s

वैदेशिक रोजगारीमा जानेको संख्यामा भारी गिरावट

वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्यामा भारी गिरावट आएको छ । गत आर्थिक वर्षको जेठ महिनाको तुलनामा असार महिनामा म्यानपावर कम्पनी मार्फत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ८ हजार भन्दा बढीले घटेको छ ।
 
वैदेशिक रोजगार विभागले तयार पारेको विवरण अनुसार असारमा संस्थागत रुपमा १४ हजार १ सय ९० जना कामदार मात्र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका छन् । जेठ महिनामा संस्थागत रुपमा जाने कामदारको संख्या २४ हजार ६ सय १२ रहेको थियो । गत वर्ष २०७४ असारमा संस्थागत रुपमा २२ हजार ३ सय १९ जना कामदार वैदेशिक रोजगारीमा गएका थिए ।
 
सबैभन्दा धेरै नेपाली कामदार जाने मलेसियामा असारमा संस्थागत रुपमा एक जनापनि गएनन् । मलेसिया जाने कामदारको संख्या जेठ महिनादेखि नै घटेको हो । पछिल्ला महिनामा मासिक १२ हजारको हाराहारीमा कामदार जाने मलेसियामा जेठ महिनामा जम्मा ४ हजार ८ सय १ जना गएका थिए । यो संख्या जेठको एक दिनको स्वीकृति हो ।
 
खाडी मुलुकमा देखिएको अनिश्चितता र मलेसियन मुद्रा रिंगिटमा आएको क्रमिक सुधारले नेपाली कामदार मलेसिया जाने कार्यमा सुधार आएको थियो । तर, सरकारले गत जेठ २ गतेदेखि औपचारिक रुपमा नै मलेसियाको श्रम स्वीकृति रोकेपछि त्यस यता एक जना पनि जान पाएनन् । हाल भीषा आएका ४ हजार भन्दा बढी कामदार अन्तिम श्रम स्वीकृति पाउन सकेका छैनन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भीषा आएका कामदारको श्रम स्वीकृति दिने तयारी गरेको बताइए पनि निर्णय भने गरिसकेको छैन ।
 
प्रमुख गन्तव्य मलेसिया बन्द भएपछि असार महिनामा सबैभन्दा धेरै कामदारले कतार रोजेका छन् । असारमा कतार जानेको संख्या ५ हजार १ सय ८० छ । दोश्रो स्थानमा रहेको यूएई जाने कामदारको संख्या ४ हजार ३ जना छ ।
 
साउदी अरबको रोजगारीमा पनि सुधार आएको छैन । असारमा साउदी अरब जाने कामदारको संख्या २ हजार २ सय २ रहेको छ । त्यसैगरी कुवेतमा १ हजार ३ सय ६८, बहराईनमा ३ सय १ जना, टर्कीमा २ सय ४५ जना गएका छन् भने केही समय यता चर्चामा रहेको पोल्याण्डमा २ सय ४७ जना वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांकमा देखिएको छ । यस्तै असारमा ओमानमा १ सय ७९ जना, जोर्डनमा ८० जना, मकाउमा १८ जना गएका छन् ।
 
त्यस्तै असारमा अफगानिस्तानमा संस्थागत रुपमा ५ जना गएका छन् भने आकर्षक गन्तव्य मानिएका जापान र ईजरायलमा जानेको संख्या न्यून छ । असारमा जापान ७ जना र ईजरायल ३ जना गएका छन् । नेपाली कामदार दोहोर्याएर वैदेशिक रोजगारीमा जाने मुलुकमा यूएई, कतार र मलेसिया देखिएका छन् । असारमा रिइन्ट्री, व्यक्तिगत तथा वैधानिकीकरण मार्फत वैदेशिक रोजगारीमा जानेको संख्या १९ हजार १९ रहेको छ ।
 
Published: 18 July 2018 | Madhyanha

Back to list

;