष्टले जानकारी दिए।

उनका अनुसार अहिले मन्त्रालयले संचय कोष, राष्ट्र बैंक र मन्त्रालयका अधिकारीसहितको कार्यदल बनाइएको र त्यसले दिने सुझावको आधारका कार्यक्रम ल्याइने छ।

सबै श्रमिकलालाई सामाजिक सुरक्षाको छातामुनि ल्याउने आफ्नो योजना रहेको उनले बताए।

‘उमेर हुन्जेल सबै श्रमिकले काम गर्छन् तर पछि उमेर गएपछि वा अशक्त भएपछि पनि जीवन चलाउन सहज होस् भनेर संचय कोष वा त्यस्तै सामाजिक सुरक्षाको कार्यक्रम हामी बनाउँछौं’ उनले भने,‘त्यसरी श्रमिकले गरेको न्यूनतम योगदानको कोषबाट सरकारले लाभदायक परियोजनामा लगानी गरिदिएर आयको स्रोत बनाइदिनसक्छ वा बढाइदिने स्किम ल्याउँछ।’

विदेशमा काम गर्न जाने कामदारको हकमा भने कानूनी तथा प्राविधिक समस्या रहेकोले अहिले अध्ययन भइरहेको र उक्त अध्ययनपछि आउने सुझावको आधारमा कार्यक्रम आउने उनको भनाइ छ।

विदेशमा कमाएको तलबबाट न्यूनतम रकम संचय कोष वा अन्य कोषमा जम्म हुने व्यवस्था मिलाइने र त्यहाँबाट आउने ब्याजबाट कामदारका नेपालस्थित परिवारलाई सामाजिक सुरक्ष दिन सकिने उनको भनाइ छ।

कामदार फर्किएर कोषमा योगदानलाई निरन्तरता दिन पनि सक्ने र नदिएपनि त्यही रकमलाई लगानी गरिदिएर नियमित आयको स्रोत बनाइदिने वातावरण सरकारले बनाइदिने विस्टको भनाइ छ।

Published on: 16 August 2018 | Setopati

Back to list

;