s

वैदेशिक रोजगारीमा जानेहरु सामाजिक सुरक्षा योजनामा कसरी आबद्ध हुन सक्छन् ?

८ चैत, काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका नेपालीलाई पनि सामाजिक सुरक्षा योजनामा सहभागी गराउने भएको छ ।

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारीको सिलसिलामा इजरायलमा रहेकी मञ्जु थपलियालाई सामाजिक सुरक्षा कोषको कार्ड हस्तान्तरण गरेर यो योजनाको सुरुवात गरे । सँगसँगै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ५ वर्षे रणनीतिक योजना पनि सार्वजनिक गरे । त्यसमा मन्त्रालयले कसरी काम गर्ने र कसरी परिणाम निकाल्ने भन्ने मार्गचित्र छ ।

कार्यक्रममा सामाजिक सुरक्षा कोषका निर्देशक डा. रोशन कोजुले श्रम स्वीकृति लिने, श्रम स्वीकृति नवीकरण गर्ने बेला र नवीकरण गर्ने बेला नभएकाहरु पनि वैदेशिक रोजगार विभाग र सामाजिक सुरक्षा कोषमा सहभागी हुन सक्ने बताए ।

वैदेशिक रोजगारीमा जानेहरु कसरी सामाजिक सुरक्षामा सहभागी हुने ? कोषका निर्देशक कोजुको भनाइका आधारमा तयार पारिएको विववरणः

यो योजनामा सहभागी हुनका लागि तीन वटा प्रक्रिया छन् । पहिले सामाजिक सुरक्षा कोषमा सूचीकरण हुने, सूचीकरण भइसकेपछि रकम जम्मा गर्ने र त्यसमा पनि नियमित सम्पर्कमा रहने ।

सूचीकरण कसरी हुने ?

वैदेशिक रोजगारीका लागि पहिलो पटक श्रम स्वीकृति लिने व्यक्ति, श्रम स्वीकृति लिएर विदेशमा श्रम गरिरहेका व्यक्ति र विदेशमा श्रम गरिरहेका तर श्रम स्वीकृति नवीकरण गर्ने बेला नभएका व्यक्ति यस योजनामा आबद्ध हुने प्रक्रिया कोषले निर्धारण गरेको छ ।

वैदेशिक रोजगार विभागको सफ्टवेयर फरेन इम्प्लोयमेन्ट म्यानेजमेन्ट इन्फरमेसन सिस्टम र सामाजिक सुरक्षा कोषको सोसल सेक्युरिटी म्यानेजमेन्ट इन्फरमेसन सिस्टमको बीचमा सहकार्य छ ।

वैदेशिक रोजगारीमा रहेकाहरुले विभागको सफ्टवेयर मार्फत व्यक्तिगत रुपमा वा म्यानपावर एजेन्ट मार्फत कोषमा सूचीकरणका लागि निवेदन सक्छन् । अब त श्रम स्वीकृति लिनेहरुले अनिवार्य रुपमा सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्नेछ ।

सरकारले वैदेशिक रोजगारीमा रहेकाहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन एउटा कार्यविधि नै बनाएको छ । वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७९ अनुसार श्रम स्वीकृति लिनुअघि श्रमिकहरुले विवरण भर्दा नै सामाजिक सुरक्षा कोषको पनि फारम भरेर आबद्ध हुनुपर्नेछ ।

कार्यविधिमा भनिएको छ, ‘योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुन चाहने वैदेशिक रोजगारमा रहेको श्रमिकले यो कार्यविधि प्रारम्भ भएपछि र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिले नियमावलीको नियम ४ बमोजिम मन्त्रालयले तोकेको मितिदेखि कोषमा सूचीकृत हुनुपर्नेछ ।’

श्रम स्वीकृति लिनु भन्दा अगाडि श्रमिकहरुले विवरण इन्ट्री गर्दा फारमको दाहिनेपट्टि उल्लिखित ५ वटा नो–नो बटम रहेको ठाउँमा अहिले एउटा सामाजिक सुरक्षा कोषको पनि योगदानमा आबद्ध भएको जनाउनुपर्नेछ । यी विषय एप्रुभ भएपछि मात्रै बल्ल श्रम स्वीकृति पाउन सकिन्छ । विदेशमा भएका श्रमिकहरुले पनि नवीकरण गर्ने बेलामा यी सबै डेटा भरेपछि मात्रै बल्ल श्रम स्वीकृति पत्र पाउँछन् ।

मासिक कति तिर्नुपर्छ ?

श्रम स्वीकृति पत्र पाउन वा नवीकरण गर्न हरेक महिना न्यूनतम २ हजार २ रुपैयाँ कोषमा जम्मा गर्नुपर्ने हुन्छ । यो रकम अग्रिम रुपमा पनि जम्मा गर्न सकिन्छ । यसरी जम्मा गर्दा एकैपटक सात महिना वा सोभन्दा बढीको रकम जम्मा गरे १० प्रतिशतसम्म छुट पाइन्छ ।

अहिले विदेशमा भएका र श्रम स्वीकृति नवीकरण गर्ने बेला नभएको अवस्थामा भने सामाजिक सुरक्षा कोषको वेबसाइटमा गई फारम भरेर आबद्ध हुन सक्नेछन् ।

यदि विदेशजानुअघि नै श्रम स्वीकृति नम्बर लिने बेलामा फारम भरे सामाजिक सुरक्षा नम्बर पनि पाइनेछ । त्यसरी सूचीकृत हुने बेलामा श्रमिकहरुको इमेलमा सामाजिक सुरक्षा कोषको आइडी कार्ड र पासवर्ड रिसेट गर्नका लागि लिंक पनि उपलब्ध हुन्छ ।

यसको अतिरिक्त विदेशमा भएका तर नवीकरण गर्ने बेला भएको छैन भने त्यस्ता श्रमिकले सामाजिक सुरक्षा कोषको वेबसाइटमा वैदेशिक रोजगार सूचीकरण भन्ने मेनुभित्र नयाँ दर्ता बटममा गएर आवश्यक विवरण भरेपछि त्यहाँबाट पनि सूचीकरण गर्न सकिन्छ ।

योगदानमा आधारित रकम कसरी जम्मा गर्ने ?

योगदानमा आधारित रकम जम्मा गर्न नेपाल भित्र रहँदा वा नेपाल बाहिर रहँदा केही अनलाइन भुक्तानी च्यानलहरु प्रयोगमा ल्याउन सकिन्छ । नेपालमा पनि चल्ने र विदेशमा पनि चल्ने कनेक्ट आईपीएस, खल्ती एप, इसेवा, फोन पे लगायतको माध्यमबाट रकम जम्मा गर्न सकिन्छ ।

विदेशमा सक्रिय रहेका र नेपालमा पनि शाखा रहेका रेमिट कम्पनीहरुको माध्यमबाट पनि योगदानमा आधारित रकम सिधै कोषको खातामा जम्मा गर्न सकिने व्यवस्था छ । उक्त रकम जम्मा गर्ने बेलामा श्रमिकहरुले हरेक महिना सब्मिसन नम्बर र भौचर नम्बर पाउँछन् ।

त्यो भौचर नम्बर र सामाजिक सुरक्षा नम्बर खल्ती, फोन पे, कनेक्ट आईपीएस लगायतका भुक्तानीका माध्यमहरुमा उल्लेख गरेपछि हरेक महिना श्रमिकले तिनुपर्ने रकम देखाउँछ । त्यसैको आधारमा अनलाइनमार्फत योगदानमा आधारित रकम जम्मा गर्न सकिन्छ ।

सरोकारवाला के भन्छन् ?

नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागी वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई लक्षित गरी सामाजिक सुरक्षा योजनामा आबद्ध गराउँदा राष्ट्रिय पूँजीको निर्माण गर्न सहयोग पुग्ने बताउँछन् । राष्ट्रिय पूँजी पूर्वाधार निर्माण र सामाजिक सुधारमा खर्च गर्नसके पूँजीको अभावबाट परेको समस्या सहज हुनेसक्ने उनको विश्वास छ । तरलता व्यवस्थापन गर्न पनि कोषको महत्वपूर्ण भूमिका हुने उनी बताउँछन् ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल वैदेशिक रोजगारीमा गएका श्रमिकलाई सरकारले सामाजिक सुरक्षा कोषमा आबद्ध गराउँदा श्रमिक र तिनका परिवारहरुलाई ठूलो राहत पुग्ने बताउँछन् । वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षा कोषमा ल्याउने योजनाले आर्थिक रुपमा देशलाई चलायमान बनाउन ठूलो योगदान पुग्ने विश्वास उनको छ ।

गैरआवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रविना थापाले वैदेशिक रोजगारीमा कार्यरत ४० लाख बढी नेपाली दाजुभाइ दिदीबहिनी तथा परिवार यो योजनाबाट लाभान्वित हुने बताइन् ।

Published on: 23 March 2023 | Onlinekhabar

Link

Back to list

;