s

वैदेशिक रोजगारीमा जानेको संख्या हालसम्मकै उच्च

काठमाडौँ — वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या यो आर्थिक वर्ष ठूलो संख्यामा बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको असार १६ गतेसम्म वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या ७ लाख ४० हजार रहेको छ ।

अघिल्लो आर्थिक वर्षभर झन्डै ६ लाख ३० हजार जनाले नेपालबाट वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए । विभागले आर्थिक वर्ष २०५०/५१ यता वैदेशिक रोजगारीमा जानेको तथ्याङ्क अद्यावधिक गर्दै आएकामा चालु आर्थिक वर्षमा यसरी श्रम स्वीकृति लिनेको संख्या हालसम्मकै उच्च देखिएको हो । नेपालबाट वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्याले नयाँ रेकर्ड बनाएको छ । चालु आर्थिक वर्ष झन्डै साढे सात लाख जनाले श्रम स्वीकृति लिएका हुन् ।

वैदेशिक रोजगारीका लागि नेपालीहरु सबैभन्दा धेरै मलेसिया तथा खाडी मुलुक जाने गरेको वैदेशिक रोजगार विभागका सूचना अधिकारी तथा निर्देशक गुरुदत्त सुवेदीले जानकारी दिए । उनका अनुसार पछिल्लो समय युरोप जानेको संख्या पनि बढ्दो छ । वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर क्रोएसिया, साइप्रस, फ्रान्स, पोल्यान्ड, रोमानियाजस्ता युरोपेली मुलुकमा नेपालीहरु जाने गरेका छन् ।

श्रम स्वीकृति लिएर प्रत्येक महिना कम्तीमा पनि ६० हजारभन्दा बढी युवा वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुग्ने गरेको निर्देशक सुवेदीले बताए । उनका अनुसार गएको फागुनमा वैदेशिक रोजगारमा ६१ हजार ८ सय ४५ जना गएको देखिन्छ । यसमध्ये युरोप जानेको सङ्ख्या धेरै छ । चैतमा वैदेशिक रोजगारीका लागि ६१ हजार ४ सय ७८ युवाले श्रम स्वीकृति लिएका थिए । यो नयाँ तथा पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या हो । गत वैशाख महिनामा ५४ हजारभन्दा बढी युवा बाहिरिएका थिए । वैशाखमा विश्वका ९० वटा देशमा ५४ हजार ४ सय ५७ जना रोजगारीका लागि गएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

असार महिनामा पुनः श्रम स्वीकृति लिएर २१ हजार १७ जना विदेशिएका छन् भने ३३ हजार चार सय ४० जनाले नयाँ श्रम स्वीकृति लिएर विदेशिएका छन् । पछिल्लो समय नेपाली युवाको आकर्षण बढ्दै गइरहेकाले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित, नियमित र मर्यादित बनाउने योजना पनि सरकारले अघि सारेको विभागको भनाइ छ ।

यसैगरी गएको दुई महिनामा नेपालमा काम गर्न झन्डै १ हजार ४ सय विदेशी नागरिकले श्रम स्वीकृति लिएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका निमित्त महानिर्देशक मणिनाथ गोपले जानकारी दिए । उनका अनुसार गएको वैशाख महिनामा ९ सय ७४ र जेठ महिनामा ४ सय २२ जना गरी दुई महिनाको अवधिमा नेपालमा काम गर्नका लागि १ हजार ३ सय ९६ विदेशी नागरिकले नयाँ श्रम स्वीकृति लिएका थिए । यस्तै गएको वैशाख र जेठ महिनामा ४ सय ५८ विदेशी नागरिकले श्रम स्वीकृति नवीकरण गराएका थिए ।

Published on: 6 July 2023 | Kantipur

Link

Back to list

;