s

वैदेशिक रोजगारीमा जाने श्रमिकसम्बन्धी प्रधानमन्त्रीको निर्देशन पालना नगर्नेलाई कारबाहीको माग

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) र सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल (एनएनएसएम) ले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को निर्देशन पालना नगर्ने जो कोहीलाई कारबाही गर्न माग गरेका छन्।

प्रधानमन्त्री दाहालले मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसहित अधिकारीहरूलाई वैदेशिक रोजगारीमा जाने श्रमिकलाई आर्थिक भार नपार्ने लगायत १६ बुँदे निर्देशन दिएका थिए।

बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यी संस्थाले प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन नगर्नेलाई कारबाहीको माग गरेका हुन्।

'वैदेशिक रोजगार पूर्वप्रस्थान अभिमुखीकरण तालिम लगायत अन्य तालिमहरू वैदेशिक रोजगार बोर्ड वा सिप विकास तालिम प्रतिष्ठानबाट के कसरी निःशुल्क उपलब्ध गराउन सकिन्छ, हाल वृद्धि गरिएको शुल्क श्रमिकबाट नलिई यथावत (७००) कायम गर्न, श्रमिकलाई थप आर्थिक भार पर्ने कुनै प्रकारको काम नगर्ने नगराउने व्यवस्था गर्न निर्देशन दिनु भएको थियो। उक्त निर्देशनको परिपालना नगर्ने जो कोहीलाई यथाशीघ्र कानुनी दायरामा ल्याउन हामी जोडदार माग गर्दछौँ,' विज्ञप्तिमा भनिएको छ।

त्यस्तै विज्ञप्तिमा वैदेशिक रोजगार बोर्ड र मलेसियाको फरेन वर्कर्स वेलफेयर म्यानेजमेन्ट सेन्टरबीच वैदेशिक रोजगारका विषयमा भएको सम्झौतालाई कार्यान्वयन नगर्न र पुराना श्रम सम्झौताको समसामयिक नवीकरण र नयाँ गन्तव्य मुलुकसँग श्रम सम्झौता गर्ने कार्यलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख छ।

श्रम सम्झौता गर्दा न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा, कार्यघण्टा, बीमा लगायतका सुविधालाई अधिकतम रूपमा प्रदान गर्नेतर्फ विशेष ध्यान दिने लगायतको निर्देशन कार्यान्वयन र अनुगमन गर्न माग गरिएको छ।

Published on: 12 January 2024 | Setopati

Link

Back to list

;