s

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण गर्ने १० संस्था खारेज

कान्तिपुर संवाददाता

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण गर्ने १० वटा संस्थालाई खारेज गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले  नवीकरणका लागि कागजात पेस नगरेको र चित्तबुझ्दो स्पष्टीकरण नभएको भन्दै माघ १३ गते ती मेडिकल संस्थाहरूलाई खारेज गरेका हुन् । 

मन्त्रालयका अनुसार नियमअनुसार पुस मसान्तसम्म र थप गरिएको १५ दिनभित्र पनि नवीकरण गर्न नआएकाले विशेषज्ञ समितिको सिफारिसका आधारमा खारेज गरिएको हो । मन्त्रालयले खारेज गरेका स्वास्थ्य संस्थामा सुधा हेल्थ एन्ड मेडिकल सेन्टर, साउदी नेपाल मेडिकल सेन्टर, अनुरोध पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, गोदावरी डायग्नोस्टिक सेन्टर, पर्फेक्ट डायग्नोस्टिक सेन्टर, मेट्रो काठमाडौं अस्पताल, अल्का अस्पताल, अल्का पोलिक्लिनिक, रिलायबल मेडिकल सेन्टर र कन्काई डायग्नोस्टिक सेन्टर रहेका छन् । 

यसअघि पनि मन्त्रालयले ३५ वटा स्वास्थ्यसंस्थालाई खारेज गरिदिएको थियो । श्रम मन्त्रालयले आफ्नो सूचीकरणबाट हटाएका यी संस्थाले अब वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्न पाउनेछैनन् ।

मन्त्रालयले सूचीकरण खारेज भएका स्वास्थ्य संस्थालाई तत्काल आफ्नो धरौटी फिर्ता लैजान आग्रह गरेको छ । यसअघि वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न सूचीकरण हुँदा राखेको ३ लाख धरौटीमा दुई लाख थप गरी पाँच लाख नगद धरौटी बुझाउनुपर्ने बाध्यकारी व्यवस्था गरिएको थियो । सरकारले व्यवस्था गरेअनुसार थप धरौटी राख्न मेडिकल संस्थाहरू अनिच्छुक देखिएका छन् ।

Published on: 1 February 2021 | Kantipur

Link

Back to list

;